९ जेठ, काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको मोबाइल परीक्षण रिपोर्ट आउँदा रित्तो भेटिएको छ।
वैशाख २७ गते काठमाडौं मैंजुबहाल स्थित घरैबाट पक्राउ परेका खाणलाई काठमाडौं प्रहरी परिसरमा राखिएको र पक्राउ गर्दा नै उनको मोबाइल प्रहरीद्धारा जफत गरिएपनि मोबाईलमा कुनै पनि मेसेज र अन्य विवरण नभेटिनु अनौठो भएको प्रहरीको बुझाई छ।
प्रहरीले पूर्व गृहमन्त्री खाणको मोबाईल विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाएको थियो । प्रयोगशालाबाट मोबाइल परीक्षण रिपोर्ट आएको तर,केही नभेटिएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ। प्रहरी स्रोतका अनुसार खाणको मोबाइल ‘फ्याक्ट्री रिसेट’ गरेको अवस्थामा देखिएको छ ।
पक्राउ पर्नु अगाडी नै खाण आफैंले मोबाईल ‘फ्याक्ट्री रिसेट’ गरेको हुसक्ने प्रहरी अनुमान छ। उनको मोबाइल ल्याबमा परीक्षण गर्दा ‘फ्याक्ट्री रिसेट’ गरिएको अवस्थाबाट थोरै मात्र डेटा फिर्ता ल्याउन र हेर्न सकिएको स्रोतको भनाई छ ।
अहिले प्राप्त मोबाईल डेटामा भुटानी शरणार्थी प्रकरणबारे कुनै सुराक नभेटिएको र अमेरिका पठाउने नाममा ठगेको घटना र ब्यक्तिहरुसँग सम्बन्धीत केहि पनि तथ्य र प्रमाण फेला नपरेको बुझिएको छ।
यो प्रकरणमा पूर्व गृहमन्त्री खाण तानिनुमा शरणार्थी प्रकरणमै पक्राउ परेका पूर्व गृह सचिव टेकनारायण पाण्डेले दिएको बयान नै मुख्य हो। उनले खाणकै सहयोग र समन्वयमा काम गरेको बयान दिएपछी खाण पक्राउ परेका हुन्।
खाण गृहमन्त्री हुँदा पाण्डे उनकै मन्त्रालयमा सचिव थिए ।