कौरव सेनाको पक्षमा लागेर पनि कर्ण धर्मनिष्ठ योद्धा थिए । श्रीकृष्णले उनको प्रशंसा गर्थे । महाभारत युद्धमा कर्ण अर्जुनको वध गर्न चाहन्थे । उनको संकल्प पूरा गर्न खाण्डव बनको महासर्प अश्वसेन, जो अर्जुनलाई मार्न चाहन्थ्यो, एउटा वाणको रुप लिएर कर्णको ठोक्रामा प्रवेश गर्यो । सामान्य अवस्थामा अर्जुनलाई डस्ने अवसर नपाएको हुनाले ऊ कर्णको वाणका रुपमा अर्जुनसम्म पुगेर उनको प्राण हरण गर्न चाहन्थ्यो । अर्जुन र कर्णको घमासान युद्धमा दुवैतिरबाट अनेकौं वाण चले । यस क्रममा कर्णले थाहै नपाइ अश्वसेनवाला वाण पनि चलाए । अर्जुनका सारथी बनेका कृष्णले यस वाणको भयानकता बुझेका थिए । त्यसैले उनले योगबलले घोडालाई जमिनमा बसाइदिए । जसले गर्दा वाणले अर्जुनको मुकुट मात्र भेदन गर्यो ।
यस असफलताबाट अश्वसेन क्षुब्ध भयो । ऊ कर्णसामु पुगेर भन्यो, ‘हे महावीर कर्ण अब फेरि एकपटक मलाई सावधानीपूर्वक चलाउनुहोस्, यसपटक म जसरी भएपनि अर्जुनको प्राण हरण गरेरै छाड्नेछु । मेरो बिषबाट ऊ जीवित रहन सम्भव छैन ।’ अश्वसेनको कुरा सुन्दा कर्ण आश्चार्यमा परे, उनले सोधे, ‘हे अपरिचित नागदेवता तपाईं को हुनुहुन्छ र किन अर्जुनलाई मार्न चाहनुहुन्छ ?’ अश्वसेनले भने, ‘म परिवारसहित खाण्डव बनमा बस्ने नाग अश्वसेन हुँ । अर्जुनले खाण्डव वन जलाएर मेरो परिवारका सबैको प्राण हरण गरे । त्यसैले म त्यसैको बदला लिन तपाईंको ठोक्रामा वाणको रुपमा आएको हुँ । अब म तपाईं र मेरो साझा शत्रुको बध गरेरै छाड्ने छु ।’ कर्णले भने ‘हे नाग देवता तपाईंको यो विचारप्रति आभारी छु । तर मलाई नीतियुद्ध नै लड्न दिनुहोस् । किनकि म अर्जुनलाई अनीतिपूर्वक वध गर्न चाहन्न । अनीतिपूर्वक जीत हासिल गर्नुभन्दा त युद्धभूमिमा मर्नु नै निको हो ।’
कर्णको कुरा सुनेपछि अश्वसेन निराश भएर फर्किए । जाँदा जाँदै उनले कर्णको धर्म निष्ठाको प्रशंसा गर्दै भने, ‘महावीर कर्ण तपाईंको धर्म निष्ठा नै सत्य हो यसमा अनीतियुक्त पूर्वाग्रही छद्म युद्धको कुनै स्थान छैन ।’