१० भदौ, मेचीनगर : संविधानले नै व्यवस्था गरेको हरेक पालिकामा न्यायिक समितिको गठनले अहिले स साना झै झगडा र लामो समयदेखि समाधान हुन नसकेका विवादहरु स्थानीय स्तरबाटै अहिले मेलमिलापका माध्यमबाट समाधान भएको भन्दैं झापाको विर्तामाडमा सोमबार आयोजित एक कार्यक्रममा सहभागीहरुले यस हरेक समाजमा सकरात्मक सन्देश गएको बताएका छन् ।
प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले माकुरा समुह सदस्यहरुका लागि आठ दिवशिय ४८ घण्टे मेलमिलाप सम्बन्धी आधारभूत तालिमको उदघाटन सत्रमा सहभागी अधिकाँश वक्ताहरुले देवानी प्रकृतिका विवादहरुलाई सहजीकरण गरी संवादको माध्यमबाट जीत जीतको अवस्थामा पुर्याउने गरी विवाद समाधान गर्ने सीपको विकास हुने बताएका थिए ।
तालिम उद्घाटन सत्रका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व वरालले व्यानर पढेर औपचारिकरुपमा तालिमको उद्घाटन गर्नुभएको थियो । उद्घाटन मन्तव्य राख्दैं उहाँले तालिम निक्कै फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । वास्तवमा सरकारले गर्नुपर्ने यस्तो काम आज प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले गरेर धन्यवादको पात्र बनेको उहाँले बताउनुभयो । ‘ यो तालिममात्र होइन यसले भोलीका लागि न्यायमूर्ति समेत उत्पादन गर्छ ’ प्रमुख वरालले भन्नुभयो—‘ तालिममा सहभागी तपाईहरुको गुणस्तरले पनि हेर्दा पनि यस कुरामा म निक्कै ढुक्क छु । ’
यसलाई अवसरका रुपमा लिएर यसबाट अधिक से अधिक लाभ लिन समेत सहभागीलाई उहाँले आग्रह गर्नुभयो । तालिममा सीकेको कुरालाई व्यवहारमा उतारेर गाउँ समाजमा हुने झै झगडा र द्वन्द न्यूनिकरण गर्न सवैको साथ सहयोग रहनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । दक्ष जनशक्ति उत्पादन भए मात्र स्थानीय तहको न्यायिक समितिमा आउने मुद्दा वा विवादहरूलाई समाधान गर्न सकिने र यो तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हुन सक्ने उहाँले बताउँनुभयो ।
हरेक पालिकामा दक्ष जनशक्ति भए स्थानीय स्तरका समस्या स्थानीय स्तरमा नै छिटो समाधान हुने , दुवै पक्षको जीत जीत हुने गरी मेलमिलाप गराउनु जस्तो न्याय अरू कुनै नहुने उहाँको भनाइ थियो । दक्ष र योग्य मेलमिलापकर्ता स्थानीय स्तरमा सम्मानित व्यक्तित्व हुने उहाँले प्रष्ट पार्नुभयो । गाउँका समस्या स्थानीय स्तरमा नै समाधानको निमित्त योग्य व्यक्ति उत्पादन गर्न यस्ता तालिमको आवश्यक पर्ने बताइएको छ ।
उदघाटन सत्रमा विर्तामोड नगरपलिकाका प्रमुख पवित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीलगायतले बोल्नुभएको थियो ।
उहाँले स्थानीय पालिकामा हल हुन नसकेका जटिल प्रकृतिका मुद्घाहरु निरुपणका लागि अदालतसँग समेत समन्वय गरिरहेको विचार राख्नुभयो । नगरपालिकामा न्यायिक समिति र प्रत्येक वडा वडामा मेलमिलाप समिति भएकै कारण पनि समस्या समाधानमा सहयोग पुगेको उहाँहरुको भनाई थियो । उहाँहरुले न्यायिक समितिमा आफुहरुले गरीरहेको गतिविध ितथा सारागारा अप्ठयारा विषयमा विचार समेत राख्नुभयो ।
प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका श्रोत व्यक्ति संगीता थापाको अध्यक्षता गदैं कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । उदघाटन सत्रको सञ्चालन सहजकर्ता हिमा मगर तथा स्वागत मानबहादुर कार्कीले गर्नुभएको थियो । भदौ १७ गतेसम्म सञ्चालन हुने तालिममा जिल्लाका विभिन्न पालिकाका न्यायिक समिति सदस्य, मेलमिलापकर्ताको सहभागी छ । उनीहरुलाई जिल्ला अदालत झापाका मुख्यः न्यायाधीस उमेशप्रसाद लुइँटेल, प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका श्रोत व्यक्ति संगीता थापा, कानुन व्यवसायी नवीन खतिवडा, केन्द्रका सहजकर्ता चेतन विष्टलगायतले प्रशिक्षण प्रदान गर्नुहुने छ ।
तालिममा विवाद द्वन्दको अवधारणा र विस्तार, विवाद समाधानका उपाहरु आधारभूत बैकल्पिक, विवाद समाधानमा मेलमिलाप पद्घतिको प्रयोग, अन्तर्राष्ट्रिय सन्दर्भमा मेलमिलाप पद्घतिको प्रयोग, मेलमिलाप सम्बन्धी नेपालमा प्रचलित कानुनी व्यवस्थालगायतका विषयमा उहाँले तालिम दिनुहुने बताईएको छ ।