२ साउन, मेचीनगरः कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले झापाको मेचीनगर—१४ मा निर्माण गरिएको होल्डिङ सेन्टरलाई कोशी प्रदेशस्तरीय सुधारगृह बनाउन सकिने धारणा अघि सार्नुभएको छ । नेपाल सरकारले कोरोना सङ्क्रमणको तेस्रो लहर आउनुपूर्व करिब २८ करोड रुपैयाँको लगानीमा हनुमान कन्ट्रक्सन ललितपुरसँग ठेक्का सम्झौता गरी ती संरचना निर्माण गरेको थियो । सुरुमा काँकरभिट्टा क्षेत्रमै होल्डिङ सेन्टर बनाउने भनिए पनि उपयुक्त जग्गा अभावमा दुहागढीमा निर्माण गरिएको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।
छिमेकी मुलुक भारतमा कोडिभ–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरसका सङ्क्रमित देखापर्न थालेसँगै पूर्वी नाकाहुँदै भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने नागरिकलाई लक्षित गरी मेचीनगर नगरपालिका–१४ दुहाढगीस्थित हडिया खोला किनारमा नेपाली सेनाको रेखदेख र संरक्षणमा रहेको होल्डिङ सेन्टरको बुधबार मध्यान्ह मन्त्री अधिकारीसहित मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ल अधिकारी बन्धुप्रसाद बास्तोलालगायत जिल्लास्थित सुरक्षा प्रमुखलगायतको टोलीले होल्डिङ सेन्टरको स्थलगत अवलोकन गरेको थियो ।
‘यत्रो संरचना अहिलेसम्म प्रयोग विहिन रहेछ ’अवलोकन पश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री अधिकारीले भन्नुभयो— ‘हिजोको कोभिडका बखत निर्माण गरेको संरचनालाई अब के गर्ने भनेर मुख्यःमन्त्रीसहितको झापाका १५ वटै पालिकाका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, नेपाल सरकारको प्रतिनिधि, सुरक्षानिकाय तीनवटै अंगका प्रतिनिधिसहित संयुक्त छलफल बैठक बसेर यसलाई के गरेर ‘बेटर सेन्टर’ बनाउँन सकिन्छ, के मा प्रयोग गर्न सकिन्छ बैठक छलफलले अन्तिम टुङ्गो लगाउने छ । अहिले नै यसलाई यस काममा लगाउने या यसका निम्ती प्रयोग गर्ने भन्ने अवस्था छैन् ।’
अहिले एउटा वैकल्पिकरुपमा सिंगो कोशी प्रदेश स्तरीय पुनः स्थापना केन्द्र विकास गर्न पनि सकिन्छ भन्ने अवसरको रुपमा आएको भन्दैं मन्त्री अधिकारीले त्यसको अतिरिक्त सुधार गृह बनाउन सकिने समेत स्पष्ट पार्नुभयो । ‘सुधार गृह भन्नाले कुलतबाट मुक्त मात्र गराउने मात्र होईन’ मन्त्री अधिकारीले भन्नुभयो— ‘गृहभित्रैबाट उनीहरुलाई सीपमुलक तालिम दिने, यहाँबाट बाहिर गईसकेपछि यहाँ भित्र सिकेको सीपलाई व्यवहारमा उतारेर व्यवसाय सञ्चालन गर्ने गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ , भोली समाजमा उ आफैमा आत्मनिर्भर बन्न सकोस । ’ कोभिड महामारीका लागि बनेको भए पनि सधैँभरि त्यस्तो महामारी नरहने भएकाले यतिठूलो भौतिक संरचनालाई अरु महत्वपूर्ण कार्यमा उपयोग गर्न सकिनेतर्फसमेत सोच्न आवश्यक रहेको मन्त्री अधिकारीको भनाई छ।
‘प्रदेशस्तरीय सुधारगृह बनाउन सकिन्छ, तर, लागुऔषधका प्रयोगकर्तालाई सुधार गर्न यसको उपयोग गर्न उपयुक्त हुन्छ कि हुँदैन भन्ने विषयमा सवैपक्ष बसेर वृहद छलफल गर्नुपर्छ ।’ मन्त्री अधिकारीले मेचीनगरमा बनेको होल्डिङ सेन्टर कसरी र कसले सञ्चालन गर्ने भन्ने विषयमा सरकार छिटो निर्णयमा पुग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
चार बिघा क्षेत्रफलमा एक हजार मान्छे अट्ने क्षमताको होल्डिङ सेन्टरमा एकै डिजाइनका २२ अत्याधुनिक पक्की भवन छन् । त्यसमा एकहजार वेड रहेको र एकसय वेडमा अक्सिजन जडान गरिएको, १५ वटा डाइनिङ हल, २२ वटा शौचालय, दुई डाक्टर र स्वाथ्यकर्मी बस्ने एडमिन भवन, दुई एडमिन किचन, तयार छन् ।
नगर प्रमुख बुढाथोकी उपप्रमुख उप्रेतीले यसलाई तत्काल सञ्चालनमा ल्याउने प्रक्रियाका लागि मन्त्री अधिकारीलाई अनुरोध गर्नुभयो । निर्माण भएपछि प्रयोगमा नआउँदा कति सामान प्रयोग विहिन हुने अवस्थामा पुगेकाले पनि यसको सञ्चालन तत्कालै गर्नुपर्नेमा उपप्रमुख मीना पोख्रेल उप्रेतीको जोड छ ।
कोरोना सङ्क्रमणको दोस्रो लहरको समयमा हुलका हुल भारतीय क्षेत्रबाट पूर्वीनाका काँकरभिट्टा हुँदै भित्रिएका नागरिकलाई राख्न स्थानीय प्रशासनलाई ठूलै समस्या भएपछि उनीहरुलाई राख्नका लागि स्थानीय प्रशासनले बाध्य भएर विद्यालयलाई होल्डिङ सेन्टर बनाएको बताईएको छ ।
पहिलो लहरमा नेपाली सेनाले आफैं होल्डिङ सेन्टर निर्माण गरे पनि तेस्रो लहरमा समस्या नहोस् भनेर सरकारले झापासहित तराईका आठ नाकामा सुविधायुक्त होल्डिङ सेन्टर निर्माण गरेको बताईएको छ । नेपाली सेनाको अरिदम गण चारआलीका प्रमुख सेनानी प्राजु बस्न्यातले होल्डिङ सेन्टरको विगत तथा बर्तमान अवस्थाका बारेमा मन्त्री अधिकारीलाई जानकारी गराउनु भएको थियो । सरकारले यसलाई सञ्चालनमा ल्याउन नसक्दा राज्यको ठूलो लगानी प्रयोगविहीन बनेको गुनासो बेला बखत आईरहने गरेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले यसलाई तत्काल केही न केही कामका लागि उपयोगमा ल्याउनुपर्नेमा मन्त्री अधिकारी समक्ष कुरा राख्नुुभयो । नेपाली सेनाको रेखदेखमा रहेको हँडिया खोलाको बगरमा बनेको होल्डिङ सेन्टर क्षेत्रलाई सेनाले काँडे तारले घेराबार गरेको छ । होल्डिङ सेन्टर सञ्चालनको आवश्यक गृहकार्य अघि बढाउनुपर्ने, बनिसकेको संरचना छिटो सञ्चालनमा ल्याउन पहल र छलफल आवश्यक रहेको बताईएको छ ।
यसअघि मन्त्री अधिकारीले मेचीनगर नगरपािलकाको विषयमा छलफल गर्नुभयो । नगरप्रमुख बुढाथोकीको कार्यकक्षमा भएको छलफलमा लगूऔषधबाट उत्पन्न समस्या, प्रहरीका जीर्ण संरचना तथा खानेपानीलगायतका विषयमा छलफल भएको थियो । बुधबार नै मन्त्री अधिकारीले निकट भविष्यमा सञ्चालनमा आउन लागेको आफ्नो मन्त्रालय मातहतको अस्थाई ईजाजत पत्र पटके लिने शाखा कार्यालयको मेचीनगर— १३ चारआलीको समेत स्थलगत अवलोकन गरी सो विषयमा जानकारी लिनुभयो ।