सत्ता गठबन्धनका चार दलबीच ८ बुँदे सहमति

नयाँ सत्ता गठबन्धन बनाउन सहमत भएका चार दल; नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच ८ बुँदे सहमति भएको छ।

सो सहमतिअनुसार अहिले सरकारको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेछन्।

त्यस्तै राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादीका उम्मेदवार र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति पनि चार दलबीच जुटेको छ।

सोमबार बालुवाटारमा बसेको बैठकमा सो सहमति जुटेको हो।

चार दलबीच भएका थप सहमति यस्ता छन्ः

– सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने। त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने। नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने।

– संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने।

– संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने।

– सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने।

– यो सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने।

– हामी चार राजनीतिक दल राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवाद उन्मुख आर्थिक-सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमत भएका छौं।

सहमति पत्रमा एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.