१३ कार्तिक, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवासँग बेलायतको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्यहरू स्वराज पल, लर्डस शेख र लेडी शेखले भेटवार्ता गरेका छन्।
लन्डनस्थित नेपाली दूतावासमा शनिबार बिहान भएको भेटमा उनीहरूले प्रधानमन्त्री देउवाको कार्यकालमा नेपाल–बेलायत सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले बताए।
उनीहरू द्विपक्षीय सम्बन्धका जानकार तथा चिरपरिचित बेलायती सांसदहरू हुन्। प्रधानमन्त्री देउवासँगको भेटमा उनीहरूले नेपाल र बेलायतको सम्बन्ध सुदृढ गर्न आफूहहरूको सबै प्रकारको सहयोग सदभाव् रहिरहने विश्वास दिलाए। उनीहरूले बेलायतको संसदमा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आएका छन्।
सो अवसरमा प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्धलाई प्रबर्द्धन गर्ने धारणा व्यक्त गर्दै बेलायत सरकारले नेपाललाई गर्दै आएको सहयोगको सराहना गरे। भेटमा नेपालका तर्फबाट वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, परराष्ट्र सचिव पौड्याल, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायतको सहभागिता थियो।
नोभेम्बर १ र २ मा बेलायतको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रबार राति लण्डन आइपुगेका हुन्।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार लन्डनमा रहेर विभिन्न भेटवार्ता तथा कार्यक्रममा व्यस्त रहने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
काठमाडौँप्रेसबाट