बमको हल्लापछि भिस्तारा विमानका यात्रुलाई बडी सर्च

६ कात्तिक, काठमाडौं : दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम राखेको भन्दै अज्ञात व्यक्तिले सूचना दिएपछि नेपाली सेना र नेपाल प्रहरीले विमानस्थलमा सर्च अपरेशन थालेको छ ।

सेना र प्रहरीको तालिम प्राप्त कुकुरसमेत विमानस्थलमा परिचालित गरिएको छ । बम रहेको भन्दै सूचना आएपछि उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य आफैं पनि विमानस्थल पुगेकी छन् ।

‘अहिले डग स्निफिङ, ब्यागेज जाँच लगायतका काम गरेर सबै यात्रुलाई एकएक गरेर निकाल्ने तयारी गरिरहेका छौं’, उनले अनलाइनखबरसँग भनिन्, ‘त्यस्तो सूचना आएपछि सावधानी अपनाउँदै गर्नुपर्ने कामहरु गरिरहेका छौं ।’  बमको हल्लापछि भिस्तारा विमानका यात्रुहरुलाई विशेषरुपमा वडि सर्च गरेर उच्च निगरानीका साथ इमिग्रेसनबाट बाहिर पठाइएको छ ।

सेनाको बम डिस्पोजल र तालिम प्राप्त कुकुरसहितको टोली विमानस्थलमै तैनाथ रहन्छन् । प्रहरीको पनि तालिम प्राप्त कुकुर विमानस्थलमा नियमित खटिन्छन् ।

यूके १५५ कलसाइनको जहाजमा १५७ जना यात्रु सवार छन् । यो विमान मंगलबार अपराह्न ४ः११ बजे अवतरण गरेको थियो । सूचना प्राप्त भएलगत्तै सावधानी बनाएर जाँच भइरहेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए । उनले भने, ‘अहिलेसम्म त्यस्तो शंकास्पद वस्तु भेटिएको छैन ।’

यो सूचनापछि अहिले विमानस्थलमा उडान–अवतरण रोकिएको छ । भारतमा पछिल्लो एक सातामा कम्तीमा १०० विमानमा बम रहेको भन्दै गलत सूचना प्रवाह भएको छ । यसले भारतको विमान सेवामै तनावको स्थिति सिर्जना गराएको छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा उडानमा यस्तो थ्रेट आइरहेको भारतका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । गएको शनिबार मात्र भारतमा एकैदिन ३० वटा धम्कीका सूचना बाहिर आएका थिए । आइतबार कम्तिमा २० वटा विमानमा बमको थ्रेट दिइएको थियो ।

यसरी बम राखेको भन्दै गलत सूचना राख्नुको कारण पत्ता लागेको छैन । यद्यपि, कतिपय सञ्चारमाध्यमले यस्ता धम्कीलाई खालिस्तानी अभियानसँग जोडेर हेरेका छन् ।

बम राखिएको सूचनापछि भारतबाट भएका विभिन्न अन्तर्राष्ट्रिय उडान डाइभर्ट पनि भएका छन् । यस्तै थ्रेट आएपछि अघिल्लो साता सिंगापुरमा फाइटर जेट समेत परिचालन गरेर विमानलाई स्कर्ट गरिएको थियो ।

समाचार संस्था रोयटर्सका अनुसार, एयर इण्डियाको विमानमा बम रहेको भन्दै एयरलाइन्सलाई कसैले इमेल गरेको थियो । पछि विमानलाई अवतरण गराएर जाँच गर्दा त्यहाँ शंकास्पद वस्तु फेला परेको थिएन ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.