२ चैत , मेचीनगर : झापामा १५ देखि ६० वर्षसम्मका ब्यक्तिहरु लागुऔषध कारोवारमा संलग्न देखिएको प्रहरीको तथ्यांङ्कले देखाएको छ । नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टा र भारतको पश्चिम बंगाल राज्यको पानीट्याँकी ‐भारतीय सिमाना जोड्ने) लोकमार्ग पछिल्लो समय लागुऔषध ओसारपसार गर्ने सजिलो मार्ग बनेको छ । दैनिक जसोः नेपाल प्रहरीले मेची पुलबाट यसमा संलग्नलाई धमाधम नियन्त्रणमा लिन थालेपछि यो मार्ग सजिलो र यी उमेर समूहका व्यक्तिहरुको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको अभिलेख अनुसार चालु आर्थिक वर्ष २०८०÷ ०८१ को फागुन महिनाको अन्त्यसम्म जिल्लामा लागुऔषधको कारोवारमा संलग्न २ सय ६५ जना मानिस पक्राउ परेका छन् । उमेर समूहको आधारमा सवैभन्दा बढी १६ देखि २५ वर्ष उमेरका १ सय २० जना मानिस पक्राउ परेका छन् । १६ वर्ष मूनिका एकजना, २६ देखि ३५ वर्ष उमेर समूहका १ सय १ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका ३१ जना ४६ देखि ६० वर्ष उमेर समूहका १२ जना मानिस पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।
पक्राउ परेकामध्ये अधिकाँश सेवनकर्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको अभिलेख अनुसार पक्राउ परेका कुल २ सय ६५ मध्ये २ सय १ जना सेवनकर्ता र बाकी कारोवारी हुन् । अनुसन्धानका क्रममा वास्तविकता जे आउँछ अपराध उद्धेश्यको आधारमा त्यही लेख्ने गरीएको कार्यालयको मुद्धा शाखाले जनाएको छ । लागुऔषध प्रयोगकर्ता र ओसारपसार गर्ने व्याक्ति पक्राउ पर्ने भएपनि यसमा संलग्न ठूला नाइके अहिलेसम्म पक्राउ पर्न नसकेको प्रहरी अधिकारीहरु बताउँछन् । राष्ट्रियताको आधारमा पक्राउ परेका मध्ये २ सय ५० जना नेपाली र १५ जना भारतीय रहेका छन् । चालु आर्थिक वर्षको पहिलो आठमहिनामा कार्यालयमा लागुऔषधका १ सय ७४ वटा मुद्धा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, लागुऔषध नियन्त्रण व्युरो शाखा झापालगायत थुप्रै सुरक्षाकर्मीहरुले मेचीपुललाई आफ्नो निगरानीमा राख्ने गरेका छन् । सीमावर्ती भारतीय बजारबाट लागुऔषध सेवा गरी वा साथमा लिएर नेपाल प्रवेश गर्नेको संख्या बढी हुने भएकाले प्रहरीले यो ठाउँलाई उच्च निगरानीमा राखेको व्युरोका एकजना सुरक्षाकर्मीले बताए । ‘ जिल्लामा जति पनि लागुऔषधमा संलग्न व्यक्ति पक्राउ पर्छन् अधिकाँश मेचीपुल क्षेत्रबाट १५ देखि ६० वर्ष उमेर समूहका व्यक्ति पक्राउ पर्ने गरेका छन् ।’
झापा मेचीनगर नगरपालिका —६ पुरानो मेची पुलबाट लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाले गोप्य सूचनाका आधारमा दमक नगरपालिका —२ बस्ने ४५ वर्षीया करिमा तामाङ र सोहि ठाउँका ३३ वर्षका प्रकाश तामाङ ‐दुवैको नाम परिवर्तन) लाई १३ फागुनमा ९ ग्राम ५ सय मिलिग्राम खैरो हिरोइनको आशंकामा नियन्त्रणमा लिएको थियो । मोरङ मधुमल्ला तोरीवारी बस्ने २२ वर्षीया नाईरा भन्ने बशन्ती तामाङ ‐नाम परिवर्तन) ११ ग्राम ५०० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको बताइएको छ ।
फागुन २१ गते झापाको विर्तामोड नगरपालिका—६ बुट्टावारीस्थित एउटा घरमा लागुऔषध ब्राउन सुगरको कारोवार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बुट्टावारीबाट प्रहरी सहायक निरीक्षक सरोज थापा समेतको प्रहरी टोली खटि गई चेकजाँच गर्दा घरको कोठाभित्र इलाम जिल्ला सन्दकपुर गाउँपालिका —४ की २५ वर्षीया कबिता गुरुङ ‐नाम परिवर्तन) साथबाट लागुऔषध ब्राउन सुगर ३ ग्राम ३१० मिलिग्रामसहित ६ हजार ९ सय रुपैयाँ र प्रहरीले फेला पार्यो।
‘यी घटनाले पनि लागुऔषधमा संलग्नहरुको उमेर समूह प्रष्ट हुन्छ ।’ व्युरोका एकजना अधिकारीले भने । ‘स साना कलिला युवाहरु लागुऔषधसहित पक्राउ पर्ने क्रम बढ्दो छ ’उनले थपे । लागुऔषध सेवन र ओसारपसारमा युवाको संलग्नता बढी छ । नेपाल—भारत सिमा नाकाबाट लागुऔषध ओसा पसार तथा सेवनका लागि ल्याउने गरेको र यो नाकाबाट छिरेका लागुऔषध पूर्वी पहाडी जिल्लादेखि संघीय राजधानी र अन्य ठाउँसम्म पुग्ने बताईएको छ । कतिपय आफै लागुऔषधको दुब्र्यसनमा लागेका हुन्छन भने कतिपयले त देशका विभिन्न भागसम्म पु¥याउने काम गर्दे आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाई छ । शुरु शुरुमा सुईको माध्यमबाट प्रयोग हुने डाइजिपाम, फेनारगन, लुपेजिशिक इन्जेक्सनलगायतका लागुऔषको ओसारपसार प्रयोग हुने भएपनि पछिल्लो समय लागुऔषधका रुपमा प्रयोग हुने गाँजा, चरेस, चरेश जस्तो कालो पदार्थ, खैरोहिरोइन, लगायतका बस्तुहरुको कारोवार हुन थालेको प्रहरीको अनुसन्धानबाट खुलेको एकजना प्रहरी अनुसन्धान अधिकृतले जानकारी दिए ।
भारतसँग खुल्ला सिमा जोडिएको क्षेत्र झापाको मात्रै १ सय १८ दशमलव २ किलोमिटर दक्षिणी सीमा क्षेत्र भारतकै विहार र पश्चिम बंगाल राज्यसँग जोडिएको छ । त्यस्तै मोरङ जिल्लाको ६३ किलोमिटर र सुनसरीको ६२ किलोमिटर सीमाक्षेत्र भारतसँग जोडिन्छ । यसले पनि झापा प्रहरीलाई लागुऔषध नियन्त्रणमा समस्या भएको झापा प्रहरीको भनाई छ । खुल्ला सिमाकै कारण प्रहरीका आँखा छलेर ओसार्नेको संख्या पनि उत्तीकै हुनसक्ने अनुमान गर्न सकिन्छ । जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषध दुव्र्यसन विरुद्धको सचेतना अभियान शुभारम्भ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । २४ फागुनमा झापाको गौरीगञ्जबाट शुरु भएको यो अभियान जिल्लाभरिनै सञ्चालन गरिने प्रहरी उपरीक्षक केसीको भनाई छ ।
गौरीगञ्ज गाउँपालिका—६ स्थित खजुरगाछी माध्यमिकको विद्यालयको प्रागणबाट शुभारम्भ अभियान अन्तर्गत आगामी चैत ६ गते झापाको विर्तामोड नगरपालिका —१ स्थित अतिथि सदनमा समुदाय— प्रहरी साझेदारी अवधारणा बमोजिम ‘लागुऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८०’ लागुऔषध माग घटाउ कार्ययोजना अन्तर्गत लागुऔषध सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । अभियान विभिन्न सरकारी कार्यालय तथा स्थानीय सरकारको सहकार्यमा सञ्चालन हुने छ । गौरीगञ्जमा भएको शुभारम्भ अभियान गौरीगञ्ज गाउँपालिका झापा , इलाका प्रशासन कार्यालय गौरीगञ्ज झापा, इलाका प्रहरी कार्यालय गौरीगञ्ज झापा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सशस्त्र प्रहरी गुल्म गौरीगञ्ज झापाको सहकार्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।