काठमाडौँ । प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम सच्याउन माग गर्दै विभिन्न पक्षधरहरुले जताततै आन्दोलन गर्ने समाचार आइरहदा नेपाली कांग्रेसले पनि सडक संघर्षकै बाटो रोजेको छ ।
अदालतको फैसलापूर्व सशक्त आन्दोलन नगर्ने मनस्थितिमा रहेका पार्टी सभापति शेरबहादुर देउवा चौतर्फी दबाबले घेरिएपछि आन्दोलनमा जान सहमत भएका हुन् ।
उनलाई मनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरू निरन्तर लागिरहेका थिए । पौडेलले संसद् पुनःस्थापनाले मात्रै असंवैधानिक कदम सच्चिने भन्दै नेतृत्वलाई आन्दोलनतिरै तान्न सुरुदेखि जोड गरिरहेका थिए । उनले कांग्रेसकै नेतृत्वमा अरू पार्टी आएमा संयुक्त सडक संघर्षमा समेत जान सक्नुपर्ने बताएका थिए ।