काठमाडौँ : सरकारका मन्त्रीहरूले आफूले गरेको कामको प्रधानमन्त्री समक्ष दैनिकरुपमा बिफ्रिङ गर्नुपर्ने भएको छ।
बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूले दैनिकरुपमा गरेको कामको हरेक दिन बेलुका प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने निर्णय गरेको हो। राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सो कुरा बताएका हुन्।
उनले मन्त्रीहरूले हरेक दिन कुन काम राम्रो र ठूलो गरेका हुन् भन्ने कुराको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्नुपर्ने निर्णय भएको बताए। उनले यसो गर्दा मन्त्री र कर्मचारीहलाई काम गर्न जागरुक बनाउने बताए।
उनले भने, ‘आज मैले एउटा निर्णय मन्त्रिपरिषद्बाट गराएको पनि छु, सबै मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ प्रधानमन्त्रीलाई बेलुका गर्नुपर्ने। गरेका कामहरूमध्ये कुनचाहीँ त्यो दिनको राम्रो र ठूलो काम गरियो त्यो ब्रिफिङ प्रधानमन्त्रीलाई प्रत्येक दिन गर्नुपर्ने भनेपछि त्यसले अब सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ। सबै मन्त्रालयलाई, त्यसपछि सबै सचिवहरूलाई र सबै कर्मचारीहरूलाई तताउँछ भन्ने मेरो विश्वास छ। हामी बल गर्दैछौँ।’
प्रधानमन्त्री दाहालले सरकारले गरे अनुरुपको तदारुकता र दृढताका साथ प्रशासन र कर्मचारीहरूले गर्न नसकेको भन्दै यस विषयको कारण खोजी गर्नुपर्ने बताए। उनले कर्मचारी र राजनीतिक तहले साझा रुपमा प्रयास गर्नुपर्ने बताए।