२९ असार, मेचीनगर : यस वर्षको भानु साहित्यिक राष्ट्रिय पुरस्कार संस्कृतिविद, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राध्यापक डाक्टर जगमान गुरुङलाई प्रदान गरिएको छ । २११ औँ महाकवि भानु जयन्तीको अवसरमा झापाको मेचीनगरमा शनिबार आयोजित एक कार्यक्रममा नगद एक लाख एक हजार रुपैयाँ र सम्मान पत्रसहितको पुरस्कार प्रमुख अतिथि कोशी प्रदेश सरकारका खानेपानी सिँचाई तथा उर्जा मन्त्री एकराज कार्की र विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा प्रदान गर्नुभयो ।
काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आयोजना गरेको कार्यक्रममा सम्मानित व्यक्तित्व गुरुङले राजनीतिले हरेकक्षेत्रलाई फुटाउने र भाषा, कला, साहित्य र संस्कृतिले त्यसलाई जोडने बताउनुभयो । राजनीति गर्ने हरेक व्यक्तिहरुले भाषा, कला, साहित्य र संस्कृतिलाई आत्मसाथ र मुख्यः आधार मानेर अघि बढ्न सुझाँव समेत दिनुभयो । ‘राजनीतिले हरेकलाई विखण्डित गर्छ’, गुरुङले भन्नुभयो—‘साहित्यले राजनीतिलाई जोड्छ । धर्म र संस्कृतिलाई मानेर राजनीति गरे सफल हुन्छ ।’
एउटा राईको छोराले लेखेको र गुरुङको छोरोले संगीत भरेको अर्काे गुरुङको छोरोले प्रस्ताव गरेको र लिम्बुको छोराले सार्वजनिक गरेको राष्ट्रिय गीत हरेक नेपालीको ढुकीढुकीमा छ । उहाँले भन्नुभयो ‘ त्यो कस्तो संयोग मिलेको, न त्यहाँ बाहुन छन् त क्षेत्री नै न त अरु समुदाय तर त्यो राष्ट्रिय गीत हरेक वर्ग, जातजाति, समुदायले गाउँछन् यो गीतले सवैलाई एउटै मालामा गासेको छ ।’ विदेशमा धर्मका लागि मानिस फरक होलान तर हरेकका धर्मलाई एकले अर्का सम्मान गदैं भाषा, कला, साहित्य र संस्कृति संरक्षणका लागि को हिन्दु, को इसाई, को बौद्ध ,को मुस्लिम जो जो जुन जुन धर्मालम्वी भए पनि एक ठाउँमा उभिने प्रा.डा.गुरुङले स्पष्ट पार्नुभयो ।
सूदुरपुर्वको काँकरभिट्टा र काठमाडौंमा भानु जयन्ती मनाईरहदा सुदूरपुर्वमा गुुरुङको छोरो पुरस्कृत भईरहदा काठमाडौंमा बैरागी काईला पुरस्कृत र सम्मानित हुनुले आज नेपालका हरेक जातजाति, भाषाभाषी वर्ग समुदाय सम्मान पुरस्कृत भएको उहाँको बुझाई थियो । सरकारले भानु जयन्ती कहिल्यै पनि मनाउने नगरेको प्रति आक्रोस व्यक्त गर्दै उहाँले संस्कृति मन्त्रालय अन्तरर्गत रहेका तीनवटा प्रतिष्ठानले भानुजयन्ती मनाएको आफुले नदेखेको बताउनुभयो ।
तर, भानुभक्तको जन्मजयन्ती नेपालमा मात्र होइन भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवम् स्थानमा मनाएको स्मरण गराउनुभयो । नेपार सरकराले भानु जयन्ती नमनाएर नेपाली भाषा, साहित्य, संस्कृतिको उपेक्षा गरेको दाबी उहाँले गर्नुभयो । प्रदेश नामाकरणका लागि विभिन्न स्थानमा भएका विरोधका बारेमा बोल्दैं उहाँले कोशी प्रदेश सबैको साझा भएको र सबै जाति आटेर बसेको बताउँदैं यहाँ सबै जातिको बसोबास भए पनि एक आपसमा मिलेर बसेको बताउँनुभया । सम्मानित व्यक्तित्वका बारेमा अग्रज सञ्चारकर्मी चन्द्र भण्डारीले प्रकाश पार्नुभयो ।
सोहि अवसरमा विभिन्न विधाका श्रष्टाहरु र संस्थालाई सम्मान गरिएको थियो । कृषिक्षेत्रको उन्नयन र विकासमा नयाँ नयाँ प्रविधि भित्रियाएको र हरेक कृषकहरुलाई उन्नत जातको बीउँ साथै कृषि उपकरणमा पुर्याएको योगदानको कदर गदैं मेची कृषक बहुमुखी सहकारी संस्था र भानु पुस्तकालयका लागि पुस्तक प्रदान गर्ने महेन्द्रद्वार सहकारी संस्थालाई सम्मान पत्र प्रदान गरिएको थियो । प्रमुख अतिथि कोशी प्रदेश सरकारका खानेपानी सिँचाई तथा उर्जा मन्त्री कार्की विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख उप्रेतीले संयुक्तरुपमा प्रदान गर्नुभएको मेची कृषक बहुमुखी सहकारी संस्थाको सम्मान पत्र अध्यक्ष हरिबहादुर बुढाथोकी र व्यवस्थापक दीपक काफ्ले तथा महेन्द्रद्वार सहकारी संस्थाको अध्यक्ष राजु दाहालले ग्रहण गर्नुभयो ।
हेमराज—मेदनी खरेल संगीत साधना प्रतिभा पुरस्कार संगीत साधना प्रतिष्ठान नेपाल, सुनसरी, कृष्ण—पवित्रा उप्रेती साहित्यिक प्रतिभा पुरस्कार सुसेली साहित्यिक प्रतिष्ठान मेचीनगर,हेमराज—मेदनी खरेल साहित्य तथा सञ्चार प्रतिभा पुरस्कार सञ्चारकर्मी पिनाकीप्रसाद कोइराला, कृष्ण—पवित्रा उप्रेती खेलाडी प्रतिभा पुरस्कार टेवलटेनिस खेलाडी अमिता गिरीलाई प्रदान गरियो । पुरस्कारको राशी जनही २१ हजार रुपैयाँ नगद सहित सम्मान पत्र रहेको छ । नगद १५ हजार रुपैयाँ र सम्मान पत्रसहितको भानु उद्यमी पुरस्कार खड्गबहादुर अधिकारीलाई प्रदान गरियो । भानु प्रशंसा पुरस्कार केन्द्रप्रसाद भट्टराई र जयप्रसाद आचार्यलाई प्रदान गरियो । पुरस्कारको राशी जनही नगद पाँच हजारसहित सम्मान पत्र रहेको छ ।
खुल्ला कविता गोष्ठी प्रतियोगितामा प्रथम नन्दी भट्टराई (नुरान) लाई ५ हजार, दोस्रो हुने दधिराम खनाल (दुर्लभ) लाई ३ हजार र तेस्रो हुने दिपेश राउतलाई २ हजार नगदसहित पुरस्कृत गरिएको छ । सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि मन्त्री कार्की, विशिष्ट अतिथि उपप्रमुख उप्रेती, वरिष्ठ सञ्चारकर्मी चन्द्र भण्डारीलगायतले नगदसहित सम्मान पत्र प्रदान गर्नुभयो । कार्यक्रममा बोल्दैं प्रमुख अतिथि कार्कीले आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्य र भाषामा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको कुरा कहिल्यै विर्सनु नहुने मन्त्री कार्कीको भनाई थियो । कार्यक्रम शुरुहुनु अघि पञ्चे बाजागाजा र झाँकीसहित विहान प्रभातफेरि गरीएको थियो । कार्यक्रममा मेची भन्सार कार्यालय काँकरभ्टिाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक मीमबहादुर लामा, सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिओपि काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक राजनलाल श्रेष्ठले आ आफ्नो रचना वाचन गर्नुभएको थियो ।
प्रतिष्ठानका कार्यवहाक अध्यक्ष डिल्लीराम घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्षता गर्नुभयो । स्वागत उपाध्यक्ष मेदनीप्रसाद खरेल र सञ्चालन महासचिव सुशील आचार्यले धन्यवादसहित समापन गर्नुभयो ।
फोटो: देवेन्द्र खरेल