१३ फागुन, मेचीनगरः झापा जिल्लामा सातमहिनाको अवधिमा १२ जनाको हत्या भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि माघमहिनासम्म ९ पुरुष र ३ महिला गरी कुल १२ जनाको हत्या जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अधिकांश घटनामा परिवार , आफन्त धेरै नजीकको साथीभाईहरु संलग्न रहेको अप्रहरीको अभिलेखले देखाएको छ ।
यो अवधिमा जिल्लाका विभिन्न पालिकाहरुमा श्रीमानले श्रीमतीको, श्रीमतीले श्रीमानको, साथीले साथीकै छिमेकीले छिमेकीको, चिनजानकै भरमा निर्मम रुपबाट हत्या गरिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी, प्रवक्ता प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो । धेरै घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको र समय समयमा पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गर्ने गरेको उहाँको भनाई छ । कर्तव्य ज्यान कसुरमा यो अवधिमा २४ पुरुष र १ महिागरी २५ जनालाई पक्राउ गर्न सफल भएको निमित्त सूचना अधिकारी, प्रवक्ता प्रहरी गिरीले जानकारी दिनुभयो ।
सवैभन्दा बढी असोज महिनामा ३ पुरुष र १ महिला गरी ४ जनाको हत्या भएको र त्यसमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीको अभिलेखमा उल्लेख छ । छुरा प्रहार र कुटपिट बाट आफ्नै साथीभाई र श्रीमानले श्रीमतीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय झापाले उपलब्ध गराएको अभिलेखमा उल्लेख छ । यसैगरी माघ महिनामा फलामको हम्बर प्हर गरेर र कुटपिटबाट तीन जनाको हत्या भएको छ । दुई महिला र एक पुरुषको हत्या भएको प्रहरीले जनाएको छ । त्यसमा संलग्न भएको आरोपमा दुईजना पुरुषलाई प्रहरीले पक्राउ गरेको थियो ।
श्रीमानले श्रीमतीलाई कुटपिट गरी हत्या गरेका अन्य दुईजनालाई नाता सम्बन्ध नभएको मानिसले कुटपिट गरी मारेको प्रहरी निरीक्षक गिरीको भनाई छ । साउनमा दुईजना पुरुषको हत्या भएको छ । प्रहरकिा अनुसार घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । कात्तिक, मंसिर, पुसमहिनामा एक÷एकजना पुरुषको हत्या भएको छ भने, माघमहिना एकजना महिलाको हत्या गरिएको अभिलेखमा उल्लेख छ । घटनामा संलग्न रहेको भन्दै साउन,कात्तिक, मंसिर, पुसमहिनामा एक÷एकजना पुरुषलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।
सवै हत्याका घटनामा घरेलु हतियार प्रयोग भएका छन् । ढोका लगाउने चुक्कुल, बास, फलामको बाम्फोकखुकुरी, फलामको हम्बर प्रयोग भएका छन् । साउनमा भएको घटनाको एउटा मुद्घामा प्रतिवादी नखुलेको प्रहरीको भनाई छ । परिवारभित्रका घटनालाई केलाउँदा अन्य सदस्यको तुलनामा श्रीमान—श्रीमतीले एक अर्काको हत्या गर्ने क्रम बढेको देखिन्छ । दाम्पत्यभित्र हुने हत्याका अधिकांश घटनाको भित्री कारण पैसा, अविश्वास, यौनसम्बन्ध वा विवाहेत्तर सम्बन्ध रहेको देखिएको बताईएको छ । एकजना प्रहरी अनुसन्धान अधिकृतका अनुसार सो अवधिमा छिमेकीबाट पनि हत्या भएको छ । कतिको त चिनजानकै भरमा पनि घटना भएको छ ।
श्रीमान–श्रीमती बीचको हत्याका घटना ५० प्रतिशत छन् । अझ यसमा श्रीमानले श्रीमतीको हत्या गरेका घटना ८० प्रतिशतको हाराहारी छन् । प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गिरीको बुझाइमा परिवार र आफन्त भित्रै हुने हत्याका अधिकांश घटना आवेगप्रेरित देखिन्छ । उहाँले घरेलु हिंसा,आर्थिक समस्या,मानसिक समस्या,शंका, विवाहेत्तर सम्बन्ध, वैदेशिक रोजगारी, जाँड÷रक्सी र लागूऔषधका कारण पनि यस्ता घटना हुने गरेका छन् ।
उहाँका अनुसार पहिले संगठित हत्या हुने गर्थे भने अहिले परिवार र आफन्त भित्रै हत्या हुने गरेको छ । उहाँ भन्नुहुन्छ्, ‘अहिले परिवार र आफन्तभित्रै हत्या हुन थालेपछि प्रारम्भिक अनुसन्धानको सुई नै परिवारभित्रै केन्द्रित गर्ने प्रचलनजस्तै भइसक्यो ।’
मदिरा सेवनपछिको विवाद, रिसिईवी, आर्थिक लेनदेनका कारण हत्याका घटनाहरु भएको देखिएको प्रहरी अनुसन्धानले बताएको छ । पछिल्लो समयमा असहनशील र उत्तेजक प्रवृत्तिले भएका घटनाका प्रशस्तै उदाहरण छन् । यस्तो असहनशीलता मर्ने र मार्नेसम्म पुगेको छ, त्यो घरबाहिर होस् या घरभित्र । तथापि परिवार र आफन्तबीच हुने हत्याका श्रृखला त्यसमा मात्रै सीमित छैन । समाजिक बनावट, घरभित्रको वातावरण, अविश्वास, विवाहेत्तर सम्बन्ध, यौन, आर्थिक कारोबारले निम्त्याएको विवाद, आवेग, उत्तेजना र तनावलाई नियन्त्रण गर्न नसक्दा पनि एकले अर्काको हत्या गर्ने गरेको अनुसनधानका क्रममा खुलेको प्रहरीको भनाई छ ।
रिसलाई नियन्त्रण गर्न, परिवार र समाजलाई व्यवस्थापन गर्न सकियो भने पनि यस्ता घटना कम गर्न सकिने प्रहरीको बुझाई छ । यस्ता घटना कुनै उमेर समूहमा मात्रै सीमित देखिँदैन । लागूऔषधको प्रयोग र मदिराको सेवन गर्ने व्यक्तिले सन्तुलन गुमाउने डर अत्याधिक रहन्छ । त्यसैले स–साना विषयमा हुने झैझगडा वा सानो विषयको विवाद पनि हत्यासम्म पुगेको थुप्रै उदाहरण रहेको बताइएको छ ।
अहिले परिवार र आफन्तमा भएका अधिकांश हत्याको प्रवृत्ति हेर्ने हो भने रिस, आवेग, तनाव र मानसिक समस्याको कारणले भएको देखिन्छ । अहिले व्यक्तिले अर्काको भावना नबुझ्ने, सहयोग नगर्ने प्रवृत्ति देखिएको छ । यो पनि मानसिक समस्याको उपज हो । जसका कारण स–साना कुरामा पनि आक्रोशित हुँदा व्यक्तिले अपराधको सहारा लिने गरेको पछिल्ला उदाहरणबाट बुझ्न सकिन्छ ।
आफन्तले रिस उठाए भने बदलाको भावना लिने, सहन नसक्ने, पीडित हुने, गाह्रो हुने स्वभाव बढ्छ । यो परिस्थितिमा आफ्नैले आफ्नैलाई हत्या, अरूको हत्या गर्ने जस्ता घटनाको क्रम बढ्दै जाने समाजशास्त्री गोविन्दविक्रम चालिसेको भनाई छ । परिवार आफन्तभित्रै हुने हत्याको पछाडिको कारण सामाजिक विचलन भएको बुझाई उहाँको छ ।
व्यक्तिगत र सामाजिक कारणले हुने अधिकांश हत्या अवसर, अभाव र बदलासँग जोडिएका हुन्छन् । जुन परिवारमा विखण्डन छ, आर्थिक समस्या छ, त्यसैमा यस्तो घटना धेरै हुने गर्छ । श्रीमान र श्रीमतीबीच उब्जिएको शंका, उपशंका, अविश्वास, धर्म, संस्कार, चरित्र, बदला र चित्त नबुझे पनि सम्बन्धमा रहनुपर्ने दवाबले गर्दा पनि एक बिन्दुमा पुगेपछि एक अर्काको हत्यासम्म गराउने गरेको थुप्रै उदाहरण छन् ।