२४ कार्तिक, काठमाडौँ : बिहीबारदेखि सञ्चालन हुने १२ औं राष्ट्रिय जनगणनाको तयारी पूरा भएको छ। जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
बिहीबार विहान ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरी जनगणनाको शुरुवात गरिने भएको छ। त्यसपछि गणकहरु बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा पुग्ने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए।
१२ औं जनगणनाका लागि ८० वटा प्रश्न तयार पारिएको छ। यी प्रश्नको जवाफ लिन गणकलाई एउटै घरमा करिब करिब ३० मिनेट लाग्ने छ।
जनगणनामा खटिनेलाई सहजीकरण गर्नका लागि देशभर ८ हजार ५ सय जना सुपरीवेक्षक खटाइएको विभागले जनाएको छ। यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग भएको छ ।
गणनामा कुल २ हजार २ सय ५० वटा ट्यावलेट प्रयोग हुने तथ्यांक विभागको भनाइ छ। एक जना गणकले औसतमा १५ दिनमा १७५ परिवारको गणना गर्नुपर्ने छ। जनगणनाको तथ्यांक संकलन १५ दिनभित्रै सक्नुपर्ने छ।
४ अर्ब खर्च लाग्ने
मेरो गणना मेरो सहभागिता भन्ने मूल नाराका साथ सुरु भएको १२ औं जनगणनाका लागि ४ अर्ब रुपैयाँ खर्च हुने महानिर्देशक श्रेष्ठले बताए। गणक सुपरिवेक्षणका लागि १ अर्ब ६० करोड खर्च हुने भएको छ । बाँकी अन्य तयारीका लागि खर्च हुने महानिर्देशक श्रेष्ठको भनाइ छ।
लिपुलेक लिम्पियाधुरामा अनुमानित जनगणना
केन्द्रीय तथ्यांक विभागले दार्चुला जिल्लाको अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना अनुमानको आधारमा गर्ने भएको छ।
भारतले जनगणनाका लागि अनुमति नदिए अनुमानको आधारमा गणना गर्ने महानिर्देशक श्रेष्ठले बताए। भारतले अनुमति दिए हामी गणक नै परिचालन गर्छौं, श्रेष्ठले भने, कुटनीतिक पहल हुन सकेन भने अनुमानका आधारमा गणना गर्नुपर्ने हुन्छ।’
अन्य स्रोतमा आधारित रहेर गरेको प्रक्षेपणमा लिपुलेक-लिम्पियाधुरा क्षेत्रमा ७ देखि ८ सय जनसंख्या रहेको अनुमान गरिएको छ।