आइतबार, पौष १९ ,२०७७
इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन चर्काउने भएको छ ।
शनिबार आयोजित भेलाले सुनसरी जिल्ला इन्चार्ज धर्म निरौलाको नेतृत्वमा १५ सय ९१ सदस्यीय आन्दोलन परिचालन समिति समेत घोषणा गरेको छ ।
त्यसैगरी, आन्दोलनलाई व्यवस्थित बनाउन ३५ सदस्यीय सचिवालयसमेत गठन गरी विभिन्न उपसमिति पनि गठन गरिएको छ । पार्टी प्रदेश कमिटि सदस्य मुक्सामहाङ्ग मेन्याङ्बो (मुकेश)को नेतृत्वमा स्रोत परिचालन उपसमिति गठन गरिएको छ । प्रचार–प्रचार उपसमितिको संयोजकमा प्रेस संगठन प्रदेश १ संयोजक राजन केडी रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै आन्दोलन परिचालन समिति संयोजक धर्म निरौलाले प्रधानमन्त्री केपी ओलीले नेकपालाई सुरुदेखि नै विभाजनको दिशामा धकेलेको आरोप लगाउनुभयो । मदन भण्डारी फाउण्डेशनको नाममा पार्टी विभाजन र राज्यको सम्पत्ति दुरुपयोग गरेको उहाँको ठहर छ ।
त्यसैगरी, विस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्दै पार्टीका स्थायी समिति सदस्य भीम आचार्यले ओली कम्युनिष्टको वशनासको अभियानमा अघि बढेको आरोप लगाउनुभयो । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले सरकार र कम्युनिष्ट पार्टीलाई बर्बाद बनाएको बताउनु भयो ।
भेलामा उपस्थित अगुवा नेता तथा कार्यकर्ताहरुलाई पार्टी केन्द्रीय सदस्यहरु रामकुमारी चौधरी, निर्मल बराल, महफुज अन्सारी र किरण राईले प्रतिगमन विरुद्धको आन्दोलनमा डटेर लाग्न निर्देशन दिएका छन् ।