काँकरभिट्टा, फागुन ९ : झापाको मेचीनगरमा फागुन १४, १५ र १६ गते आयोजना हुने ‘कला-साहित्य उत्सव २०८१’ मा रैथाने ज्ञानविज्ञानका ज्ञातादेखि विषयविज्ञसम्मको सहभागिता रहने आयोजकहरूले जनाएका छन्। यस पटकको उत्सव ‘पर्यावरण विमर्श’ मा केन्द्रित हुने आयोजकले बताएका छन्। रिडर्स झापा ले देही आर्ट, परिवर्तन थिएटर, र मेची चरा तथा वन्यजन्तु संरक्षण समाज को सहकार्यमा पूर्वकै सबैभन्दा ठूलो बौद्धिक तथा कलात्मक मेला आयोजना गर्न लागेको हो।
छ वर्षपछि पुनः आयोजना हुन लागेको यस उत्सवमा वातावरणीय मुद्दाहरूलाई बहुआयामिक रूपमा उठाइने छ। चित्रकला, नाटक, फोटो प्रदर्शनी, विद्वत् प्रवचन र अन्तर्क्रियाका माध्यमबाट जलवायु परिवर्तन, प्रदूषण, वन्यजन्तु संरक्षण, कृषि प्रणाली, र स्थानीय जीवनशैली जस्ता विषयमा गहन छलफल गरिनेछ।
यस कला-साहित्य उत्सवमा नेपाल र भारतका ख्यातिप्राप्त वैज्ञानिक, लेखक, कलाकार तथा अभियन्ताहरू सहभागी हुनेछन्। प्रमुख वक्ताहरूमा वैज्ञानिक डा. उत्तमबाबु श्रेष्ठ, भारतीय पर्यावरण अभियन्ता सोनम वाङ्चुक, धानका रैथाने प्रजाति संरक्षणमा समर्पित वैज्ञानिक डा. देवल देब, जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती, कृषिविज्ञ डा. कृष्णप्रसाद पौडेल, भूगोलविद् डा. सबिन निङ्लेखु, नागरिक आन्दोलनका अभियन्ता डा. अनुप सुवेदी छन्। त्यस्तै, साहित्यकार तथा समालोचक डा. अर्चना थापा, चर्चित फिल्म निर्देशक मीन भाम, र सङ्गीतकर्मी झुमा लिम्बु पनि विभिन्न सत्रमा आफ्नो विचार प्रस्तुत गर्नेछन्।
पर्यावरणीय चिन्तन स्थानीय तहबाटै सुरु हुनुपर्ने मान्यता राख्दै आयोजक संस्थाहरूले उत्सवमा किसान, शिक्षक, विद्यार्थी र आम नागरिकको सहभागिता सुनिश्चित गर्न लागिपरेका छन्। स्थानीय रहनसहन, मौलिक संस्कृति र पर्यावरणीय संकटहरूलाई कलात्मक ढंगले प्रस्तुत गर्ने योजनासहित नाटक, गीत-संगीत, र प्रदर्शनीहरू आयोजना गरिनेछ।
आयोजकहरूले कुनै ठूला व्यापारिक कम्पनी वा सरकारी निकायको वित्तीय नियन्त्रण नराखी स्वतन्त्र रूपमा कार्यक्रम सञ्चालन गर्न लागेको बताएका छन्। आर्थिक सहयोग गर्ने संस्थाहरूले उत्सवको विषयवस्तु र वक्ता चयनमा हस्तक्षेप नगरेको र यसले निष्पक्ष बहसको वातावरण निर्माण गरेको आयोजकको भनाइ छ।
यो उत्सव स्थानीय कार्यक्रम मात्र नभएर समग्र देशकै लागि महत्त्वपूर्ण चिन्तन मेला बन्ने आयोजकको विश्वास छ। झापा क्षेत्रका वातावरणीय मुद्दाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसमा जोड्नुपर्ने आवश्यकता औँल्याउँदै आयोजकहरूले सञ्चारमाध्यमहरूसँग व्यापक प्रचार-प्रसारको अपिल गरेका छन्।
आयोजक संस्थाका पदाधिकारीहरू शैलेस दाहाल, सन्जु साम्पाङ, र सागर शिवाकोटी ले उत्सवलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला, सञ्चारकर्मी, तथा झापावासीलाई ऐक्यबद्धताको अपील गरेका छन्।