काँकरभिट्टा , १६ पुस । मेचीनगर नागरिक खुल्ला सीमा संघर्ष समितिले पुस १७ गते सम्म नाका सहजीकरण नभए पुस १८ गतेबाट कडा आन्दोलन गर्ने गर्ने चेतावनी दिएको छ ।
संघर्ष समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो । विज्ञप्तिमा मंसिर ९ गते मेचीनगर नागरिक खुल्ला सीमा संघर्ष समिति गठन गरेपछि मंसिर ११ गतेबाट विभिन्न चरणवद्द आन्दोलनमा स्थानीय पालिकाको ज्ञापन पत्र बुझाइ ध्यानाकर्षण गरेको , मौन जुलुस , शान्ति र्र्याली गरेको , हस्ताक्षर सङ्कलन गरी प्रतिनिधि सभा सदस्य रामकुमार कार्की मार्फत् संघीय सरकारलाई बुझाउने गरी हस्तान्तरण गरेको , संघर्ष समितिका तर्फबाट जिल्ला प्रशासन कार्यलय झापाका प्रमुख श्रवण कुमार तिम्सिनालाई समेत बुँदागत रुपमा ज्ञापन पत्र बुझाएको तर शान्तिपूर्ण विरोध गर्दा समेत बल प्रयोग गरी स्थानीय प्रशासनले दमन गरेको उल्लेख गरिएको छ ।
मेचीनगर नागरिक खुल्ला सीमा संघर्ष समितिका अध्यक्ष सुरेश कुमार श्रेष्ठ( गोपाल ) र सचिव निर बहादुर कार्की ( नेत्र )को संयुक्त हस्ताक्षर गरिएको सो विज्ञप्तिमा लामो समयदेखि नाका बन्द हुँदा सीमानाका आश्रित व्यावसायीहरुको परिस्थित गम्भीर बन्दै गएको बताइएको छ ।
सीमा संघर्ष समितिले नाका खोल्न दबाब दिइरहँदा नेपाल सरकार भने कोरोना भाइरसको नयाँ प्रकार भारतमा फेला परेको भन्दै सीमानाका कडाइ गर्ने गृहकार्यमा जुटेको छ ।