मेचीनगर | झापाको मेचीनगरमा शुक्रबार सम्पन्न एक कार्यक्रमका सहभागीहरुले काँकरभिट्टा नाका भएर नेपाल प्रवेश गर्ने जो कोहिलाई पनि पीसीआर रिपोर्टका आधारमा सोझै सावर्जनिक सवारी साधनमा आवात जावत गर्न दिनुपर्नेमा जोड दिएका छन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाले कार्यालय परिसरमा १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको उपस्थितीमा सरोकारवाहरुसँग गरेको अन्तरक्रियामा बोल्ने अधिकाँशले यो नाकाबाट नेपाल प्रवेश गर्र्ने सर्वसाधारणले होल्डिङ्ग सेन्टरको नाममा अनावश्यक सास्ती व्यहोर्नु परेको भन्दैं यसको अन्त्यका लागि पहल गर्नुपर्ने समेत बताए ।
होल्डिङ्ग सेन्टरबाट जाने यात्रुले प्रचलित भाडादरभन्दा दोब्बर भाडा तिर्नुपरेको, पीसीआर रिपोर्ट आउन ढिला भएका कारण अनावश्यकरुपमा होटलमा बस्नु परेकाले यसको अन्त्य सुरक्षाका मापदण्ड पुरा गरी सहजरुपमा उनीहरुलाई गन्तव्यसम्म पुग्ने वातावरण मिलाउन समेत सहभागीले जोड दिए । अन्तरक्रियामा बोल्दैं १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले देशका अन्य नाकाबाट जसरी आवतजावत भईरहेको छ पूर्वी नाकामा समेत त्यस्तै हुनुपर्ने बताउनुभयो । उहाँले भारत तथा अन्य मुलुकबाट नेपाल आउने जो कोहिलाई पनि पीसीआरको रिपोर्टका आधारमा काँकरभिट्टा बसपार्क प्रवेश गर्न दिएर सार्वजनिक सवारी साधन प्रयोग गर्न दिने वातावरणका लागि पहल गर्ने बताउनुभयो ।
उहाँले मेचीपुलमा स्वास्थ्यकर्मीको टोली राखेर स्वास्थ्य परीक्षण गरी उनीहरुको सवै विवरण राखी नेपाल प्रवेशमा सहज गराउन गृहमन्त्रालयमा समेत आफुले कुरा गर्ने १ नम्बर प्रदेश सभा सदस्य मैनालीले बताउनुभयो ।
नेकपा जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरेले होल्डिङ्ग सेन्टरको नाममा ठगीधन्दा चलेको भन्दैं होल्डिङ्ग सेन्टर तत्काल हटाउन माग गर्नुभयो । होल्डिङ्ग सेन्टर यथावत रहेको यात्रुले दुई थरीको भाडा दर तिर्न बाध्य हुनु परेका कारण यस्तो समस्याको समाधान र होल्डिङ्ग सेन्टरको नाममा भएको विकृतिविसंगति नियन्त्रण गर्न पनि होल्डिङ्ग सेन्टरको विकल्प खोज्नुपर्ने उहाँको जोड थियो । कानुन कार्यान्वयन गराउने पक्ष नै फितलो भएका कारण पुर्वीनाकामा यो समस्या आएको नेता घिमिरेको भनाई थियो ।
अन्तरक्रियाका सहभागीहरुले यी लगायत धेरै कारणले काँकरभिट्टा नाकाको बद्नाम भएकाले यस्तो काम तत्काल रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए । उनीहरुले निजी सवारी साधनले समेत यात्रु बोकेर हिड्दा सम्बन्धित निकाय मुकदर्शक भएकोमा आक्रोस पोखेका थिए । कालो नम्बर प्लेटका भाडाका सवारी साधनले मात्र यात्रु बोक्न पाउने कानुनमा प्रष्ट हुदाँ हुदैं रातो नम्बर प्लेटका निजी सवारी साधनले समेत यात्रु बोक्ने गरेकाले सार्वजनिक सवारी साधन मारमा परेकाले यो क्रमलाई नियन्त्रण गर्नुपर्नेमा उनीहरुको जोड थियो ।
छलफलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, यातायात व्यवस्था कार्यालय झापाका कार्यालय प्रमुख कृष्णप्रसाद पौडेल, मेचीनगर नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडा सदस्य देवीप्रसाद सुवेदी ,पुर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, सदस्यहरु गोकुल ढुगेंल, दीपक तामाङ, पुर्वी नेपाल यातायात व्यवसायी प्रालिका अध्यक्ष केशव गिरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका झापाका टंक दवाडी, सुनौलो संयुक्त यातायात व्यवसायी अध्यक्ष भुपाल ओली, मेचीनगर होटल व्यवसायी संघका अध्यक्ष सुरेश श्रेष्ठ, ट्राभल संघ झापाका विजय सुवेदी, नेपाली काँग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, जनता समाजवादी पार्टीका दिनेश राई, सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टाका सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राई, अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाका ट्राफिक प्रहरी नायव निरीक्षक कृष्ण प्रधान, प्रहरी सहायक निरीक्षक सुमित साहलगायतले आ आफ्नो धारणा राख्नु भएको थियो ।