१६ वैशाख, मेचीनगर : यसवर्षको तेराख महाकवि देवकोटा साहित्य पुरस्कार मेचीपारी भारत असम मटियावरीका कलाश्री विनोद खनाल र इलाम नगरपालिका –६ का रविमान लम्जेललाई प्रदान गरिएको छ ।
शनिबार झापाको धुलावारीमा साहित्यकार तेराख प्रतिष्ठान मेचीनगरले आफ्नो वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहको अवसर पारेर कवि, कलाकार तथा साहित्यकार खनाल र साहित्यकार तथा अनुसन्धानकर्ता प्राज्ञ लम्जेललाई नगद जनही ४५ हजार राशी र सम्मान पत्रसहितको तेराख महाकवि देवकोटा साहित्य पुरस्कार तथा सम्मान प्रदान गरेको हो । प्रतिष्ठान दिवंगत साहित्यकार तेजराज खतिवडा ‐तेराख) को स्मृतिमा सञ्चालन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार केशव आचार्यलगायतलेले सम्मानित एवम् पुरस्कृत व्यक्तित्वहरुलाई नगदसहित सम्मान पत्र प्रदान गर्नुभएको थियो । ढाकाको टोपी पहिर्याएर उहाँहरुलाई नगद तथा सम्मान पत्र प्रदान गरिएको हो । सम्मानित व्यक्तित्व कलाश्री विनोद खनालको जीवनीमाथि प्रतिष्ठानकी सदस्य लीना भण्डारी अर्का व्यक्तित्व रविमान लम्जेलको जीवनीमाथि प्रतिष्ठानका सदस्य तथा लेखनाथ पुरस्तकालय चन्द्रगढीका सभापति कृष्ण सुवेदी’ निराकार’ ले प्रकाश पार्नुभएको थियो ।
पुरस्कार ग्रहणपछि प्राज्ञ लम्जेलले आफूले प्राप्त गरेको पुरस्कार राशी कृति प्रकाशनमा खर्च गर्ने स्पष्ट पार्नुभयो । यसैगरी, मेचीपारीका अर्का सम्मानित व्यक्तित्व खनालले नेपाल नेपाली भाषा, साहित्य, कला र संस्कृतिको महत्वपूर्ण स्थान रहेको र सीमापारी रहेर आफू यसको विकास सम्वृद्धिमा निरन्तर लागिरहेको बताउनु भयो । उहाँले सीमापारी बसेर नेपाली लोक संस्कृति संगिनी गीतमा दशहजार आमा दिदीबैनीहरुलाई शिरमा गाग्रो राखेर नृत्य गराउन लागेको र यस नृत्यलाई गिनिज बुक अफ वल्ड रेकर्ड कायम गर्ने तयारीमा रहेको बताउनु भयो । उहाँले आफ्ना रचना गीत र मुक्तक प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी, नगद २१ हजार रुपैयाँसहितको मधुसुदन उत्कृष्ट कृषक पुरस्कार मेचीनगर नगरपालिका –९ निवासी कृषक खड्गवहादुर अधिकारी र १५ हजार रुपैयाँको पद्मादेवी उत्कृष्ट छात्रा पुरस्कार धुलावारी नमुना मावि बाट कक्षा १२ को परीक्षामा ३ दशमलव ७४ जिपिए प्राप्त गरि उत्तीर्ण हुने छात्रा पवित्रा न्यौपानेलाई प्रदान गरियो । प्रतिष्ठानले हरेक वर्ष यी दुई पुरस्कार तथा सम्मान पनि प्रदान गर्दै आएको छ । यी दुवैको सम्मान पत्र मुना राणाले वाचन गर्नुभएको थियो ।
धुलावारी माविको सभाहलमा प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कवि तथा साहित्यकार केशव आचार्य, विशेष अतिथि प्राज्ञ सुभद्रा भट्टराई, प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडालगायतले सम्मान पत्र, अविर टीका, पुष्पमाला र दोसल्लाद्वारा सम्मान गर्नुभएको थियो । कार्यक्रममा ‘आँखैमा राख्छु मेरो देश, मुटुमा राख्छु मेरो देश’ बोलको गीतमा नृत्य गरेर आस्था खतिवडा र पूर्णिमा सुवेदीले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडाले तेराख प्रतिष्ठानको संक्षिप्त परिचय तथा कार्यक्रमको औचित्यमाथि प्रकाश प्रतिष्ठानका अध्यक्ष एवम् कार्यक्रमका सभापति अध्यक्ष शिवकुमार पौडेलले पार्नुभएको थियो ।
कार्यक्रममा दार्जिलिङका कलाकार अनिल प्रधानले आफ्नै शब्द संगीतमा रहेको ‘आउनुहोस् है साथी नेपाल घुम्न जाउँ ’बोलको गीत प्रस्तुत गर्नुभएको थियो । नाटककार टंक काफ्लेले नाटकको अभिनय गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि आचार्य, विशिष्ट अतिथि भट्टराई सञ्चारकर्मी चन्द्र भण्डारीलगायतले बोल्नुभएको थियो । प्रतिष्ठानकी उपाध्यक्ष दुर्गा खतिवडाले स्वागत तथा सचिव जय भण्डारी र सहसचिव मुना रानाले संयुक्तरुपमा सञ्चालन गर्नुभएको थियो । सोहि अवसरमा प्रतिष्ठानले प्रकाशन गरेको २०८१ सालको क्यालेण्डर पनि सार्वजनिकीकरण गरिएको छ ।