मेचीनगर | रोजगारीको अवसर खोज्दैं विदेशिने नेपाली युवाहरुको लहर्काे नेपालमा ठुलै छ । चर्काे व्याजदरमा ऋण काढेर विदेशिएका कतिको दिन त फर्के पनि वैदेशिक रोजगारकै कारण धेरैजनाको घरवार समेत विग्रीएका समाचारहरु बेला बेला आउने गरेका छन् ।
कुनै सीप नै नसिकी विदेश जाने र त्यहाँ प्रश्स्त हण्डर खाएर फर्केका नेपाली युवाहरुको कथा पनि अत्यन्तै कहाली लाग्दो छ । तर हातमा सीप भए पैसा कमाउन न विदेशिनुपर्ने न बेरोजगार नै बस्नु पर्ने । यस्तै उदारहणिय पात्रहरु हाम्रै गाउँ समुदायमा प्रश्स्त भेटिन्छन्
झण्डै १३ वर्षजति विदेश बसेर नेपाल फर्किनु भएका झापा मेचीनगर -६ काँकरभिट्टाका ४८ वर्षीय बाबुराम कार्कीको अहिले विदेशको जति कमाई आफ्नै गाउँठाउँमा छ । भारत पश्चिम बंगाल राज्यको शिलगुडी क्याम्पसमा पढ्दा पढ्दै विभिन्न सीप सिक्नुभयो उहाँले । साँझ पख क्याम्पस जाने र दिनभरि विभिन्न वर्कसोपमा काम सिक्न जानु उहाँको दैनिकी नै थियो । त्यसपछि नेपाल काँकरभिट्टा फर्किनुभयो उहाँ र शुरु गर्नुभयो व्यवसाय । फ्रिज, ग्यास चुह्लो, एसी, राइस कुकर, मिक्चर, वाटर डिस्पेन्सरलगायतका सामान मर्मत गर्नकै लागि कूलिङ सेन्टर काँकरभिट्टा नामको व्यवसायिक फम दर्ता गरेर ५० हजार रुपैयाँबाट व्यवसाय शुरु गर्नुभयो ।
केही समय पछि देशको राजनीतिक परिस्थिती र लोडसेडिङ्गका कारण व्यवसाय चौपट्ट भयो र सन् २००४ मा व्यवसाय नै बन्द गरी विदेश भासिनुभयो उहाँ । तत्कालीन माओवादीको सशस्त्र द्वन्द्व लगायत अन्य धेरै कारणले आफु वैदेशिक रोजगारीका लागि साउदी पुगेको उहाँको भनाई छ । ‘बिदेसिनु मेरो रहर नभई बाध्यता थियो उहाँले भन्नुभयो । साउदीमा ७ वर्ष ६ महिनाजति बसेर स्वदेश फर्किनु भएका कार्की ७ महिना पछि फेरि कतार हानिनुभयो । ५ वर्ष ५ महिना उहाँले कतारमा परिश्रम गर्नुभयो ।
विदेशमा उहाँको कमाई राम्रै थियो । तर, पैसाले मात्र उहाँलाई आत्मसन्तुष्टि दिएन । बरु आफ्नै देशमा फर्केर केही गरौं भन्ने इच्छा जाग्यो । क्रमस नेपालमा विभिन्न परिस्थितीहरुमा सुधार आयो । अनि सन् २०१७ नोभेम्वरमा उहाँ पुनः स्वदेश फकिनुभयो । केहि महिनाको अन्तरालपछि सन् २०१८ जनवरी १ मा उहाँ आफ्नो पुरानै व्यवसायमा फर्कनुभयो । लगानी गर्न सक्ने हो आम्दानी पनि राम्रै हुने देखेको यो व्यवसाय र सोच अहिले फलिफाप भएको छ । यो व्यवसायबाट राम्रै आम्दानी भएको छ । यो व्यवसायबाट निक्कै सन्तुष्ट हुनुहुन्छ उहाँ । हजारबाट शुरु भएको व्यवसायले उहाँलाई अहिले लखपति बनाएको छ । यिनै घरायसी साधनहरू बनाएर हुने आम्दानीले घर खर्चपछि सामान्य बचत हुन्छ, उहाँको परिश्रमले समयअनुसारको आम्दानी भए पछि आफ्नो सीपको प्रयोग भएकामा खुसी हुनुहुन्छ कार्की । आफ्नै सीपको सदुपयोग गरेर परिवार पाल्नेजुन समय विदेशमा विताउनुभयो अहिले उहाँलाई केही पश्चताप छ ।
विदेश बसेको समयभरि नेपालमै केही गरेको भए अहिलेसम्म आर्थिकपक्ष निक्कै मजवुत हुने कार्की बताउनुहुन्छ । विदेशमा नेपाली कामदारलाई गरिने व्यवहार र त्यहा काम गर्दाको पीडा सम्झिदा उहाँको चसक्क मन दुःख्छ । मासीक ४० देखि ५० हजार रुपैयाँ अहिले कार्कीको कमाई छ । यसैको कमाइबाट आएको रकमले एकजना छोरोलाई उच्च शिक्षाका लागि काठमाडौंको नाम चलेको कलेजमा भर्ना गरेको उहाँको भनाई छ । उहाँलाई परिवारले निक्कै साथ सहयोग गरेको छ । आफ्नै घर भएकाले वहाल तिर्न कुनै समस्या छैन कार्कीलाई । ‘विदेश रहँदा राम्रै पैसा कमाइयो तर त्यत्तिले मात्रै मन भरिएन र स्वदेश फर्किएँ उहाँले भन्नुभयो ।’ परिवारको साथ सहयोगले आफुलाई व्यवसाय गर्न थप हौसला मिलेको उहाँले बताउनुभयो ।
विदेशमा आफुले गरेको कामको अनुभव सुनाउदै कार्कीले विदेशमा गएर पसिना बगाएर दैनिक १८ घण्टा काम गर्नु पर्ने बाध्यता रहेको सुनाउदै काम अनुसारको ज्याला पनि नपाएरै स्वदेश फर्किनु परेको अवस्था अझै पनि छ । उहाँले भन्नुभयो आफ्नै देशमा कुनै सीप कलाबाट केही गर्न पर्छ भन्ने भावना जागेको छ । युवा जति रोजगार खोज्दैं विदेश जाने अनि स्वदेशमा कामदारको अभाव भएर खेतीवारी बाझै रहने उहिल्येको समसया अहिलेसम्म ताजै छ । व्यवसायमा धैर्य चाहिने उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ— ‘आत्मविश्वास, लगनशीलता र इमानदारिता नै सफलताको हतियार हो ।’ पहिला–पहिला के काम गर्न लाग्यो भन्नेहरु अहिले कार्कीको सफलता देखेर छक्क पर्छन् । कुनै पनि काम गर्न लाज मान्न नहुने अनुभव र तर्क छ, उहाँको । विदेश जान लगानी गर्ने पैसाले स्वदेशमै धेरै गर्न सकिने उहाँको भनाइ छ ।
विदेश छाडेर स्वदेश फर्केकोमा उहाँलाई कुनै पछुतो छैन । जुन आनन्द विदेशमा थियो, त्योभन्दा बढी सन्तुष्टि अहिले उहाँलाई स्वदेशमा मिलेको छ । परिवारसँगै बसेर व्यवसाय गर्न पाउँदा मन खुसीले गदगद हुन्छ । नयाँ प्रविधि र सीप भए गाउँमै गतिलो आम्दानी गर्न सकिने उहाँको बुझाइ छ । नेपालमा रोजगारीको अवसर नपाएको भन्दै रोजगारीको सिलसिलामा विदेशीएका युवाहरुले विदेशबाट फर्किएपछि आफ्नै गाउमा केही गर्न सक्छन भन्ने गतिलो उदारहण पनि हो उहाँको व्यवसाय ।
बिगतका समयहरुमा स्वरोजगारका उपायहरु अवलम्बन गर्नका लागि आर्थिक आवश्यकता पूर्ति हुने माध्यम नपाएपछि विदेशीएका युवाहरु अहिले आफ्नै कमाईबाट स्वदेशमा केही गर्न चाहान्छन यसमा उनीहरुलाई आवश्यक साथ सहयोग राज्यले दिनुपर्छ ।