Thursday, May 6, 2021
- बिज्ञापन -
गृह अपराध / कानूनपरशुराम हत्यामा संलग्न काका भतिज सार्वजनिक

परशुराम हत्यामा संलग्न काका भतिज सार्वजनिक

काँकरभिट्टा, ९ पुस | झापा मेचीनगर— ९ खुट्टीडाँगी मगर टोल बस्ने ४२ वर्षीय पुलिस उपनामले चिनिने पर्शुराम गौतमको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई विहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय धुलावारी परिसरमा आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका सोहि ठाउँका ४७ वर्षीय बुधलाल किसान र अन्दाजी २८ वर्षीय भयंकर भनिने भुखन किसानलाई प्रहरीले सार्वजनिक गरेको हो । दुवैजना नातामा काका भतिज हुन् ।

गएको पुस ३ गते विहान साढे सातबजेतिर टाउको फुटेर रगत बग्दै अनुहारभरि रगत लतपतिएर आफ्नै घरको आगनमा मृत अवस्थामा गौतमलाई देखेपछि स्थानीयवासीले प्रहरीलाई खवर गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले पत्रकार सम्मेलनमा बताउनुभयो ।घटनाको खवर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय धुलावारीबाट प्रहरी निरीक्षक विकास राई समेतको प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धानको लासजाँचको मुचुलकासमेतको कार्य पुरा गरेर मृतकको शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको वितरीत प्रेश विज्ञप्तीमा उल्लेख छ ।

अनुसन्धानका क्रममा संघीय प्रहरी इकाई प्रहरी कार्यालय धरान सुनसरीबाट तालिम प्राप्त कुकुर समेत परिचालन गर्नुका साथै इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलको कमाण्ड र इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राईको कमाण्डमा अनुसन्धान शुरु गरिएको थियो । पुस २ गते साँझ मृतक पर्शुरामको घरमा सोहि ठाउँका काका भतिज किसान पुगेको र निजहरुले रातभर मादक पदार्थ सेवन गरेको र ३ गते विहानबाट काका भतिज फरार भएको प्रहरीले जनाएको छ ।

त्यसपछि घटना शंकाष्पद रहेको भन्दैं काँकरभिट्टा र धुलावारी प्रहरीले सुक्ष्मरुपमा अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनुभयो । दुवैजनाको खोज तलास गर्दा ७ गते बुधलाललाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको थियो । उनको वयानका आधारमा मृतक गौतम र भुखन किसानबीच विवाद भएको र भुखनले गौतमलाई कुटपिट गरेको भन्ने खुलेपछि प्रहरीले ७ गते नै मेचीनगर— ६ काँकरभिट्टाबाट भुखनलाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ पूर्जी दिई पक्राउ गरेपछि भुखनले गौतमलाई कुटपिट गरी कर्तव्य गरी मारेको र सो समयमा लगाएको कपडाहरु काको घरमा रहेको माछा मार्ने ढोक्सामा राखेको, फेरि कसैले भेट्लान भनेर घर नजीकै रहेको पानी जमेको पैनीमा फालेको र भेष्ट बाहिरबाट लगाएको पातलो ज्याकेट समेत घरमा राखेको बयान दिएका थिए । दुवैलाई जिल्ला अदालत झापाबाट ७ दिनको म्याद अनुमति लिएर इलाका प्रहरी कार्यालय धुलावारीबाट थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा मेचीनगर नगरपालिका वडानम्बर ९ का वडाध्यक्ष गोपाल खड्का तथा पूर्व जनप्रतिनिधि लक्ष्मीप्रसाद पाठकलगायतको उपस्थिती थियो ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु