४ वैशाख, काठमाडौँ : अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी नाबालिकाले अदालतमा बयान फेरेकी छन् । जिल्ला अदालत, तनहुँमा आइतबार बकपत्रका क्रममा पीडित नाबालिकाले आफूमाथि बलात्कार नभएको बताएकी हुन् ।
अदालतमा बहस गरेका एक कानून व्यवसायीले अनलाइनखबरलाई बताएअनुसार पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर गरेकी छन् ।
सरकारी वकिलको रोहवरमा उनले प्रहरीसँग दिएको बयानमा चाहिँ उनले शाहले विभिन्न प्रलोभन देखाएर आफूमाथि पटकपटक जबरजस्ती करणी गरेको बताएकी थिइन् । ‘मध्यराति आएर शाहले विवाह गर्ने झुठो आसमा हुँदैन भन्दाभन्दै जबरजस्ती गरेका थिए’ उनले त्यतिबेला वयानमा भनेकी थिइन् ।
जिल्ला अदालत, तनहुँमा आइतबार साँझसम्म पनि जाहेरीकर्ता र पीडितको बकपत्र लिने क्रम चलिरहेको छ । ‘आइतबार पीडितको बकपत्र भयो, यसमा उनलाई प्रलोभन दिइएको देखिएको छ’ अधिवक्ता मोहना अन्सारी भन्छिन्, ‘उनको अहिलेको बयानलाई मात्र अन्तिम सत्य मान्नु हुँदैन, अदालतले पीडितलाई कसरी संरक्षण गर्छ भन्ने त्यो ठूलो कुरा हो ।’
उनले बलात्कारका थुप्रै घटनामा नाबालिका होस्टाइल भएको धेरै उदाहरणहरु रहेको बताउँदै भनिन्, ‘पीडितको मनोवैज्ञानिक पक्षसँग खेलबाड गरेर वा विभिन्न सपना देखाएर होस्टाइल बनाउने प्रयास हुन्छ, यस्तो कुरालाई अदालतले पनि विचार पुर्याउँछ ।’
पीडितको स्वास्थ्य परीक्षण रिपोर्ट, उनले दिएको भिडियो बयान जस्तो कुरालाई पनि अदालतले आधार बनाउने हुँदा उनको बयान फेरिँदैमा मुद्दामा धेरै असर नहुने उनी बताउँछिन् ।
अनलाइनखबरबाट