२५ कात्तिक मेचीनगर : नेपालीहरु रोजगारीका लागि दैनिक सयौंको संख्यामा भारततर्फ जाने गरेपनि बिभिन्न उद्योगमा काम गर्न धेरै भारतीय भने रोजगारीका लागि वर्षेनी नेपालमा आउने गरेका छन् ।
नोवल कोरोना भाईरस ‐कोभिड १९) को संक्रमण न्यूनीकरणका लागि सरकारले जारी गरेको लकडाउनसँगै उद्योग धन्दा तथा कलकारखानाहरु ठप्प भएपछि घर फर्केका नेपालका इँटा उद्योगमा कार्यरत भारतीय मजदुर पुनः नेपाल आउन थालेका छन् । भट्टाको अधिकाँश काम दशैं तिहारपछि सुरु भएर बर्खा अगावै सकिन्छ । इँटा बनाउने समय पुसदेखि वैशाखसम्म उत्तम मानिने भएका कारण यसबीचमा धेरै काचो इँटा बनाउने गरिन्छ ।
कोरोना र सीमा बन्दका कारण भारतबाट मुजदुर आउन नपाउँदा सबै भट्टा बन्द छन् । यहाँका भट्टामा काम गर्दै आएका भारतीय मजदुरलाई लकडाउनको समयमा फिर्ता पठाएको थियो ।
भारतीय कामदारलाई त्यसवेला उद्योगी तथा स्थानीय प्रशासनको समन्वयमा घर फर्काइएको थियो । आ–आफ्नो स्वदेश फर्कन चाहने भारतीय कामदारहरुका लागि तीनै तहबिचको समन्वयकारी भुमिकाको आधारमा उनीहरु स्वदेशः फर्किएका थिए । मजदुरको पीसीआर परीक्षण गरेर ल्याउन भट्टावालाले स्थानीय प्रशासन प्रमुख र प्रदेशका मुख्यमन्त्रीलाई पटकपटक आग्रह गरेका थिए ।
केही दिनयतादेखि नेपाल—भारतका सीमानाकाबाट आवतजावतमा सहज भएसँगै भारतीय मजदुरहरु काममा फर्कन थालेका हुन् । नेपालको पूर्वी नाका काँकरभिट्टा भएर नेपालका विभिन्न इँटा उद्योगमा कार्यरत भारतीय मजदुरहरु अहिले हुल का हुल नेपाल आउन थालेको नाकामा तैनाथ सुरक्षाकर्मीको भनाई छ । उनीहरुका अनुसार नेपालका इँटा भट्टामा कार्यरत भारतीय मजदुर अहिले दैनिक संयौंको संख्यामा घरका सवै सदस्यसहित कुखुरा, बाख्रासमेत लिएर नेपाल प्रवेश गर्न थालेका छन् ।
नेपालको काँकरभिट्टा भारतको पश्चिम वंगाल राज्यको पानीट्याँकी रानीगञ्ज नाकासँग जोडिएको छ । लकडाउनका कारण १ नम्बर प्रदेशका सञ्चालनमा रहेका विभिन्न इँटा उद्योगका दैनिक ज्याला मजदुर गर्ने श्रमिकहरु विशेषगरी दैनिक ज्यालादारीमा इटा भट्टामा काम गर्ने श्रमिकहरु मारमा परेको भन्दै घर फर्किएका थिए । लकडाउनको कारण काम ठप्प थियो । सरकारले जारी गरेको लकडाउनसँगै इँटा बनाउने काममा पनि बन्द भयो । त्यही भएर उनीहरु सवै आ–आफ्नो घर फर्किएका थिए ।
नेपालका विभिन्न जिल्लामा सञ्चालनमा रहेका अधिकांश इँटा उद्योगहरु भारतीय मजदुरको भरमा चलेका छन् । इँटा उद्योगमा काँचो इँटा बनाउने, इँटा बोक्ने र भट्टामा काम गर्ने अधिकांश मजदुर भारतीय छन् । नेपालका इँटा भट्टामा कार्यरत मजदुर मध्ये दुइ तिहाई भन्दा बढी भारतीय हुने गरेका छन् । स्वदेशी मजदुरले इँटा बनाउन, पकाउन र स्क्रिन गर्न नजानेका कारण भारतीय मजदुर नै आवश्यक पर्ने व्यवसायीहरुको भनाई छ ।
व्यवसायीले साउनमा भारतको पश्चिम बंगाल पुगेर मजदुरलाई बैना दिएर फर्कन्थे । त्यसपछि उनीहरु असोजमा आएर इँटा बनाउन थाल्दा मंसिर अन्तिम देखि जेठसम्म नयाँ इँटा निस्कन्थ्यो । अहिले इँटा भट्टामा काम गर्नका लागि भारतीयहरु झिटीझम्टा बोकेर नेपाल आउने गरेका छन् । कुनै पनि भट्टाले यसपालि नयाँ इँटा उत्पादन गर्न सकेका छैनन् । मजदुर अभावले नयाँ इँटा उत्पादन बन्द भएको भन्दै व्यवसायीले इँटाको मूल्य प्रतिगोटामा दुईदेखि तीन रुपैयाँसम्म बढाएकाले विकास निर्माणका योजना समेत प्रभावित भएको छ ।
रोजगारीका लागि छिमेकी मुलुक भारतका विभिन्न राज्यबाट इँटा उद्योगमा काम गर्न आएका मजदुरहरु लकडाउनका कारण उद्योगमा नै खालि हात दिन बिताउन बाध्य भएपछि घर फर्केका मजदुर रोजगारीको शिलशिलामा पुनः नेपाल आउन थालेका छन् ।