झापामा ३ सय ४९ दशमलव ५ हेक्टर क्षेत्रफलको वनमा आगलागी : जिल्लाका २७ वटा सामुदायिक वनका वोटविरुवा जले

१४ चैत, मेचीनगर : गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । झापा जिल्लामा चालु आर्थिक २०८०÷०८१ को आठमहिनामा ३ सय ४९ दशमलव ५ हेक्टर क्षेत्रफलको वनमा आगलागी भएको छ । सामुदायिक वनमा लागेको डढेलोका कारण वर्षेनी वनक्षेत्रमा ठूलो क्षति हुने गरेको छ । वनमा आगलागी हुँदा साना बिरुवा तथा ठूला रुखलाई असर पुग्ने गरेको छ ।

डिभिजन वन कार्यालय झापाका अनुसार जिल्लाका २७ वटा सामुदायिक वनमा यो अवधिमा आगलागी भएको छ । गर्मीसँगै हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा डढेलो लाग्ने गरेको कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार माघ फागुन चैत तथा बैशाख गर्मीयाम शुरु भएसँगै जिल्लाको सयौं हेक्टर जमिनमा आगलागी हुने गरेको छ ।

यसरी वनमा लागेको आगलागीका कारण आसपासका बस्तीसमेत जोखिममा पर्ने गरेका कार्यालयको भनाई छ । ‘डढेलोबाट साना बिरुवा,पातपतिङ्गर, चराचुरुङ्गी एवम् विभिन्न जडीबुटी पूर्णरूपमा नष्ट हुने गर्छ ’ सुचना अधिकारी पुरीले भन्नुभयो—‘डढेलोबाट कतिपय जङ्गली जनावरको मृत्यु भएको छ भने कतिपयले बासस्थान परिवर्तन गरेका छन् । ’डढेलोका कारण साना बिरुवा जलेर नष्ट भए पनि ठूला रुखलाई सामान्य असर पार्ने वन अधिकारीहरु बताउँछन् । ‘वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रुखबिरुवा जलेर नष्ट हुन्छन् ’ वन अधिकारी भन्छन्—‘वनमा जाँदा सावधानी नपआनाएकै कारण वन क्षेत्र आगलागीको चपेटामा परिरहेका छन् । वनमा जथाभावी डढेलो लगाउँदा वन्यजन्तु, जनावर, जनावरको बासस्थान र कलिला बोट बिरुवालगायत जलेर नष्ट भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । डढेलोले वनमा पारेको दीर्घकालिन असर, डढेलोपछिको माटोको गुणस्तर, क्षमता, बोटविरुवा, जंगली जनावर तथा चराचुरुङ्गीमा परेको असर आदिका बारेमा सवैलाई चेतना दिन सक्नुपर्ने वातावरणविद सुमन केसीको भनाई छ ।

सामुदायिक वनमा लागेको डढेलो (रुखको जरा, हाँगा र टुप्पोसम्म सखाप पार्ने गरी लाग्ने आगो) ले अकल्पनीय क्षति पुग्ने एकजना सामुदायिक वनका पदाधिकारी बताउँछन् । डढेलोले प्राकृतिक प्रणाली र माटोको गुणस्तरमा ह्रास ल्याएको हुँदा यहाँको वन्यजन्तु, वनस्पति लगायत समग्र जैविक विविधता नै संकटमा पर्ने गर्छ । डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी पुरीले आगलागी हुँदा साल,टिकलगायत प्रजातिका सयौँ साना बिरुवा जलेर नष्ट हुने गरेका छन् । त्यहाँ तत्कालै वृक्षारोपण गरिने र कतिपय ठाउँमा आफै उम्रने गर्छन् ।

वनमा लागेको आगो नियन्त्रणमा समयमै नेपाली सैनिक, प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगका कारण ठूलो क्षति हुनबाट जोगिने कालिका सामुायिक बन मेचीनगर ११÷१२ का अध्यक्ष योगेश भट्टराईले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी तथा वन कार्यालयका कर्मचारीको सहभागिताले नै आगलागी नियन्त्रण सम्भव हुने वनको भनाई छ । गतवर्ष उक्त बनको डेढ हेक्टर क्षेत्रफल वनमा आगलागी हुँदा ठूला साना संयौ रुख र विरुवा जलेर नष्ट भएका थिए । वनमा लागेको डढेलोका कारण हुने वायु प्रदुषणले संकट निम्त्याउने वातावरणविद योगेशराज पन्तको भनाई छ । गैर मानव जीवनमा डढेलोले पु¥याएको क्षति निक्कै हुने उहाँको भनाई छ ।

समयमा पानी नपर्नु ,मानिसको हेलच्याक्रयाईँ, मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्ने वा सडक बढारेको फोहर नालीमा फालेर आगो लगाउँनेलगायत सुख्खायाममा धेरै आगलागी हुने गरेको छ । जनचेतना र प्रचारप्रसारको कमी हुँदा वनमा धेरै आगलागी भएको छ । स्याउला र सोतर लिन वनमा गएकाको लापरवाहीले पनि आगलागी हुन सक्ने बताइन्छ ।

वनमा आगो लगाउनेलाई कारबाहीको दायरामा समेत ल्याइने गरिएको एकजना सुरक्षाकर्मीको भनाई छ । तर, यो अवधिमा वनमा आगो लगाएकै अभियोगमा कोहि पनि पक्राउ परेका छैनन् । कतिपय मानिसले वनमा डढेलो लगाउँदा कलिलो घाँस पलाउने, विभिन्न किसिमका च्याउ उम्रिने भएकाले पनि सुक्खा मौसमको समयमा वनमा जथाभावी डढेलो लगाउने गरेको पाइएको छ । वनमा पाइने बिरुवाहरु उम्रिएपछि जंगलको रुप लिन ८ देखि १५ वर्षसम्म लाग्ने यसका जानकारहरु बताउँछन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.