१८ असार, मेचीनगर : समय अवधिभर औषधि सेवन नगर्नु ,औषधि सेवनका क्रममा बीचबाटै हराउनु तथा अझै पनि बिरामीहरु खुलेर क्षयरोग परीक्षण गर्न नजानु नै क्षयरोग मुक्त नगरपालिका घोषणाको मुख्यः चूनौती रहेको छ ।
आर्थिक वर्ष २०७८/०७९ को बजेट बक्तव्यको बुँदा नम्बर ३ मा आगामी ५ वर्ष भित्र सवै स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गरिने उल्लेख भए अनुसार मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त घोषणा अभियान सञ्चालन गर्न पनि क्षयरोगी खोजी गर्दै झापा मेचीनगरका स्वास्थ्यकर्मी गाउँ गाउँ पुग्ने गरेका छन् । २०७८ साल मंसिर २२ गतेको मन्त्रीपरिषद्को निर्णयबाट झापाका कुल १५ वटा पालिकाहरुमध्ये मेचीनगर नगरपालिकालाई छनौट गरी क्षयरोग मुक्त पालिका घोषणाका लागि विविध कार्यक्रम सञ्चालनभईरहेको स्वास्थ्य शाखाले जनाएको छ ।
क्षयरोग मुक्त पालिका घोषणा अभियान कार्यक्रम नेपाल सरकारको नविनतम कार्यक्रमलाई मेचीनगर नगरपालिकाले विगत तीनवर्षदेखि प्रभावकारीरुपमा सञ्चालन गरिरहेको शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिनुभयो । मंगलबार क्षयरोग मुक्त पालिका घोषणा अभियान कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को षर्षिक कार्यक्रमको प्रगति प्रतिवेशन प्रस्तुत गर्दै शाखा संयोजक निरौलाले नगरका क्षयरोगीहरुको संख्यामा घटबढ भईरहेको जानकारी दिनुभयो । अघिल्लो दुई आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको जेठमसान्तसम्म १ सय ८४ जना क्षयरोगी फेला परेका छन् । आर्थिक बर्ष २०७८/०७९ मा पीबीसी, पीसीडी, इपीगरी कुल १ सय ८२ जना क्षयरोगी फेला परेको निरौलाको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७९/०८० मा २ सय ५ जना थिए । आर्थिक वर्ष २०७८÷०७९ मा वडानम्बर १,२,३,५,७,८,९,१२ र १३ मा क्षयरोगका रोगीको संख्या शुन्य थियो ।
तर, आर्थिक वर्ष २०७९÷०८० मा ती वडाहरुमा क्रमस २,३ १,३,४,८,९,१४ जना क्षयरोगी फेला परेका थिए । वडानम्बर १३ मा यो वर्षमा समेत क्षयरोगीको संख्या शुन्य छ । सवैभन्दा बढी क्षयरोगी वडानम्बर —६ मा रहेको प्रतिवेदनले देखाएको छ । यो वडामा आर्थिक वर्ष २०७८/०७९ मा ७५, आर्थिक वर्ष २०७९/०८० मा ६१ र चालु आर्थिक वर्ष २०८०/०८१ को जेठमसान्तसम्म ४१ जना क्षयरोगी रहेका छन् । यसैगरी वडा नम्बर १ मा चालु आर्थिक वर्ष २०८०/०८१ को जेठमसान्तसम्ममा ८, वडा नम्बर २ मा ७, वडा नम्बर ३ मा ४, वडा नम्बर ५ मा ६, वडा नम्बर ७ मा १२, वडा नम्बर ८ मा ९ जना रहेका छन् । वडा नम्बर ९ मा १३ जना क्षयरोगी फेला परेका थिए । वडा नम्बर ४ मा आर्थिक बर्ष २०७८/०७९ मा ३०, आर्थिक वर्ष २०७९/०८० मा २६ र चालु आर्थिक वर्ष २०८०/०८१ को जेठमसान्तसम्ममा १७ जना क्षयरोगी फेला परेका छन् ।
वडा नम्बर १० मा आर्थिक वर्ष २०७८/०७९ मा ३२, आर्थिक वर्ष २०७९/०८० मा ३६ र चालु आर्थिक वर्ष २०८०/०८१ को जेठमसान्तसम्ममा २० जना क्षयरोगी फेला परेका छन् । वडा नम्बर ११ मा आर्थिक वर्ष २०७८/०७९ मा २१, आर्थिक वर्ष २०७९/०८० मा ८ र चालु आर्थिक वर्ष २०८०/०८१ को जेठमसान्तसम्ममा १० जना क्षयरोगी फेला परेका छन् । वडा नम्बर १२ मा आर्थिक वर्ष २०७९/०८० मा १४ र चालु आर्थिक वर्ष २०८०/०८१ को जेठमसान्तसम्ममा ५ जना क्षयरोगी फेला परेका छन् । वडा नम्बर १३ मा चालु आर्थिक वर्ष २०८०/०८१ को जेठमसान्तसम्ममा ७ जना क्षयरोगी फेला परेका छन् । वडा नम्बर १४ मा क्रमस ६, ७ र ४ तथा वडा नम्बर १५ मा क्रमस १८, २३ र २ज्ञ जना क्षयरोगी फेला परेको संयोजक निरौलाले जानकारी दिनुभयो । औषधी प्रतिरोधी क्षयरोगीको संख्या तीन आर्थिक वर्षमा क्रमस ११, ७ र ३ जना रहेको प्रतिवेदनले देखाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा नगरका ६ जना र २०७९/०८० मा नगरका १२ जना क्षयरोगीको मृत्यु भएको थियो । क्रमस ६ र ११ जनाले बीचमै औषधि छाड्ने गरेको तथा ५ र ११ जनामा उपचारले काम नगरेको बताइएको छ ।
हो ! हामी क्षयरोग अन्त्य गछौं’ भन्ने मुख्यः नारासहित मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तर्गत नगरपालिकामा क्षयरोग बिरामीहरुलाई पोषण प्याकेज बितरण थालिएको स्वास्थ्य शाखा सह संयोजक पुजन अधिकारीले जानकारी दिनुभयो । अहिले नगरको स्वास्थ्य शाखाको प्राविधिकहरुले क्षयरोगी खोजी रहेको बेला भएकाले रोगीको संख्या बढ्ने क्रममा रहेको र भेटिएका रोगीको उपचार समेत गर्ने काम तत्कालै सुरु भइरहेको स्वास्थ्य शाखा प्रमुख निरौलाले बताउनु भयो । उहाँका अनुसार क्षयरोगका बिरामीको परीक्षणदेखि उपचारसम्म सरकारले निःशुल्क गर्ने व्यवस्था रहेको छ । मेचीनगरका क्षयरोगीहरुका लागि छातीको एक्सरे समेत नगरपालिकाले निशुल्क गर्ने व्यवस्था मिलाएको छ । क्षयरोगमुक्त पालिका बनाउन प्रतिवर्ष प्रति १० लाखमा १ भन्दा कम बिरामीको संख्या भएमा अन्त्य भएको मानिने छ । क्षयरोग निवारणका लागि स्थानीय पालिकामा नगरप्रमुखको संयोजकत्वमा नगर उपप्रमुख, वडाध्यक्ष, शिक्षक, स्वास्थ्य संस्थाका कर्मचारीलगायतको टोली र वडास्तरमा समेत समिति गठन गरीएको छ । पालिकाले क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शंका लागेकाको परीक्षण गर्ने, वडास्तरमा सुक्ष्म योजना बनाएर गाउँमा स्वास्थ्यकर्मी परिचालन, नगर र वडास्तरमा समिति गठनलगायतका कार्य थालेको छ ।
विद्यालयमा क्षयरोग सम्बन्धी स्वास्थ्य शिक्षा, क्षयरोग कार्यक्रममा स्थानीय युवा परिचालन, क्षयरोग रोग प्रभावित व्यक्ति पत्ता लगाउन महिला स्वास्थ्य स्वयम्सेविका र आमा समूह परिचालन, क्षयरोग प्रभावित व्यक्तिका लागि सीप विकास तालिम, क्षयरोग मुक्त अभियान कार्यक्रममा विरामी सहयोग समूहको संलग्नता, क्षयरोग मुक्त अभियान कार्यक्रममा नागरिक समाज संगठनको संलग्नता, क्षयरोग विरामीका लागि सामाजिक सुरक्षा तथा गरिबी निवराणका लागि पौरवी गर्ने , वार्षिकरुपमा सामाजिक लेखा परीक्षणलगायतका स्थानीय स्तरमा गरिने क्षयरोग मुक्त नेपाल घोषणा अभियान सम्बन्धी कार्यक्रमहरु रहेको प्रतिवेदनमा उल्लेख छ । आगामी आर्थिक वर्ष २०८२÷०८३ मा मेचीनगरलाई क्षयरोग मुक्त नगर घोषणा गर्न क्षयरोगका विरामीहरु खोज्ने अभियान तीव्र पारेको पनि प्रतिवेदनमा उल्लेख छ ।
तौल घटनु , छाती दुख्नु, राती राती ज्वरो आउनु, खकारमा रगत देखिनु, श्वासप्रशवासमा समस्या हुनु दुईहप्ता सम्म लगातार खोकी लागिरहनुलगायत क्षयरोगका लक्षण भएको शाखा संयोजक निरौलाले बताउँनुभयो । क्षयरोग एक प्रकारको सरुवा रोग हो । सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप चाहीँ ट्यूब्रक्लोसीस हो । यो एक प्रकारको कीटाणुको कारणले गराउँदछ । नेपालमा हुने क्षयरोग मध्ये ७५ प्रतिशत फोक्सोको क्षयरोग हुने गरेको छ । झापा जिल्लामा २ हजार ५ सय भन्दा बडी मानिस क्षयरोगको संक्रिय संक्रमण भएको अनुमान गरिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । खासगरी, शुरुमा क्षयरोगको लक्षण देखिने वित्तिकै उपचारका लागि रोगी नआउँनु नै सबै भन्दा ठुलो चुनौती रहेको बताउँनुभयो । ‘अहिले पनि क्षयरोगीहरु खुलेर उपचारका लागि नआउने, लुकेर बस्ने भएकाले गर्दा पनि क्षयरोग मुक्त गर्न समस्या भएको छ । ’
‘क्षयरोग अहिले जनस्तरमा निक्कै जटिल समस्याका रुपमा देखिएको छ ’ काँकरभिट्टा स्वास्थ्य चौकी प्रमुख लेखनाथ खतिवडाले भन्नुभयो—‘यो धेरै पुरानो रोग भए पनि अझै नियन्त्रण गर्न सकिएको छैन् नियन्त्रण बाहिर छ ।’ अहिले पनि समाजमा निक्कै क्षयरोगी छन् । उनीहरु खुलेर उपचारका लागि आउने गरेका छैनन्
नेपाल सरकारले सन् २०३५ सम्म क्षयरोग निर्मुल पारी क्षयरोगबाट हुने मृत्युमा ९५ प्रतिशतले कमि ल्याउने योजनालाई साकार बनाउन विश्व क्षयरोग दिवस २०८० नेपालमा देशव्यापी जागरण ल्याउने र चेतना फैलाउने उद्धेश्यका साथ मनाउँन सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । सन् २०५० सम्ममा क्षयरोगलाई पूर्ण रुपमा निवारण गर्ने योजना अन्तर्गत नेपाल सरकारले २०५९ देखि २०६९ सालसम्म दशबर्षे दीर्घकालिन योजना अघि सारेको थियो । विसं २०२१ सालमा नेपाल सरकार, विश्व स्वास्थ्य संगठन र यूनिसेफबीच क्षयरोग नियन्त्रणका लागि त्रिपक्षीय सम्झौता भएको थियो । तर, यी अभियान खासै प्रभावकारी बनेका छैनन् ।
मेचीनगर नगरपालिका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलगायत स्वास्थ्यकर्मीहरुले यस विषयमा बोल्नुभएको थियो ।