बिभिन्न जातिहरूका आ–आफ्ना चाडहरू भए झैं, बिभिन्न धर्मीहरूका आ–आफ्ना आचरण भए झैं, बिभिन्न दलहरूका आ(आफ्ना दिवसहरू हुँदा रहेछन् । माघ १०१६ लाई सहिद सप्ताह मान्ने कोही, फागुन १६–२१ लाई सहिद सप्ताह मान्ने कोही । एउटै देशका एउटै विधि विधान मान्ने नागरिकहरूका पनि आ–आफ्ना छुट्टा छुट्टै दिवसहरू चाडहरू । तर यसलाई रङ्गी विरङ्गी फुलहरूको फुलबारी मानेर यसमै खुसी मान्नु फेरि छुट्टै रमाइलो ।
फागुन(२१ नेपालकै ठुलो कम्नीस्ट पार्टी नेकपा (एमाले)ले मानि आएको सहिद दिवस । २०२९ सालको फागुन २१ का दिन झापा चन्द्रगढी कारागारबाट तत्कालीन ‘कम्नीस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी’ (कोके)का क्रान्तिकारी ५ जना युवाहरू नेत्र घिमिरे, कृष्ण कु्रइँकेल, रामनाथ दाहाल, बीरेन राजवन्शी, नारायण श्रेष्ठलाई इलामतिर जेल सार्ने निहुँ गरी हतकडी र नेलसहित चारकोसे झाडी, सुखानीको जङ्गलमा पुर्याएर हतकडीसँगै गोली ठोकेर हत्या गरेको दिन । निरङ्कुश पन्चायत व्यवस्थाले आफ्ना विरोधीहरूको यसरी निर्ममतापूर्वक हत्या गरेर विरोधीहरूलाई तर्साएर आफूलाई बलियो पार्न दुस्प्रयास गरेको दिन । यसरी दमन गरेर कम्नीस्ट सिध्याउने सन्देश प्रक्षेपण गरेको दिन । आफ्ना योद्धाहरूलाई इलामतिर लानु भनेको कदाचित ‘जेलसार’ होइन ‘हत्या योजना’ हो, भन्ने पूर्वाभास पाएर ‘जेलसारा’मा परेकाले पनि मृत्यु वरण गर्न मानसिक रूपमा तत्पर भएका र बाँकी कारागारका अन्य क्रान्तिकारीहरूले पनि यो हत्याको बदला लिएर छाड्ने, जनतालाई निरङ्कुश सत्ताबाट मुक्त गर्न नलत्रिने प्रतिज्ञा दोहोर्याएको दिन फागुन २१ ।
हत्या र दमनले कहिल्यै क्रान्ति रोकिंदैन, बरु क्रान्तिलाई मल लाग्न पुग्छ । क्रान्तिलाई सहादतले मल लाग्छ वा नजिक्याउँछ भनेर नै माओवादीले कथित ‘जनयुद्ध’का बेलामा ‘सहिदको पङ्क्तिमा लामबद्ध बनौं’ भनेर नारा नै बनाए पनि । तर यसो भन्दैमा क्रान्तिकारीहरूले सकेसम्म मृत्यु वरण गर्न हतारिनु हुँदैन, जोगिनु पर्छ, तर मृत्युसँग डराएर भाग्नु भने हुँदैन ।
फागुन(२१ को त्यो दर्दनाक र नेपाली कम्नीस्ट इतिहासमा ठुलो तरङ्ग सृजना गर्ने घटना घटेको पनि बयालीस वर्ष पुगेको छ । पन्चायत व्यवस्था मात्र होइन अढाइ सय वर्षदेखिको पहाड झैं गजधम्म बसेको राजतन्त्र पनि बालुवाको महल जस्तो गरी इतिहासको गर्तमा बिलय भैसकेको छ ।
नेपालको कम्नीस्ट इतिहासलाई अहिले सर्सर्ति हेर्ने हो भने या हरफ नबिराई हेर्ने हो कस्तो आख्यानमय बनेको छ ! फागुन(२१को त्यो घटनामा सहिद बनाइएका सहिदका अन्य क्रान्तिकारी कमरेडहरूको जीवन पढ्ने हो भने अबका कम्नीस्टहरूले के शिक्षा प्राप्त गर्लान् बडो सोचनीय बनेको छ ।
‘को के’ नेपालको सबभन्दा ठुलो कम्नीस्ट पार्टी नेपाल कम्नीस्ट पार्टी (माले) गठन गर्न सफल भयो । यसले आफ्नो संगठनलाई फैलाएर देशव्यापी बनायो । पृथ्वीनारायण शाहले नेपालका टुक्राटाक्री राज्यहरूलाई एकीकृत गरी सिङ्गो नेपाल बनाए झैं नेपालका ससाना कम्नीस्ट गुट उपगुटहरूलाई एकता बद्ध बनाउने अभियान नै चलायो र यो ‘एकीकृत माक्र्सवादी लेनिनवादी’ (एमाले) बन्न पुग्यो । यो बढ्दै बढ्दै यसैको आडमा, यसैको तागतमा पन्चायत व्यवस्था ढालियो । नेपालको राजनीतिक सत्तामा एकल सरकार बनाएर बस्न पनि पुग्यो । यदि क्रान्तिकालमा झैंको एकता, त्याग र बलिदानको भावना, जनता र राष्टूप्रति समर्पणको भावना कायम रहेको भए यस पार्टीलाई नेपाली जनताले जुनसुकै बेला हिजोअस्ति दिल्लीका जनताले केजरीवालको पार्टी ‘आम आदमी पार्टी’लाई दिए झैं अत्यधिक मत दिएर बिजयी पार्ने थिए । नेपाली जनता पनि विवेकी छन्, उनीहरू सचेत छन् ।
तर दुखको कुरा, फागुन(२१ पनि अब एकादेशको कथा हुन आँटेको छ । कम्नीस्ट पार्टीका नेताहरूमा अब हिजोको जस्तो त्याग, कमरेड्ली एकता रहेन । म यस बेलामा त्यो फागुन(२१को क्षणलाई एकदम गम्भीरता साथ सम्झन, त्यसको मर्म बुझ्न, मभन्दा सारै धेरै त्याग गरेका, ठुलो जोखिम उठाएर त्यतिबेला जीवनको रत्तिभर पर्वाह नगरी पार्टी बनाएका राधाकृष्ण मैनाली, सी पी मैनाली, के पी ओली, मोहनचन्द अधिकारी, घनेन्द्र बस्नेत, नरेश खरेल, माधव नेपाल, प्रदीप नेपाल, मोदनाथ प्रश्रित आदि सबैलाई एकै थलोमा भेला भएर कम्नीस्ट आन्दोलनको समीक्षा गर्न र निजी स्वार्थ र त्यागको समेत समीक्षा गर्न आग्रह गर्दछु । यो फागुन(२१ मा सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । यही बेला सबै नेताहरूले आ–आफ्ना स्वार्थ जति खोलामा अर्पण गर्नुहोस् ! नेपाली जनताको सुखका दिन छिटो नजिक ल्याउनुहोस् भनी सबिनय आग्रह गर्दछु ।