एकपटक भगवान् बुद्ध एउटा गाउँमा पुग्दा एकजना गाउँलेले सोधे ‘भगवान् मानव जीवनको मूल्य कति हो ?’ जिज्ञासा सुनेर बुद्ध एकैछिन मौन भए र एउटा चम्किलो पत्थर उनको हातमा दिदै भने ‘बजारमा जाऊ र यसको मूल्य पत्ता लगाएर आऊ । तर बेच्न चाहिँ नबेच ।’
गाउँले सन्तोला व्यापारी कहाँ पुगे । उनले व्यापारी सित त्यस पत्थरको मूल्य सोधे । व्यपारीले त्यो पत्थर हेरेर त्यसका लागि १२ वटा सुन्तला दिने बतायो । त्यसपछि उनले तरकारी व्यापारीलाई भेटे । उसले त्यसका लागि एक बोरा आलु दिने बतायो । त्यसपछि उनी सुनार कहाँ पुगे, सुनारले ४ हजार सुवर्णमुद्रा दिन सक्ने बतायो । त्यसपछि उनी जौहरी कहाँ पुगे । जौहरीले त्यस रत्नलाई रातो सफा कपडामा राख्यो, तिनपटक परिक्रमा गरेर ढोग्यो । उसले भन्यो ‘तपाईंले यो रत्न कहाँबाट ल्याउनुभयो ? सिंगो दुनियाँ बेचेर पनि यसको मूल्य चुकाउन सकिन्न । यो अमूल्य छ ।’
व्यापारीको जवाफ पछि उनी बुद्ध कहाँ फर्किए । उनले सबै विवरण सुनाएर भने, ‘भगवान् अब त भन्नुहोस् मनुष्य जीवनको मूल्य कति हो ?’ बुद्धले हल्का मुस्कुराउँदै भने‘ ‘सुन्तलावालाका लागि पत्थरको मूल्य १२ सुन्तला, तरकारीवालाका लागि १ बोरा आलु, सुनारका लागि ४ हजार स्वर्णमुद्रा र जौहरीका लागि अमूल्य । अब यसैबाट तिमी आफ्नो जीवनको मूल्य पत्ता लगाऊ । तिमी पक्कै हिरा हौ । तर तिम्रो मूल्य हरेक व्यक्तिले आ–आफ्नो सामथ्र्य अनुसार तोक्छ ।’

























