विराटनगर / प्रदेश १ मा आर्थिक वर्ष २०७७/०७८ मा सामान्य पारिवारिक विवाद जघन्य अपराधमा परिणत हुँदा महिलाको हत्या धेरै भएको पुष्टि नेपाल प्रहरीको तथ्यांकले गरेको छ । आन्तरिक पारिवारिक विवादले हत्याजस्तो जघन्य अपराधको रूप लिँदा घरपरिवारका सदस्यबाट मारिनेमा महिलाको संख्या धेरै रहेको हो । एक वर्षको अवधिमा पारिवारिक हत्याका ५५ वटा घटना भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए । ५५ घटनामा ५६ जनाको हत्या भएको छ ।
हत्या गरिएकामा ४६जना महिला मात्रै रहेको जानकारी राईले दिए । ‘पारिवारिक हत्याका घटनामा मारिने अधिकांश महिला छन्,’ उनले भने, ‘चार जना १८ वर्षभन्दा कम उमेरका छन् ।’ उनका अनुसार एक वर्षको अवधिमा पारिवारिक विवादमा १० पुरुषको हत्या भएको छ । मारिएका पुरुषमध्ये दुई जना १८ वर्षमुनिका छन् ।
‘सुषुप्त रूपमा रहेका पारिवारिक विवाद र कलह विग्रहमा परिणत हुँदा रिस र आवेगमा परिवारभित्रै हत्याजस्ता डरलाग्दा घटना एवं जघन्य अपराध बढ्न थालेका छन्,’ प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीले भने । १४ जिल्ला रहेको प्रदेश १ को सोलुखुम्बुमा मात्रै एक वर्षको अवधिमा पारिवारिक हत्या भएन ।
झापामा १२, सुनसरीमा ११, मोरङ र ताप्लेजुङमा पाँच/पाँच, इलाम र उदयपुरमा चार/चार, खोटाङमा तीन, ओखलढुंगा, तेह्रथुममा, धनकुटा, पाँचथर र संखुवासभामा दुई/दुई तथा भोजपुरमा एउटा परिवारिक हत्याका घटना भएका छन् ।
पारिवारिक हत्यामा झापामा ११, सुनसरीमा १०, ताप्लेजुङमा पाँच, मोरङ र इलाममा चार/चार, उदयपुर, खोटाङ, पाँचथर र धनकुटामा दुई/दुई, ओखलढुंगा, संखुवासभा, तेह्रथुम र भोजपुरमा एक/एक जना महिला मारिएको प्रहरीको तथ्यांक छ । अधिकांश महिलाको हत्यामा पतिको संलग्नता देखिएको छ । पुरुषको हत्यामा पत्नी र परिवारका अरु सदस्यको संलग्नता देखिन्छ ।
बीसीले पारिवारिक विवादले निम्त्याएका विभिन्न हत्यामा ८२ प्रतिशतभन्दा बढी महिलाको ज्यान गएको जानकारी दिए । उनका अनुसार पछिल्लो तथ्यांकले आफ्नै घरपरिवारभित्र महिला निक्कै असुरक्षित भइरहेको डरलाग्दो परिदृष्य बाहिर आएको छ ।
परिवारभित्रको थिचोमिचो एवं अत्याचारलाई लुकाएर राख्ने, शारीरिक तथा मानसिक यातना र पीडा सहने, दबाउन खोज्ने परिवारका सदस्यविरुद्ध खुल्न नसक्ने, अन्यायमा परे पनि कानुनी लँडाईमा नजाने तथा समाजमा परिवारको इज्जत र प्रतिष्ठा जोगाउन खोज्ने स्वभावले हत्याजस्तो जघन्य अपराधमा धेरै महिलाले ज्यान गुमाउनु परिरहेको बीसीको विश्लेषण छ । ‘घरपरिवारभित्रबाट वर्षौदेखि पीडित भइरहे पनि प्राय महिलाले पीडा र समस्यालाई मनमै गुम्स्याएर राख्ने गरेको पाइन्छ,’ उनले भने, ‘सहेर बस्ने तर प्रहरीलाई समयमै खवर नगर्ने एवं बेलैमा कानुनी उपचार नखोज्दा पारिवारिक अत्याचार हत्यामा परिणत भएर धेरै महिला दिदी–बहिनीहरुको ज्यान अनाहाकमा गइरहेको छ ।’
उनका अनुसार मदिरा तथा लागुऔषधको सेवन, कुलत र दुव्र्यसनमा फसेका पुरुषले परिवारभित्र महिला हिंसा धेरै गर्ने र अन्तत: त्यो हिंसा हत्यामा परिणत हुने गरेको पनि पाइएको छ । पारिवारिक हत्यामा धेरै महिलाको ज्यान जानुमा कमजोर पारिवारिक आर्थिक अवस्था, विहेपछि अरुसँगको अवैध सम्बन्ध तथा महिलाका नाममा भएका धनसम्पत्ति हडप्ने परिवारको प्रयास पनि कारक रहेको डीआईजी बीसीले बताए ।
उनका अनुसार बेरोजगारीपछि उत्पन्न पारिवारिक किचलो, मदिरा तथा लागुऔषधको बढ्दो सेवन, वैदेशिक रोजगारी, परिवारभित्र पैत्रिक धनसम्पत्तिको बाँडफाँट, मानसिक समस्या, प्रविधिको दुरुपयोग, पारिवारिक विचलन एवं बेमेल आदिले यस्ता घटना बढाएर लगेको छ । रोजगारी, स्वास्थ्य, शिक्षा, घुलमिलरहित एवं मेलमिलापको अभाव खड्किएको पारिवारिक संरचना, एकअर्काबीच शंका उपशंका महिलाको ज्यान जाने मुख्य कारण बनिरहेको डीआईजी बीसीको भनाइ छ ।
उनका अनुसार परिवारभित्र हुने अपराधिक घटना नियन्त्रण निक्कै चुनौतीपूर्ण हुन्छ । तर सबै सरोकारवालालाई चिन्तित तुल्याएको यस्ता घटनलाई जनचेतनामूलक कार्यक्रममार्फत नियन्त्रणको प्रयास गरिने उनको भनाइ छ । ‘अपराधलाई केलाएर महिला तथा बालबालिकाको सुरक्षाका लागि छुट्टै कार्ययोजना बनाउने र तत्काल कार्यान्वयनमा लैजाने योजना प्रहरीको छ,’ बीसी भन्छन्, ‘अपराध रोक्न घरपरिवारभित्र महिलालाई सुरक्षित बनाउने खालका जनचेतनामूलक अभियान जतिसक्दो चाँडो चलाउनैपर्ने जरुरी देखियो ।’
समाजसास्त्री एवं प्राध्यापक डिल्ली प्रसाईंले महिलालाई परिवारभित्र हेर्ने नजर भिन्न हुँदा मानिसमा आपराधिक एवं विकृत मानसिकताको विकास भएर महिलाको ज्यान जोखिममा परिरहेको बताए । ‘परिवारभित्र महिला हत्याजस्तो अपराधले डरलाग्दो रूप लिइरहेको छ,’ उनले भने, ‘सामान्य पारिवारिक विवाद एवं झमेला, आधुनिकीकरण, देखाशिखी, आवेग र उत्तेजनाको सिकार बनेर महिलाले अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था आउनु समाज र राज्यका लागि ठूलो चुनौती हो ।’
हिंसाविरुद्ध खुलेर बोल्न नसक्दा घटना हत्यामा पुगेर टुंगिने गरेको प्रसाईंको भनाइ छ । अझ तराई क्षेत्रमा दाइजो प्रथा महिला हत्याको मुख्य कारण बन्ने गरेको उनले बताए । परिवारभित्र महिला धेरै सहनशील र धैर्य हुनुपर्छभन्ने सामाजिक एवं सांस्कृतिक मान्यता र अभ्यासले जोखिममा परेका विषयलाई समयमै बाहिर नल्याउने गर्दा महिलाले हत्याको सिकार बन्नुपर्ने उनको भनाइ छ । समाजसास्त्री प्रसाईंले भने, ‘परिवारभित्र महिला बढी पीडित बन्नुमा मनोवैज्ञानिक, सामाजिक, पारिवारिक एवं सांस्कृतिक विचलन मुख्य कारण हुन् ।’
महिलाको सुरक्षाका दृष्टिकोणले अहिलेको सामाजिक, पारिवारिक र सांस्कृतिक संरचना नै उपयुक्त नभएको प्रसाईंको ठहर छ । ‘समाजको पुरातनवादी सोचमा बाँधिएर बस्नुपर्ने महिलाको अवस्था छ । परिवारमा अपराधले जरा गाडिसक्दा पनि उनीहरु चुप बसिरहेका हुन्छन्,’ उनले भने, ‘दरिलो सम्बन्ध र विश्वासमा अडिनुपर्ने परिवारभित्र सहनशीलता कमजोर हुँदै जाँदा महिला धेरै मारिन थालेका छन् ।’
मनोविद् एवं प्राध्यापक महेश खत्री जीवनलाई सहज ढंगले अपनाउन नसकेर हत्याको बाटो आंगाल्नु भनेको मान्छेले बाटो भुलिएको रूपमा लिनुपर्ने बताउँछन् । परिवारभित्र महिलाको हत्या धेरै भएको घटनाले समाज र परिवारलाई सही बाटोमा हिँडाउन उत्तरदायित्व वहन गर्ने खालका कार्यक्रम आवश्यक देखिएको उनको भनाइ छ । परिवारका सदस्यलाई नैतिकवान बनाउने विषयमा भने महिलाको भूमिका महत्वपूर्ण हुने मनोविद् खत्रीले बताए ।