२७ वैशाख, काठमाडौँ : शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार मध्यरातदेखि मौन अवधि शुरु हुँदैछ। मौन अवधि शुरु हुन लाग्दै गर्दा शीर्ष नेताहरूले देशव्यापी चुनावी दौड तीव्र बनाएका छन्।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पछिल्लो एक सातादेखि चुनावी प्रचारमा दौडिरहेका छन्।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि पछिल्लो समय चुनावी मैदानमा दौडिरहेका छन्।
शीर्ष नेताहरू आफ्नो पार्टीको चुनावी माहोल बनाउन लाग्दै गर्दा पाँचदलीय गठबन्धनबाट चुनावी मैदानमा होमिएका प्रचण्ड-माधव भने आशंकित छन्।
०७४ सालमा एमाले र माओवादी केन्द्र एकता गरेर चुनावमा होमिएका प्रचण्ड–माधव अहिले आ-आफ्नो पार्टीसहित चुनावी दौडमा छन्। प्रचण्डले माओवादी केन्द्रलाई निरन्तरता दिएको भएकाले थोरै सहज भएपनि माधव नेपाललाई ठूलो चुनौती छ।
एमालेबाट विद्रोह गरेर पहिलो पटक चुनावी मैदानमा होमिएका नेपालको पार्टीलाई यो निर्वाचन अग्निपरीक्षाको रुपमा खडा भएको छन्। त्यसो त कांग्रेसभित्र चर्को असन्तुष्टिलाई चिर्दै सभापति देउवाले गठबन्धन जोगाएको भएकाले अझै प्रचण्ड–माधव ढुक्क हुन सकेका छैनन्।
कांग्रेसको आडमा चुनावी मैदानमा होमिएका प्रचण्ड–माधवलाई आफ्नो पार्टीको रक्षा गर्दै ओलीलाई कमजोर पार्ने स्वार्थ जोडिएको छ। यता, देउवालाई पनि ०७४ सालको निर्वाचनमा झैँ माओवादी र एमाले मिलेर कांग्रेसलाई एक्लै पार्ने भयले गाँजेको छ।
गठबन्धनमा ६ महानगर र ११ उपमहानगरको भागबण्डा टुंग्याएर देश दौडाहामा गठबन्धन निस्कनुअघि नै एमालेलाई चुनावी माहोलले छपक्कै छोपेको थियो।
गठबन्धनको चुनावी सभामा कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवदेखि चित्रबहादुर केसीसम्म देखिए।
तर कांग्रेसको असन्तुष्ट खेमाका नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापालगायत नेताहरू गठबन्धनको संयुक्त चुनावी सभामा देखिएनन्।
प्रचण्ड–माधव आशंकित
कांग्रेस नेताहरू गठबन्धनको विरोधमा बोल्दै गर्दा माओवादीका अध्यक्ष प्रचण्ड आक्रामक देखिएका थिए।
प्रचण्डले भरतपुरमा गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै भनेका थिए, ‘०७४ को निर्वाचनमा रुख वालाले हँसिया हथौडामा भोट हाल्न गाह्रो मानेको देखियो। गठबन्धनलाई १०/१५ वर्ष लाने शेरबहादुरजीसँग सहमति भएको थियो। तर मैले सहज देखिनँ। भोट ट्रान्सफर गर्न चितवनका जनतालाई गाह्रो भयो।’
उनले आफूलाई एकतर्फबाट गतिशील र अर्कोतिरबाट अस्थिर देख्ने गरेको पनि बताए।
‘मेरै हिसाबले भन्नुहुन्छ भनेर मैले प्रधानमन्त्री छाडेर शेरबहादुरजीलाई प्रधानमन्त्री बनाएको थिएँ। उहाँले मलाई राजनेता जन्मियो भनेकै केही दिनमा गठबन्धन फेरे भन्नुहुन्छ। तपाईंहरूले अहिले पनि गठबन्धन राष्ट्रिय आवश्यकता हो भनेर हँसिया हथौडामा भोट भन्नुभएन भने देश दुर्घटनामा जानसक्छ‚’ प्रचण्डले चेतावनी दिँदै भनेका थिए।
त्यति मात्रै नभएर गठबन्धनप्रति प्रचण्डले सोमबार कैलालीमा पुगेर पनि कांग्रेसप्रति आशंका व्यक्त गरे।
‘गठबन्धन अझै प्रस्ट भएको देखिनँ। यहाँ (कैलारी गाउँपालिका) का हाम्रो पार्टीका उम्मेदवारलाई जुनसुकै रूपमा भए पनि जिताउन अपिल गर्न चाहन्छु। यहाँ कांग्रेसको कसैले उम्मेदवारी दिएको छ, यो खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्छ। हाम्राविरुद्ध कुनै खालका धोका, बेइमानी र षड्यन्त्र स्वीकार्य छैन‚’ प्रचण्डको भनाइ थियो।
यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि कांग्रेसप्रति आशंका व्यक्त गर्दै शक्तिशाली भएको दम्भ नदेखाउन चेतावनी दिएका छन्।
‘कम्युनिष्ट र कांग्रेस शुरुदेखि नै जनताको माझमा आफ्नो विचार लिएर अफ्ठ्यारो बीचमा मिलेरै गएका छौँ‚ आज मात्रै होइन। यसभन्दा अघि पनि कांग्रेस र कम्युनिष्ट मिलेर सरकार बनाइरहेका छौँ। सबैलाई हेक्का रहोस् कहिलेकाहीँ कम्युनिष्ट र कांग्रेस दुवैलाई दम्भ हुन्छ। हामी बलियो छौँ भन्ने दम्भ राख्नुहुँदैन। दम्भ राख्यो भने सबैको विनाश हुनसक्छ। दम्भले केपी ओलीलाई सखाप बनायो‚’ अध्यक्ष नेपालको भनाइ थियो।
प्रचण्ड–माधवले गठबन्धनप्रति आशंका व्यक्त गरिरहेको वेलामा देउवाले भने गठबन्धनविरुद्ध जानेलाई कारबाही गर्ने प्रष्ट पारेका छन्।
‘गठबन्धन टिकाउनु मेरो त झन् ठूलो कर्तव्य हो। उहाँले बनाएको प्रधानमन्त्रीको कर्तव्य गठबन्धन टिकाउनु हो। मेरो पार्टीबाट कुनै पनि अवस्थामा गठबन्धनको खिलाफमा कुरा उठ्नु हुँदैन। त्यो सैह्य हुने छैन्‚’ देउवाको भनाइ थियो।
आशावादी ओली
एमाले अध्यक्ष ओली भने वैशाख ३० गतेको चुनावमा नतिजा उल्टिएर गठबन्धन टुट्नेमा आशावादी छन्। गठबन्धनका लागि सबैभन्दा ठूलो खड्गो नै वैशाख ३० गते भएको उनको भनाइ छ।
‘राजनीति हेर्ने ज्योतिषी र ग्रहदशा हेर्ने ज्योतिषी हुन्छ्न्। राजनीति हेर्ने ज्योतिषीले भनेका कुरा हुन्। गठबन्धन रहन्छ रहँदैन भन्नेमा मेरो केही भन्नु छैन। गठबन्धनका लागि सबभन्दा ठूलो खड्गो वैशाख ३० गते नै हो‚’ आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले भनेका थिए।
ओलीले असार १७ गतेपछि गठबन्धन टुट्छ भनेर आफूले नभनेको समेत बताए। सम्मेलनमा अध्यक्ष ओलीले असार १७ पछि गठबन्धन टुट्ने कुरा ज्योतिषीहरूले भनेको उनकाे भनाइ थियाे।
‘ज्योतिषीहरूलाई सोध्नुस् न। उनीहरूले स्पष्ट पार्छन् के, यो मैले भनेको होइन‚’ ओलीको भनाइ छ, ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाजी ज्योतिषीमा धेरै विश्वास गर्नुहुन्छ। त्यसैले जेठ र असारको महिना कस्तो छ, बोलाएर सोध्नुहोस्।’
उनले सम्बोधन गरेका हरेक चुनावी सभामा कांग्रेस, प्रचण्ड, माधव नेपालदेखि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसम्ममाथि आक्रामक रुपमा प्रस्तुत हुने गरेका छन्।
राप्रपामा उत्साही
यता, कमल थापाले पार्टी विभाजन गरे पनि राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी माहोल बाक्लो छ। राप्रपाले हरेक चुनावी सभामा उल्लेख्य जनताको साथ पाएकाले निर्वाचनप्रति राप्रपा उत्साही भएका छन्।
राप्रपाले वैशाख २३ गते काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका ९ स्थान; २४ गते काठमाडौं, पोखरा, नेपालगन्ज, कोहलपुरसमेत ४ स्थानमा र २५ गते भक्तपुर, हेटौडा, ललितपुरसमेत ३ स्थानमा आमसभा गरेको छ।
यस्तै, २६ गते लिङ्देनको गृहजिल्ला झापा बिर्तामोडको अनारमनी, कमलको क्याम्पा, बिर्तामोडको चारपाने, भद्रपुरको ज्ञानेचोक, कन्काईको सुरूंगा, केचनाकवलको बनियानी लगायतका स्थानमा आयोजित सभा गरेको छ। आम मतदाताहरूमा राप्रपाप्रति बढ्दो जनलहरले असाध्यै उत्साहित भएको अध्यक्ष लिङ्देनको भनाइ छ।.
थाहाखबरबाट