पठन संस्कृतिको पक्षमा उभिएका झापाका सिमीत उत्साही युवाहरुले जन्माएको रिडर्स झापाले यतिखेर निक्कै ठुलो ख्याति कमाएको छ । ‘गतिशीलताका लागि निरन्तर अध्ययन ’रिडर्स झापाको मुख्यः श्लोगन पनि हो ।
मेचीनगरको काँकरभिट्टा र धुलावारीका केही युवाहरु साताको शनिबार काँकरभिट्टा खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाको परिसरमा भेला हुने र विभिन्न श्रष्टाका कृतिका बारेमा छलफल गर्ने आफुले पढेका पुस्तकका बारेमा अन्य सहभागीलाई जानकारी गराउने गर्दथे । यसले प्रायःसवैमा अध्ययन (पढ्नु) पर्ने रहेछ भन्ने बानीको विकास समेत गरेको छ । यो छलफललाई धेरैले चिया गफ र कसै कसैले चुरोट गफ समेत भन्ने गर्दथे । आजरिडर्स झापा भनौ वा हिजोको चिया र चुरोट गफले यतिखेर स्वदेशमा मात्र होइन विदेशमा समेत आफ्नो पहिचानको आकार ठुलो बनाएको छ ।
नेपाली कला र साहित्यको विकासमा झापाको योगदान विशिष्ट छ भन्दा खासै फरक नपर्ला । कला र साहित्यको विकाशका लागि कार्य गर्ने संस्थाहरु झापामा प्रशस्त छन् । त्यस्तै कलाकार र साहित्यकारलाई पुरस्कृत गर्ने संस्थाहरु पनि धेरै छन् । झापामै बसेर पनि उत्कृष्ट रचना गर्ने साहित्यकारहरु पनि धेरै छन् । यहाँ प्रकाशन संस्थाहरु पनि छन् । प्रत्येक वर्ष झापाबाट प्रकाशित हुने पुस्तकहरुले पनि यो प्रमाणित गर्छन् । झापामा कला र साहित्य सम्बन्धी हुने ठूला कार्यक्रमले पनि विशिष्ट योगदान रहेको पुष्टि हुन्छ ।
२०६४ सालदेखि विभिन्न पेसा व्यवसाय गर्ने मेचीनगरका केही युवाहरुले शनिवारका दिन अनौपचारिक छलफल गर्ने कार्यबाट नै रिडर्स झापा संस्था निर्माण भएको हो । यो संस्था २०६९ साल फागुनमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको छ । यसको मुख्यः उद्देश्य नै पठन संस्कृतिको विकास गर्ने र यसको प्रवद्र्घनको लक्ष्य हो । यो विशुद्ध मुनाफारहित संस्था पनि हो । त्यसैले रिडर्स झापा पठन संस्कृति विकास गर्ने तथा सामाजिक जीवनका विविध विषयमाथि वैचारिक बहस गर्ने स्वतन्त्र फोरम समेत बनेको छ यतिखेर । रिडर्समा प्राज्ञ, कवि कलाकार, सायर, सांसद र संगीतप्रेमी, चित्रकार नाटककारलगायत सवै अट्ने गरेका छन् ।
शुरु शुरुमा रिडर्समा दुई चारवटा कुर्सी पनि भरिन हम्मे हम्मे हुन्थयो । पछिल्लो समयमा संयौं कुर्सीले समेतले नपुग्ने अवस्था छ । त्यही फोरमले राजधानी बाहिर पहिलो पटक वृहद कार्यक्रम आयोजना गर्ने संकल्प गर्यो । राजधानी बाहिर ठुल्ठुला कार्यक्रम आयोजना गर्नु आयोजकलाई फलामको चिउरा चपाउनु सरह हो । उत्सव स्तरका साहित्यिक र बैचारिक कार्यक्रमहरु मूलत काठमाण्डौ केन्द्रित हुने गरेका बेला सीमान्त सहर काँकरभिट्टामा यो कार्यक्रम आयोजना गर्दै गर्दा आयोजकलाई धेरै कुराको चुनौती हुन्छ भन्ने जान्दा जान्दै उस्ले तीन दिने कला साहित्य उत्सव आयोजना गर्ने दृढ संकल्पसहित अघि बढ्यो ।
रिडर्सका सदस्य दामोदर ढुंगेलको भनाइलाई सापट लिएर साहित्य र सामाजिक जीवनका विविध विषयमा निरन्तर बहस र छलफल गर्ने बानीले रिडर्स झापाका सदस्यहरुमा प्रश्न गर्ने र तर्क सुन्ने बानीको विकास हुँदै थियो । भारतको जयपुरमा ‘लिटरेचर फेस्टिभल ’ भएको हामीले सुन्यौँ । यता काठमाडौँमा पनि ‘लिटरेचर फेस्टिभल र लिटरेरी जात्रा’ दुई वटा साहित्यिक उत्सव भए । यी दुबै उत्सवमा रिडर्स झापाका तात्कालिन अध्यक्ष उज्ज्वल प्रसाई वक्ता र मोडरेटरको रुपमा सहभागी हुनुहुन्थ्यो । उहाँको अनुभव र हाम्रो उत्सुकताले काँकरभिट्टामा पनि साहित्यिक उत्सव गर्न सकिन्छ भन्ने दृढ अठोट लिएर अग्रजहरुलाई भेट्न जाँदा काँकरभिट्टा सिंगो मेचीनगर र झापा जिल्लाले दिएको हौसलाकै कारण कला साहित्य उत्सवको परिकल्पना गरियो ।
पहिलो पटक रिडर्सले २०६९ फागुन २७ देखि २९ गतेसम्म मेची सामुदायिक भवन काँकरभिट्टामा कला साहित्य उत्सव सफलरुपमा सम्पन्न गर्यो । जहाँ स्वदेशी हुन वा विदेशी मोफसलमा हुन वा राजधानीमा बसेर बिभिन्न कला र साहित्य श्रृजना गरीरहेका श्रष्टाहरुको ठुलै भीड थियो । कला साहित्य उत्सवको पहिलो संस्करणले कुनै पनि श्रष्टालाई कुनै सीमा र भूगोलले छेक्दो रहेनछ भन्ने पुष्टि पनि गरेको थियो । शायद त्यसैको सफलता होला उस्ले हरेक हरेक २÷२ वर्षमा यस्तै कार्यक्रम आयोजना गर्ने उदघोष गर्यो । उद्घोष अनुसार दोस्रो संस्करण २०७१ फागुन ९ देखि ११ गतेसम्म काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको परिसरमा सम्पन्न गर्यो ।
यी दुइवटा कार्यक्रमले राष्ट्रिय एवम् स्थानीय स्तरका सञ्चारमाध्यमहरुमा प्राथमिकता पाए । धेरैले त दुवै कार्यक्रमको भीडलाई साहित्यको कुम्भ मेलाको संज्ञा समेत दिए । हुन पनि रिडर्स झापाले मेचीनगरमै दुइ दुई पटक साहित्यको कुम्भ मेलानै लगाएको थियो । काँकरभिट्टामा राम्रै काम गरेर पनि स्वदेशमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा समेत यसको पहिचानलाई ठुलो बनाउन सकिदो रहेछ, यसको ख्यातीलाई जोगाउदैं पहिचानलाई कायम गदैं चिनाउन सकिन्छ भन्ने कुराको ज्वलन्त उदारहण पनि बन्यो दुईवर्षका तीनदिने कला, साहित्य उत्सव । उत्सवको श्लोगन नै ‘गतिशीलताका लागि निरन्तर अध्ययन ’ भन्ने भएकाले पनि अत्यन्तै महत्वपुर्ण लाभदायक बन्यो । पहिलो र दोस्रो कार्यक्रम सफलतापुर्वक सम्पन्न हुनुले नेपाली साहित्यको प्रमुख केन्द्रबिन्दु काठमाण्डौ हो भन्ने कुराको अन्त्य समेत गरिदिएको थियो । सिमित स्रोत साधनबाट काठमाडौँ बाहिर समेत उच्च स्तरीय र उपयोगी कला साहित्य उत्सव गर्न सकिन्छ भन्ने रिडर्स झापाले प्रमाणित समेत गरिदिएको छ ।
रिडर्स झापाले तेस्रो संस्करण फागुन १२ देखि १४ गतेसम्म झापाको काँकरभिट्टामा नै सफलतापूर्वक सम्पन्न गर्यो । यस्ता कार्यक्रमको मुख्य विशेषता भनेको नै लेखक र पाठकको भेट र प्रत्यक्ष हुने छलफल र अन्तक्रिया नै हो । लेखकलाई भेट्दा पाठकले आफ्ना जिज्ञासा राख्न पाउँछ । पाठक उत्साहित हुन्छन् । कला साहित्य उत्सवका अवसरमा गरिने पुस्तक प्रदर्शनीबाट प्राप्त परिणामले पनि पठन संस्कृति बढेको हो भन्न सकिन्छ । समग्रमा प्रश्न गर्ने बानी र आलोचनात्मक चेत निर्माण गर्न यस्ता कार्यक्रमहरुको ठूलो भूमिका खेल्छन् । यस कारण पनि यस्ता कार्यक्रम सवैका लागि हितकारी नै हुन्छन् । उत्सव स्तरका साहित्यिक र बैचारिक कार्यक्रमहरु मूलत काठमाण्डौ केन्द्रित हुने गरेका बेला सीमान्त सहर काँकरभिट्टामा चौथो संस्करण २०७५ फागुनमा सम्पन्न गर्यो ।
त्यही रिडर्स झापा यतिखेर यही २०८१ फागुन १४, १५ र १६ गते झापाको काँकरभिट्टा कला साहित्य उत्सवको तेश्रो संस्करणको तयारीमा जुटेको छ । रिडर्स झापाले वि.सं. २०६९ देखि हरेक दुई वर्षमा आयोजना गर्दै आएको पूर्वको सबैभन्दा प्रख्यात र उदाहरणीय चिन्तन मेला हो, कला साहित्य उत्सव । यस पटक भने कोभिड महामारी र त्यसपश्चात् भोग्नु परेको आर्थिक मन्दीका कारण ६ वर्षपछि मात्रै उत्सव आयोजना गरिएको छ । लामो अन्तरालमा आयोजित कला साहित्य उत्सव यस पटक एउटा विषयमा केन्द्रित भएको छ । रिडर्स झापा स्थानीय संस्था देही आर्ट र परिवर्तन थिएटरको सहकार्यमा उत्सवलाई पर्यावरणीय विमर्शको प्रभावकारी अनुष्ठान बनाउन सङ्कल्पित भएको छ । यस कार्यव्रmममा रिडर्स झापा, देही आर्ट र परिवर्तन थिएटरका अलावा स्थानीय स्तरमा पर्यावरण संरक्षणका क्षेत्रमा कार्यरत मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका देवेन्द्र खरेललगायत अन्य अभियन्ता पनि सव्रिmय रुपमा संलग्न हुनुहुन्छ । त्यसैले उत्सवको पाँचौँ संस्करणलाई ‘कला साहित्य उत्सव २०८१ः पर्यावरण विमर्श’ भनिएको हो ।
‘कला साहित्य उत्सव’ कला र विचारको सुन्दर सङ्गम हो । कार्यव्रmममा पर्यावरणसँग सम्बन्धित विषयमा खोज अनुसन्धान गरेका वैज्ञानिक, समाज वैज्ञानिक र कला अन्वेषकहरुको उपस्थिति हुनेछ । नेपालको बौद्धिक विमर्शमा सुपरिचित नाम डा. उत्तमबाबु श्रेष्ठ पेसा र अध्ययनका क्षेत्रमा प्रसिद्धि कमाउनु भएका वैज्ञानिक हुनुहुन्छ । कला साहित्य उत्सव २०८१ मा वैज्ञानिक श्रेष्ठले ‘पर्यावरणीय सङ्कट र नेपाल’ शीर्षकमा उद्घाटन मन्तव्य दिनुहुने छ । भारतको हिमालय क्षेत्र लद्दाखको संरक्षणका लागि आन्दोलनरत वैज्ञानिक सोनम वाङ्चुक जस्ता विद्वान् अभियानीदेखि भारतमै धानका अनेक रैथाने प्रजाति कसरी सङ्कटग्रस्त बन्दै ज्ञानमाथि औपनिवेशिक प्रपञ्च रचिँदैछ भनेर चिन्तन गर्ने अर्का वैज्ञानिक डा. देवल देब पनि कला साहित्य उत्सवको वैचारिक अन्तव्रिmयामा सहभागी हुनुहुनेलछ ।
पर्यावरणीय र जलवायु सङ्कटले वर्तमानमा निम्त्याइरहेका बाढी र पहिरो, वायु र ध्वनि प्रदूषण, महामारीलगायतका अनेक ससाना प्रलयको सामना कसरी गर्न सकिएला र त्यस्ता सङ्कटबाट बच्ने उपाय के होलान् भनेर वैचारिक छलफल गर्न आम नेपालीको स्वास्थ्यबारे सदैव चिन्तनरत रही नागरिक आन्दोलनमा समेत सव्रिmय रहनुभएका डा. अनुप सुवेदी उत्सवमा वक्ताका रुपमा उपस्थित हुनुहुन ेछ । खानपान, कृषिकर्म र जीवनशैलीबारे वैचारिक मन्थनमा सदैव उपस्थित रहनुभएकी जनस्वास्थ्य विद् डा. अरुणा उप्रेती र कृषिविज्ञ डा. कृष्णप्रसाद पौडेल पनि यस वैचारिक उत्सवमा सहभागी हुनुहुने छ । नगरका अनेकन् कहरबारे छलफलमा नगरको मानवीय भूगोलबारे अध्ययन गर्नुभएका डा. सबिन निङ्लेखु पनि उत्सवमा वक्ताका रुपमा आउनुहुने छ । मेचीनगर र यस भेगकै पहिचान उचो बनाउन सफल ‘कला साहित्य उत्सव’ मुलुककै लागि उपयोगी चिन्तन मेला हो । यो उत्सव सम्पन्न गर्न आयोजकलाई सिङ्गै समाजको साथ, सहयोग र हौसला आवश्यक हुन्छ । यसका लागि आम समाजकोे सदाशयता र सहयोग गर्नु मुख्यः दायित्व पनि हो ।