२९ फागुन, मेचीनगर : फागुन १३ गते झापा जिल्ला मेचीनगर नगरपालिका —६ पुरानो मेची पुलबाट लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाले गोप्य सूचनाका आधारमा दमक नगरपालिका —२ बस्ने ४५ वर्षीया कलमा तामाङ र सोहि ठाउँका ३३ वर्षका प्रविन तामाङलाई चेकजाँच गर्ने क्रममा ९ ग्राम ५ सय मिलिग्राम खैरो हिरोइनको आशंकामा नियन्त्रणमा लियो ।
फागुन १३ गते साँझ नै लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले भारतबाट नेपालतफै आउँदैं गर्दा प्र—१ —०२—०४१ प १०३८ नम्बरको मोटरसाइकललाई चेकजँँच गर्नै क्रममा मोटरसाइकलमा पछाडी सवारी मोरङ मधुमल्ला तोरीवारी बस्ने २२ वर्षीया नाईरा भन्ने कोशिस तामाङले लगाएको कपडा भित्रको भागमा लुकाईछिपाई राखेको खैरो हिरोइन जस्तो देखिने ११ ग्राम ५०० मिलिग्राम फेला पारेर मोटरसाइकल चालकसहित उनलाई दुवैजनालाई इलााक प्रहरी कार्यालय काँकरभिट्टामा जिम्मा लगायो ।
फागुन २१ गते झापाको विर्तामोड नगरपालिका —६ बुट्टावारीस्थित एउटा घरमा लागुऔषध ब्राउन सुगरको कारोवार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बुट्टावारीबाट प्रहरी सहायक निरीक्षक सरोज थापा समेतको प्रहरी टोली खटि गई चेकजाँच गर्दा घरको कोठाभित्र इलाम जिल्ला सन्दकपुर गाउँपालिका —४ की २५ वर्षीया बबिता गुरुङलाई फेला पारी चेक गर्दा निजको साथबाट लागुऔषध ब्राउन सुगर ३ ग्राम ३१० मिलिग्रामसहित ६ हजार ९ सय रुपैयाँ र प्रहरीले फेला पार्यो । घटनामा संलग्ग्न घरधनीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडको जिम्मा लगायो ।
जघन्य र संगठित अपराध मानिने लागुऔषध ओसारपसारमा पछिल्लो समयमा झापामा महिलाहरुको प्रयोग बढेको देखिएको छ । काँकरभिट्टानाकाबाट अहिले दैनिकजसो प्रहरीले लागुऔषध ओसारपसारमा प्रयोग भएका महिलालाई नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषधसहित पक्राउ पर्ने क्रम सुरु भएसँगै सीमावर्ती भारतीय बजारमा खुलेआम किनबेच हुने यसको ओसारपसारमा महिलाको प्रयोग हुन थालेको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्ष २०८०÷०८१ को सातमहिनामा यस्तो गतिविधिमा संलग्न २ सय ३ जनालाई पक्राउ गरीसकेको छ । ती मध्ये महिलाको संख्या १७ रहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी, प्रवक्ता प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार पक्राउ परेका कुल महिलाहरुमध्ये ३ जना भारतीय रहेका छन् । उहाँका अनुसार लागुऔषध कारोवारीले सामान ओसारपोसारका लागि महिलाको प्रयोग गर्न थालेका छन् । यसलाई यी माथिका घटनाले पुष्टि गर्ने पनि उहाँको भनाई छ ।
आर्थिक वर्षको शुरुवाती साउनदेखि माघ महिनासम्ममा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा एकसय ७७ जना स्वेशी र ९ विदेशी नागरिकगरी कुल १ सय ८६ जना पुरुष पक्राउ परेका छन् । साउन महिनामामात्र ३ जना महिला पक्राउ परेसँगै यो तथ्य बाहिर आएको हो । यो महिनामा लागुऔषध ओसारपसारका २५ घटनामा पक्राउ परेका ३७ जना मध्ये ३ महिला नै थिए । महिलाहरुले ओसारपसार गर्दा प्रहरीले निगरानी र चेकजाँच गर्दैन भन्ने गलत मान्यताका कारण पनि महिलाहरु बढी मात्रामा प्रयोग भएका हुनसक्ने प्रहरीको बुझाई छ । ‘यसले पनि पुष्टि गर्दछ पछिल्लो समय यो धन्दामा महिलाहरुको प्रयोग बढिरहेको छ भन्ने ।’ लागुऔषध नियन्त्रण व्यूरोका एकजना प्रहरी अधिकारीले भने । महिलाहरुले आफ्नो संवेदनशील अंगहरुमा लुकाउन सजिलो हुने भएकाले पनि महिलाहहरु यो अपराधमा बढी प्रयोग हुने गरेको ती अधिकारीको भनाई छ ।
घटनामा पक्राउ कोही धरौटीमा छुटेका छन् भने कोही पुर्पक्षका लागि कारागार चलान भएका छन् । एकजना प्रहरी अनुसन्धान अधिकृतका अनुसार महिलाले अरुको विश्वास छिट्टै गर्ने गरेका कारण पनि यस्ता अपराधमा उनीहरुको संलग्नता रहेको देखिन्छ र उनीहरु समातिन्छन् । ‘लागुऔषध संगठित अपराध भएकाले यसमा धेरै जनाको संलग्नता हुन्छ र त्यसमा महिला प्रयोग गरेको पाइएको छ । ’ती अधिकारीले भने । प्रयोग भएका धेरै ग्रामीण क्षेत्रका सोझा महिलाहरु रहेको प्रहरीको दावि छ । अनुसन्धानका क्रममा गरिब तथा विपन्न परिवारलाई छोटो समयमा धनी बन्न सकिने लोभलालचामा फसाएर यस्तो अपराधमा संलग्न गराएको देखिने गरेको बताईएको छ ।
ओसारपसारको क्रममा ठूला व्यापारी सम्म नपुग्दै उनीहरु बाटैमा पक्राउ पर्ने गरेका छन् । कपितय महिलाहरु कानुन थाहा पाउदा पाउदै अनि कति त पैसाको लोभले पनि संलग्न भएको देखिन्छ । त्यस्तै काममा लागेका टाँठोबाठो मान्छेले सोझा र इमान्दार महिलाहरुलाई भरियाको रुपमा प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा खुल्ने गरेको एकजना प्रहरी अनुसन्धान अधिकृतको भनाई छ । कतिपय चाँहि उच्च घरानका, श्रीमानको मृत्यु भएका महिलाहरु संलग्न रहेको देखिन्छ । अञ्जनामा भन्दा पनि जानी जानी छिट्टै पैसा कमाउने र थोरै सामान बोके वापत धेरै पैसा कमाउने भएकाले यसमा महिला प्रयोग हुने गरेका छन् ।
प्रहरीका अनुसार केही रकम लिएर यसरी प्रयोग भएका महिलाले डिलरबाट अवैध रुपमा नेपालमा व्यापार गर्नेसम्म लागुऔषध पुर्याउने जिम्मेवारी पाएका हुन्छन् । कतिपय गाउँमा लागुऔषध खरिदको काम पनि महिलाले गरेको देखिएको र उनीहरु नै आफुले खरिद गरेको लागुऔषध ठूला व्यापारी भएको ठाउँसम्म पुर्याउने जिम्मा लिएका हुन्छन् । यस्तो अपराधमा अहिलेको युवा समूह नै संलग्न हुँदा भावि पुस्तालाई पनि हत्या, हिंसा जस्ता अपराधमा प्रोत्साहित गर्नसक्ने खतरा रहेको यसका जानकारहरु बताउँछन् । लागुऔषध जस्तो संगठित र जघन्य अपराध नियन्त्रणका लागि ओसारपसारमा भन्दा उत्पादन हुन नदिने तर्फ भूमिका बढाउनुपर्ने प्रहरीको बुझाइ छ । संगठित अपराधको जालो धेरै ठूलो हुने भएकाले यसको नियन्त्रणका लागि नागरिकको साथ सहयोग जरुरी रहने प्रहरीको धारणा छ । यस्ता विषयमा गाउँगाउँमा सचेतनामूलक कार्यक्रमहरु जरुरी देखिएको प्रहरीको अनुभव छ । नेपालको कानूनले उत्पादन, ओसारपसार र बिक्री वितरणमा प्रतिबन्ध लगाए पनि लुकीछिपी उत्पादन र ओसार पसारमा संलग्न भएका उनीहरुलाई पक्राउ गरी कानुनी कारवाही गरिएको प्रहरी दावि छ । सीमित श्रोत ,साधन र जनशक्तिका बाबजुद पनि लागुऔषध नियन्त्रणमा सक्रिय रहेको लागुऔषध नियन्त्रण व्यूरो शाखाका प्रमुखको भनाई छ ।