१३ चैत, मेचीनगर : झापामा दरवन्दी अनुसारका ‐जनशक्ति) सुरक्षाकर्मी नहुँदा समस्या व्यहोरेको जिल्ला प्रहरी कार्यालय झापाले अस्थायी प्रहरी चौकीका कारण पनि थप मार खेप्न बाँध्य छ । अस्थायी प्रहरी चौकीमा जनशक्तिको दरवन्दी नहुने र स्थायी जनशक्ति नै परिचालन गर्नुपर्ने भएकाले मार खेप्न बाँध्य भएको कार्यालयको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय झापा स्रोतका अनुसार जिल्लामा कुल १ हजार २ सय ९९ जना सुरक्षाकर्मीको स्थायी दरबन्दी छ । तर, १ हजार २ सय १५ जनामात्र कार्यरत रहेको स्रोतको भनाई छ । यी स्थायी जनशक्तिलाई नै अस्थायी प्रहरी पोष्टमा खटाउनु पर्दा इलाका र प्रहरी कार्यालयमा जनशक्ति अभाव हुने गरेको छ । जस्का कारण प्रहरी कार्यालयले मात्र होईन् सर्वसाधारणले समेत भनेकै समयमा प्रहरीको सेवा वा शान्ति सुरक्षा पाईरहेका छैनन् ।
जिल्लामा कचनकवल गाउँपालिका—१मा कुटी अस्थायी प्रहरी चौकी, दमक नगरपालिका—१ मा फाल्गुनन्द अस्थायी प्रहरी पोष्ट, दमक नगरपालिका—४ मा ताराबारी अस्थायी प्रहरी पोष्ट, विर्तामोड नगरपालिका—७ मा गरामनी अस्थायी प्रहरी चौकी, विर्तामोड नगरपालिका—६ मा बुट्टावारी अस्थायी प्रहरी पोष्ट, विर्तामोड—१० मा सैनिक बजार अस्थायी प्रहरी बीट, अर्जुनधारा—११ मा बसपार्क अस्थायी प्रहरी पोष्ट, अर्जुनधारा—९ मा सालवारी अस्थायी प्रहरी पोष्ट, कन्काई—७ मा दुर्गापुर अस्थायी प्रहरी वीट, मेचीनगर—२ मा भृकुटी अस्थायी प्रहरी पोष्ट, मेचीनगर—७ मा इटाभट्टा अस्थायी प्रहरी पोष्ट, गौरादह नगरपालिकामा बैगुनधुरा अस्थायी प्रहरी चौकी, अर्जुनधारा—२ मा खुदुनावारी अस्थायी प्रहरी पोष्ट, शिवसताक्षँी नगरपालिकाको माईधार अस्थायी प्रहरी पोष्ट, गौरादह नगरपालिका—७ मा जुरोपानी अस्थायी प्रहरी चौकीसहित जिल्लमा अस्थायी चौकी र पोष्ट गरी कुल १५ वटा रहेका छन् ।
तर, ती सवै पोष्ट र चौकीमा कार्यरत सुरक्षाकर्मीको व्यवस्थापन जिल्ला प्रहरी कार्यालय झापाले आफै गर्नुपर्छ । एउटा अस्थायी चौकी वा पोष्टमा ४ देखि ७ जनासम्म कार्यरत छन् । जिल्लाभरि रहेका अस्थायी चौकी वा पोष्टमा करीब एकसय जना सुरक्षाकर्मी कार्यरत रहेको कार्यालयको भनाई छ । सरकारले ती अस्थायी प्रहरी चौकी र पोष्टलाई स्थायी गर्ने वित्तिकै एकजना खाने बनाउने ‐भान्से) सहित प्रहरी सहायक निरीक्षकको कमाण्डमा १४ जना सुरक्षाकर्मीको स्थायी दरबन्दी हुन्छ ।
‘अब पोष्ट र चौकी निर्माण गरेपछि सुरक्षाकर्मी राख्नै पर्छ’ एकजना प्रहरी अधिकृतले भने —‘ अस्थायीमा स्थायी जनशक्तिको दरवन्दी नभएपछि अन्य यूनिटबाट स्थायी जनशक्ति पठाउनुपर्छ यसो गर्दा जुन यूनिटबाट जनशक्ति पठाईन्छ त्यहाँ जनशक्ति कम हुन्छ । ’ जस्ले गर्दा त्यस मातहतको क्षेत्रमा कहि कतै अपराधलगायत अन्य घटना भए पर्याप्तरुपमा प्रहरी पुग्न सक्दैन् । अस्थायी प्रहरी चौकी र पोष्टमा समेत पर्याप्त जनशक्ति छैनन् । जस्का कारण त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई स्थानीयवासीको अपेक्षा अनुसार शान्ति सुरक्षा प्रदान गर्न नसकेको बताइएको छ । ‘अब सरकारले यी जिल्लाका १५ वटा प्रहरी वीट र चौकीलाई स्थायी संरचनामा परिणत गर्नु पर्यो नत्र यो समस्या ज्यूँ का त्यू रहन्छ । ’ एकजना प्रहरी अधिकृतले भने ।
जिल्लामा इलाका प्रहरी कार्यालय काँकरभिट्टा, विर्तामोड र दमकमा प्रहरी नायव उपरीक्षक ‐डिएसपी) को दरबन्दी छ । यसैगरी, १२ वटा इलाका प्रहरी कार्यालयमा प्रहरी नायव निरीक्षक ‐सई)को कमाण्ड र ३० वटा प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक ‐असई) को नेतृत्व हुन्छ । जिल्लामा प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक ‐इन्सपेक्टर) को दरबन्दी रहेको धुलावारी, झिलझिले र गौरीगञ्ज इलाका प्रहरी कार्यालयले मात्र मुद्धा चलाउन सक्ने एकजना प्रहरी अधिकृतले बताए । भद्रपुरको वडा प्रहरी कार्यालयमा प्रहरी निरीक्षक ‐इन्सपेक्टर) को दरबन्दी भएपनि त्यहाँ मुद्धा दर्ता हुदैंन जिल्ला प्रहरी कार्यालय झापाले हेर्ने गरेको ती पुलिस अधिकारीले बताए ।
जिल्लामा कार्यरत सुरक्षाकर्मीको सङ्ख्या र झापाको जनङख्या हेर्दा करीब ८ सय १८ जना मानिसको शान्ति सुरक्षाको जिम्मा एकजना सुरक्षाकर्मीको काँधमा छ । २०७८ सालको जनगणना अनुसार झापाको जनसङ्ख्या ९ लाख ९४ हजार ९० पुगेको छ । जुन कूल जनसङ्ख्याको ३ दशमलव ४१ प्रतिशत हो । जिल्लाको कूल जनसङ्ख्यामा पुरुषको सङ्ख्या ४ लाख ७७ हजार ४ सय ९६ र महिलाको सङ्ख्या ५ लाख १६ हजार ५ सय ९४ रहेको छ । यसबाट ३९ हजार ९८ जना महिला बढी रहेको देखिन्छ । जिल्लाको जनसङ्ख्या बृद्धिदर १ दशमलव ९३ प्रतिशत रहेको छ । त्यस्तै औषत परिवार संख्या ४ दशमलव शुन्य ४ रहेको छ । ०६८ को जनगणनामा झापाको जनसंङ्ख्या ८ लाख १२ हजार ६ सय ५० रहेको थियो । हाल जिल्लामा कार्यरत सुरक्षाकर्मीको संख्या १ हजार २ सय १५ मात्र छ ।
केन्द्रीय तथ्यांकले सार्वजनिक गरेको नेपालको जनगणना–२०७८ को नतिजाले जनसंख्याको हिसाबले झापा देशकै चौथो जिल्लाको रुपमा देखिएको छ । केन्द्रीय तथ्यांकले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको तथ्यांक सार्वजनिक गरेको थियो । जसमा सबैभन्दा धेरै जनसंख्या भएको पाँच जिल्लामा काठमाण्डौं पहिलो रहेको छ । त्यसपछि दोस्रोमा मोरङ , तेस्रोमा रुपन्देही, चौथोमा झापा र पाँचौमा सुनसरी रहेको छ ।