२३ कात्तिक, मेचीनगर : ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो तीन महिनामा १४ लाख रुपैयाँबढी राजस्व संकलन गरेको छ । प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशकुमार धमलाका अनुसार चालु आवको साउनदेखि असोज महिनाको अन्त्यसम्म सवारी नियम उल्लंघन गर्ने एकजार चारसय १७ वटा सवारी साधनलाई कारवाही स्वरुप १४ लाख २९ हजार रुपैयाँ पोष्टले राजस्व संकलन गरेको हो ।
सवैभन्दा बढी चालु आवको शुरुवाती साउन महिनामा छ सय २२ वटा सवारी साधन कारवाहीमा परेका थिए । त्यस वापत छ लाख चार हजार रुपैयाँ राजस्व संकलन भएको थियो । ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने सवारी साधनका चालक, सह चालक र परिचालकलाई धमाधम कारवाही गर्न थालेपछि काँकरभिट्टाक्षेत्रमा सवारी सल्लंघन कम हुदैं गएको पोष्टले जनाएको छ । ट्राफिक प्रहरीले त्यस्ता सवारी साधनमा कडा निगरानी बढाए लगत्तै भदौं महिनामा त्यो संख्या क्रमस घटेर पाँचसय ४४ मा झरेको पोष्टले जनाएको छ । कारवाही संख्या घटेपछि राजस्व समेत कम हुने गरेको छ । भदौं महिनामा सवारी नियम उल्लंघन गर्ने सवारीका साधनबाट कारवाही स्वरुप पाँच लाख ६५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
असोज महिनामा दुई सय ५१ वटा सवारी साधन कारवाही गर्दा दुई लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ । साउन महिनामा बस २६, ट्रक ८३, कार, जीप, भेन तीनसय ९८, मोटरसाईकल ५१, ट्याक्टर एउटा अटो टेम्पो ६३ गरी कुल छ सय २२ वटा सवारी साधन कारवाहीमा परेका थिए । भदौमा बस छ, ट्रक एकसय ८४, कार, जीप, भेन तीनसय चार, मोटरसाईकल २३, ट्याक्टर एउटा अटो टेम्पो २६ गरी कुल पाँच सय ४४ र असोजमा ट्रक एकसय ८१, कार, जीप, भेन तीनसय ६३, मोटरसाईकल एउटा, अटो टेम्पो छ गरी कुल दुई सय ५१ वटा सवारी साधन कारवाहीमा परेको पोष्टले जनाएको छ ।

खासगरी, ट्राफिक प्रहरीको मुख्यः काम राजस्व संकलन भन्दा पनि सामान्य तथा विशेष परिस्थितिमा समेत ट्राफिक प्रहरीले सवारी व्यवस्थापन गरी विद्यमान ऐन नियमको पालना गराउनुका साथै सवारी नियम उल्लंघनकर्ताहरुलाई जरिवाना गराउने, सडक दुर्घटनाको प्रभावकारी अनुसन्धान , घाइतेको उद्धार गरी पिडितलाई न्यायमा सहजीकरण गर्ने गर्दछ । यस्तै हराएका सवारी साधन तथा माससमानहरुको खोजतलास गर्नुका साथै ट्राफिक जनचेतनाको अभिवृद्धी सहितको ट्राफिक व्यवस्थापन सम्बन्धी सूचना प्रवाह गर्नुका साथै यात्रुको सुरक्षित एवम् मर्यादित यात्रा गर्न पाउने अधिकार सुनिश्चित तथा सडक सभ्यता कायम गरी दुर्घटना न्यूनीकरणका लागी सम्पूर्ण प्रयास गर्नु ट्राफिक प्रहरीको महत्वपूर्ण कार्यभित्र पर्दछ ।

ट्राफिक प्रहरी पोष्टले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकलाई समेत कडा कारवाही गरेको छ ।
ट्राफिक प्रहरीले चाडपर्वका बेला वा अन्य समय मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकलाई कडा कारवाही गरेको हो । त्यसका लागि ठाउँठाउँमा सवारी चालकहरुको चेकजाँचको व्यवस्था गरिएको थियो । तीन महिनामा पोष्टले मादक पदार्थ सेव गरी सवारी चलाउँने एकसय ५६ जना चालकलाई कारवाही गरेको छ । सो वापत पोष्टले एकलाख दुई हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
सबै यातायातका चालकलाई मादक पदार्थ सेवन नगरी सवारी चलाउँन सचेत गराउँदैं त्यसो नगरिए प्रहरीले कडा कार्वाही गर्ने पनि बताइएको छ । ट्राफिक प्रहरीले पछिल्लो समय नियमित राजमार्ग चेकिङ, छड्के चेकिङ तथा ग्रामीण सडकमा हुने चेकिङ कारण पनि सवारी नियम उल्लंघनका घटना कम भएको बताएको छ । साथै सडक दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुगेको छ । काँकरभिट्टाक्षेत्रमा तीन महिनामा सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । पोष्टको अभिलेख अनुसार सो अवधिमा १३ वटा सवारी दुर्घटना भएका थिए ।
ट्राफिक प्रहरीको उपस्थिति रहेको ठाउँमा पुग्दा सवारी चालकहरूले ट्राफिक नियमको पालना गर्ने भए पनि प्रहरीको दृष्टिबाट उम्किएपछि नियम उल्लंघन गर्ने गरेको पाइएपछि काँकरभिट्टा ट्राफिकले ग्रामीण क्षेत्रमा समेत चेकिङ बढाएको थियो । ट्राफिक प्रहरी नभएको स्थानहरूमा चालक तथा यात्रुहरूको लापरबाही गर्ने, ट्राफिक शिक्षाको कमी, सवारी चालक अनुमति पत्र प्राप्त नगरेकाहरूले पनि सवारी चलाउने जस्ता कार्यहरू निरुत्साहित गर्ने गरी ट्राफिक प्रहरी खटिएको भनाइ छ । यस्तै, मादक पदार्थ सेवन गरी सवारी चलाउने, हेलमेट नलगाई सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने, छतमा तथा झुण्डिएर यात्रा गर्ने लगायतका लापरबाही नियन्त्रण भएको बताइएको छ ।

तर, पनि दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको अभाव , सिमित साँघुरा सडकहरू , सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उलंघन गर्ने प्रवृतिका कारण देशभरको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एवम् चुनौतिपुर्ण बन्दै प्रहरी अधिकारीहरुको भनाई छ ।
सार्वजनिक यातायात क्षेत्रमा अस्वस्थ एवम् अवैज्ञानिक प्रतिस्पर्धा रहेका कारण सवारी व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । सडक र यातायातसँग सम्बन्धित पक्षले यस्ता चुनौतीलाई अवसरका रुपमा लिएर यातायात क्षेत्रको विकासलाई उच्च प्राथमिकता प्रदान गरी समयमै अल्पकालिन तथा दिर्घकालीन कार्य योजना तयार गरी कार्यान्वयन गरिनु अति आवश्यक भएको छ ।

[समाचारका राखिएका सवै तस्वीर फायल तस्वीर हुन्]




































