१५ असार, मेचीनगर : झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकरभिट्टास्थित भानुटोल, श्रीजंगापार्कमा राजा बलिराजको पूर्णकदको शालीक राखिएको छ । शालीकको विधिवत अनावरण भने केही दिनपछि गरीने शालीक राजा बलि, श्रीजंगा स्मारक निर्माण तथा संरक्षण समिति मेचीनगर ६ काँकरभिट्टाले जनाएको छ ।
राजा बलिराज नेपाली इतिहास र लोकसंस्कृतिमा जोडिएका विशिष्ट व्यक्तित्व हुन् । शालीक समितिकै पहलमा राखिएको समितिका अध्यक्ष हर्कबहादुर फियाक लिम्बले जानकारी दिए । पूर्वमै राजा बलिराजको यो पूर्णकदको शालीक पहिलो भएको किरात संस्कृतिका अध्येताहरुको दाबी छ । यो पार्कमा यसअघि लिम्बु भाषा, लिपिका सर्जक, अन्वेशक शहिद सिरिजङ्गाको ५ फिट २ इञ्ज अग्लो शालीक राखिएको छ । राजा बलिराजाको शालीक सोमबार राखिएको हो ।
यो पूर्णकदको शालीक गोलसिमल मुर्तिशाला, कमल गाउँपालिका वडा नम्बर ५ सावित्रा चोक झापामा मुर्तिकार भक्तिराम राईले तयार गरेका हुन् । ५ फिट ३ इञ्च उचाई रहेको यो रेजीन फाइवर म्याट २ लियर ४५० जिएसएम शालीक तयार गर्न मुर्तिकार राईलाई ठयाक्कै एक महिना लागेको बताए ।

गोलसिमल मुर्तिशाला, कमल गाउँपालिका वडानम्बर ५ सावित्रा चोक झापाबाट मेचीनगरसम्म आईपुग्दा सवै मिलाएर समितिको झण्डै चार लाख रुपैयाँ खर्च भएको बताइएको छ । बाकी रकमले शालीक राख्ने वरिपरी ग्रील लगाउने, टायल्स र मार्वल विछछयाउनेदेखि अन्य काम भएको छ ।
श्रीजंगापार्कमा शालीक राखिएसँगै यो पार्क अब आन्तरिक एवम् बाह्य पर्यटकका लागि आर्कषकको केन्द्रविन्दु बन्ने विश्वास व्यक्त गरिएको छ । सोमबार शालीकमा बसेर फोटो खिच्नेदेखि टिकटक बनाउँने सम्मको भीड निक्कै ठूलो देखिएको थियो ।
पार्क नजीकै गगनचुम्बी भवनहरु, नजीकको स्वास्थ्य चौकीअनि बौद्ध धर्ममार्गीहरुको आस्थाको धरोहर टासी क्षोलिङ गुम्बा रहेका छन् । राजा बलिराजको यो पूर्णकदको शालीक राखेपछि त यो स्थान झनै मनमोहक र आर्कषक देखिएको छ ।
राजा बलिराज अत्यन्तै दानी, ज्ञानी र परोपकारी थिए । राजा बलिराजको यो पूर्णकदको शालीकले पनि यसलाई पुष्टि गर्दछ । किन भने शालिकमा उनले हातमा समाएको नाङ्गलोभरि सिक्का पैसा, कलस र दियोसहित बोकेर कसैलाई दान गर्न लागेको स्पष्ट अनुमान गर्न सकिन्छ । राजा बलिराजको शासनकाललाई जुम्ला क्षेत्रको ऐतिहासिक समृद्धिको युग मानिन्छ । बलिराज जुम्लाको राजा भएपछि नै जनताको घर–घरमा गएर भैलो (खसानी भैलो) खेल्ने प्रचलनको सुरुवात भएको मानिन्छ ।
यिनी मुख्यतया जुम्लाको कल्यालवंशी राज्यका प्रथम राजा मानिन्छन् जसले करिब ६०० वर्षअघि खस राज्यकालमा शासन गरेका थिए । इतिहासविद्हरूका अनुसार जुम्लाका कल्यालवंशी राजा बलिराज रावल देउसीभैलोमा भट्याइने राजा बलिराजा हुन् । लोकविश्वास र परम्परामा उनलाई हिरण्यकशिपुका पनाति, प्रह्लादका नाति र विरोचनका पुत्रका रूपमा पनि लिइन्छ । जुम्लामा ६०० वर्षअघि खसानी भैलो सुरु भएको ऐतिहासिक तथ्य पाइन्छ । नेपाली तिहारमा गाइने ’देउसी–भैलो’ गीतमा यिनै राजाको स्मरण गरिन्छ ।