१९ माघ, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय बसुन्धारामा ३ बजेका लागि बोलाइएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक । फाइल तस्बिर ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको बताए । सरकारमा सहभागी भएर पनि जनताका पक्षमा काम गर्न नसकेको विषयमा छलफल हुने उनले बताए । यसरी नसकिने रहेछ भनेर पार्टीमा छलफल हुन लागेको उनले जानकारी दिए ।
पार्टी सभापति रवि लामिछानेले विगतमा गरेको त्रुटिलाई लिएर सर्वोच्चबाट फैसला आएको र त्यसलाई सुधार गर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहालबाट सकरात्मक सन्देश नपाएको पनि ढकालले बताए । त्यसैले अब नयाँ शिराबाट अगाडि जान लागेको उनको भनाइ छ ।
यसैबीच सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो मौनता आजसम्मका लागि मात्र रहेको बताएका छन् । ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला,’ उनले लेखेका छन्, ‘मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन।’
इकान्तिपुरबाट