४ चैत , मेचीनगर : यसवर्षको भरत भुर्तेल पत्रकारिता पुरस्कार उदयपुरका पत्रकार कौशल चेम्जोङलाई प्रदान गरिने भएको छ । पवित्रा भेषराज खतिवडा स्मृति प्रतिष्ठान मेचीनगरको शनिबार सम्पन्न बैठकले वरिष्ठ पत्रकार चेम्जोङलाई नगद राशी ४१ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिने प्रतिभा छनौट समितिका संयोजक पत्रकार चन्द्र भण्डारीले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानी पत्रकार चेम्जोङ उदयपुरको गाईघाटमा रहेर छापा तथा विद्युतीय सञ्चार माध्यममा क्रियाशील तथा कुशल प्रशिक्षक समेत हुनुहन्छ । उहाँको उदयपुरको साहित्य कृति समेत प्रकाशित भएको छ ।
यसैगरी, उत्कृष्ट शिक्षकका रुपमा मेचीनगर— १४ मा रहेको बाल सुबोधिनी माविका प्रधानध्यापक विश्व थापालाई, विषयगत गणित शिक्षक मेचीनगर — ८ बाल कल्याण माविका राजेश खनाल, तथा जेहेन्दार छात्र छात्रातर्फ धुलावारी माविका कृतिका सुब्बा र पुष्कल घिमिरेलाई पुरस्कार तथा सम्मन प्रदान गरिने बैठकले निर्णय गरेको छ । उत्कृष्ट शिक्षकको राशी नगद १५ हजार तथा विषयगत शिक्षकको राशी १५ हजार र उत्कृष्ट छात्रा र छात्रातर्फको राशी जनही ७ हजार ५ सय रुपैयाँसहित सम्मान पत्र रहेको संयोजक पत्रकार भण्डारीले जानकारी दिनुभयो ।
नगद ७५ हजार रुपैयाँको राशी र सम्मान पत्रसहितको उत्कृष्ट विद्यालयको सम्मान तथा पुरस्कार धुलावारी माध्यमिक विद्यालयलाई प्रदान गरिने बैठकले निर्णय गरेको छ । लोपोन्मुख लाप्चा जातिबाट उत्कृष्ट अंक प्राप्त गर्नुहुने झापा शान्तिनगर माविका छात्र खिलबहादुर लाप्चा र छात्रा सलमा लाप्चालाई पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कारको राशी नगद जनही ७ हजार ५ सय र सम्मान पत्र रहेको छ ।
आगामी चैत ११ गते धुलावारीमा हुने कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाको हातबाट सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मन प्रदान गरिने तथा प्रतिभा छनौट समितिका संयोजक पत्रकार भण्डारीले जानकारी दिनुभयो । बैठक भण्डारीकै अध्यक्षता सम्पन्न भएको थियो ।