विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको निधन पुष्टि भएसँगै उनको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले तेल अबिबस्थित ‘नेशनल सेन्टर फर फरेन्सिक मेडिसिन’ को भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको जानकारी दिएको छ। इजरायल र हमास समूहबीचको दुई वर्ष लामो द्वन्द्वपछि भएको युद्धविरामपश्चात् हमासले जोशीको शव सोमबार रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेको जनाइएको छ।
आज अपराह्न परराष्ट्र सचिव अमृतबहादुर राईले इजरायलको परराष्ट्र मन्त्रालयका समकक्षी ‘डाइरेक्टर जनरल’ एडेन बार तलसँग टेलिफोन कुराकानी गरेका थिए, जहाँ उनले नेपाली नागरिक जोशीको निधन भएको औपचारिक जानकारी गराएका थिए। सन् २०२३ अक्टोबर ७ देखि इजरायलको ‘सिक्दै र कमाउँदै’ कार्यक्रममा सहभागी रहेका जोशी हमासको कब्जामा थिए। उनको सकुशल रिहाइका लागि नेपाल सरकारले सुरुदेखि विभिन्न तहबाट प्रयासहरू गर्दै आएको थियो।
परराष्ट्र मन्त्रालयले जोशीको शव नेपाल ल्याइसकेपछि पनि उनको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकार भएकाहरूसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र उनको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बिमा, सुविधा आदिका लागि उचित पहल जारी राख्ने जनाएको छ। मन्त्रालयले हमास समूहको नियन्त्रणमा रहेका विपिनको मृत्युको खबरले स्तब्ध भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। यसअघि सन् २०२५ अक्टोबर १३ मा इजरायली सेनाले रिहा हुने बन्दीमा विपिन जोशीको नाम समावेश नरहेको र उनको अवस्था अज्ञात रहेको जानकारी दिएको थियो।




































