१० भाद्र, बुटवल : कपिलवस्तुमा गोली हानी एक पुरुषको हत्या भएको छ । जिल्लाको मायादेवी गाउँपालिका–६ मदरहवाका ५५ वर्षीय घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको प्रहरीले जनाएको छ।
पासी घरमै बसिरहेका बेला दुई अज्ञात व्यक्तिले बोलाइ मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा पुर्याएर गोली प्रहार गरेको उनका परिवारले बताएका छन् ।
गोली लागेर गम्भीर घाइते भएका पासीको उपचारका लागि कपिलवस्तु अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।
कपिलवस्तु अस्पतालका अनुसार पासीको बायाँ तिघ्रा गोली लागेर छेँडिएको छ । तिघ्रामा गोली लागेका उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको ।
गोली प्रहारको घटनामा संलग्नहरुको खोज तलासका लागि प्रहरीको टोली घटनास्थल खटाइएको कपिलवस्तुका प्रहरीले जानकारी दिएको छ।