मंसिर १६, काँकरभिट्टा
प्रेस क्लब मेचीनगरले स्वतन्त्रतापूर्वक समाचार संकलनमा रहेका पत्रकारहरुलाई अन्धाधुन्ध आक्रमण गरी घाइते बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
क्लबले प्रेस विज्ञप्ती जारी गर्दै मंगलवार दमकमा प्रेस क्लब मेचीनगरका सदस्य तथा अनुसन्धान अनलाईनका सञ्चारकर्मी खगेन्द्र घिमिरे र केही दिनअघिमात्र न्यूज २४ टेलिभिजनका झापा संवाददाता राजु पौडेलमाथि भएको आक्रमणको भत्सर्ना गर्दै दोषीलाई कानुनी कारवाहीको मागसमेत गरेको छ ।
क्लबकातर्फबाट अध्यक्ष लक्ष्मी उप्रेती र सचिव जीआर धितालले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरे पनि कर्मचारीहरुको यस्ता गतिविधीले व्यवहारमा पूर्ण प्रेस स्वतन्त्रताको धज्जी उडाएको छ ।
प्रेस स्वतन्त्रताको व्यवहारमा कार्यान्वयनको लागि संचारमाध्यम र संचारकर्मीलाई भयरहित वातावरणमा समाचार संकलन र संप्रेषणको व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग आग्रह गर्दै क्लबले घटनामा संलग्न व्यक्तिहरुका बारेमा अनुसन्धान गरि यस्तो निन्दनीय कार्य गर्ने कार्यालयका कर्मचारीलाई तत्काल निष्कासन गरी कारबाही गर्न जोडदार माग गरेको छ ।
घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर बन्न सरोकारवाला निकायको क्लबले ध्यानाकर्षण गराएको छ ।