भतिज पुण्य ! भावपूर्ण श्रद्धाञ्जली !
कुन दिन परिचय भयो, त्यो ठेकान भन्न त सक्तिन । तर पक्कै २०५२ सालको कुनै दिन हुनुपर्छ । पक्कै परिचयको पहिलो माध्यम साहित्य नै हुनुपर्छ । औंला भाँच्ता तीन दशकजस्तो भएछ । परिचयपछि, हामी काका भतिजमा दरिएपछि हाम्रो त्यो नाताको सम्बन्धले बाँधेको भन्दा साहित्यको, विचारको, सङ्गठनको जालैजालोले हामीलाई फेविकोलले झैं टाँसिरह्यो, जोडिरह्यो ।
नाम थर पूराका पूरा मिलेका कारण गोष्ठी या भेलाहरूमा हुने उनको र मेरो परिचयको ‘कन्फ्युजन’लाई हटाउन भतिजले ‘पुण्य खरेल’ भनेर चिनिने र काकाले ‘पुण्यप्रसाद खरेल’ भनेर चिनिने भनी आफैंआफैं चिनारी बनायौं । यद्यपि त्यो चिनारी व्यवहारमा अत्यन्त कच्चो रहिरह्यो ।
शारीरिक काँटी पनि अलिक ससानो र उमेरले पनि दशक नै कान्छो हुँदा मलाई भतिज भन्न सजिलो भए पनि, साहित्य या दर्शनका विषयमा छलफल बहस चल्दा म अलिक हच्किन्थें । भतिजको अध्ययनशीलता, दर्शन र साहित्यमा तथा साहित्यका धारा वा वादका बारे दखलले मलाई उनी गुरु नै हुन् भन्ने भाव हुन्थ्यो ।
म काँकरभिट्टामै हुँदा पनि भतिजसँग म साँच्चै आत्मीय थिएँ नै । भतिजको पहिलो कृति “विचार र विश्लेषण” मैले काँकरभिट्टामा रहँदा नै टाइप गरेको हुँ । टाइप गरेको पारिश्रमिक बारे ताता ताता कुरा पनि भए । “भतिजको एउटा कृति मैले टाइप गरेर सहयोग गरें” भन्ने म, “कति के लाग्छ ? थपक्क भनेर लिइदिनुपर्छ !” भन्ने भतिज । मैले “अब पछि दोस्रो कृति पनि मैले टाइप गर्न पाएँ भने लिउँला ! यो चाहिँ मैले भतिजलाई गरिदिएको” भनेर फैसला सुनाएँ ।
२०७३ सालदेखि त म विर्तामोडकै स्थायी बासिन्दा जस्तो भएँ । भतिज र हाम्रो घरबिचको दूरी पैदलयात्रामा १० मिनटको र भुट्भुटेमा हो भने दुई–तीन मिनेटको मात्र रह्यो । यो नजिकले हामीलाई थप नजिक्यायो । उनका घरका पुस्तकहरू मेरा लागि र हाम्रा घरका पुस्तकहरू उनका लागि अझ अध्ययनका सामग्री भए । उनको माध्यमबाट मेची वहुमुखी क्याम्पसको पुस्तकालयमा भएका पुस्तक पनि मैले मगाएर पढ्न भ्याएको छु ।
उनलाई र मलाई थप बाँध्ने उनका कान्छा काका प्रसिद्ध हास्यव्यङ्ग्य निबन्ध लेखक रुद्र खरेलसँग मेरो एकाघरका दाजुभाइको जस्तो बन्धुत्व र मेरो कान्छो छोरो नरेश र भतिज पुण्य एउटै विद्यालयमा पठनपाठन गरेका सहयात्रीझैं आत्मीयता । यी अनेक कारणले हामीलाई यो बन्धुत्व, सहपाठी, लेखनका मित्र, वैचारिक सामिप्य आदिले झन् झन् कसिलोगरी बाँधिरहे ।
निबन्ध कृतिको रूपमा मेरो पहिलो कृति ‘घुमीफिरी रुम्जैटार’ नामको नियात्रा निस्किने भयो । त्यसमा भतिज पुण्य खरेललाई भूमिका लेख्न अनुरोध गरें । त्यो भूमिका र त्यस भूमिकाका शब्दहरू, त्यसको लेखाइ शैली आजसम्म पनि म दोहो¥याएर हेर्ने गर्छु, पढ्ने गर्छु । उनले मेरो ‘मताने साइँलो’ (कथा सङ्ग्रह), ‘त्रिवेणी आमा’ (उपन्यास)को एकदम निर्मम भएर आलोचना गरेका छन् । ती आलोचना सुनेर गुरु चूडामणि रेग्मीले जिब्रो टोक्तै “अब पुण्यप्रसाद खरेलका कृति पनि नटिकेपछि ? … अनि अरु ?” भन्नुभएको म सम्झिरहन्छु ।
कृतिको समीक्षा गर्दा कृतिकारसँगको सम्बन्ध वा कृतिकारको व्यक्तित्वको कुनै ख्याल नगरी कृतिभित्रका शब्द, वाक्यहरू, तिनको भाव, कृतिसमग्रले दिने सन्देशका कुरामा केन्द्रित भई बोल्ने वा लेख्ने उनको निर्भिक र खुलाखुलस्त बानीले आत्मप्रशंसा चाहने लेखकहरू उनीसँग परपरै डराउँथे । हुन पनि उनी साहित्यका धारा वा वादबारे एकदम नधर्मराईकन प्रस्टाप्रस्टी व्याख्या गर्न सक्षम थिए र गर्थे ।
भतिज पुण्य मेरो साहित्यको अड्को फुकाउने गुरु पनि थिए भन्दा हुन्छ । कहिले म साहित्यको कुनै वाद बारे छ्याङ्ङ हुन उनकामा पुग्थें, कहिले समालोचनाका प्रकार र पूर्वीय र पश्चिमी समालोचना बारे बुझ्न पनि जान्थें । उनी कति सहजै उत्तरा गर्थे । एक पल्ट त एउटा ‘कथाको विषय छ तर कथानक छैन’ भएर उनीसँग गएँ र आफ्नो समस्या राखें । उनीसँग गफ गर्दागर्दै वडो सहज रूपमा त्यसको समाधान निस्कियो । यो सम्झिँदा म टाल्सटायको ‘तीन प्रश्न’ शीर्षकको कथा र त्यसमा राजाका प्रश्न र ‘हर्मिट’ (जोगी)का उत्तर सम्झिन्छु । त्यसैले आज मलाई मेरो ‘हर्मिट’सँग बिछोड भएको सम्झेर म ज्यादै दुखित हुन पुग्छु । मेरा प्रश्नहरू अब बेवारिस हुने भए भनेर व्यथित हुन्छु ।
“तपाईंहरू कति वर पर ?” धेरैले भतिज पुण्य खरेल र म काका पुण्यप्रसाद खरेलबारे प्रश्न गर्ने गर्छन् । यो प्रश्न गर्दा मलाई ताप्लेजुङका एक जना कम्निस्ट नेता अम्बिका साँवासँगको एउटा गफको सम्झना हुन्छ । एक पल्ट उनको गाउँकै एकजना नवकम्निस्टले उनलाई प्रश्न गरे अरे– “हजुर ! माओत्सेतुङ र हो–चि मिन्हमा को ठुलो ?”
एक दुई दिन त यस प्रश्नलाई उनले गोलमटोल कुरा गरेर टारे अरे । तर त्यसपछि पनि ती प्रश्नकर्ताले त्यो प्रश्न उठाएपछि उनले उत्तरमा भनिदिए अरे– “दुबै जनाका नक्सा लिएर हेर्नू नि ! कुन ठुलो थाहा भइहाल्छ नि !” त्यस्तै म संस्कृतको एउटा श्लोक सम्झिन्छु– “परोऽपि हितवान् बन्धुः बन्धुरप्यहितः परः” (परको भए पनि हितकर छ भने ऊ बन्धु हुन्छ, तर बन्धु भए पनि अहितकर भए त्यो पर हुन्छ) त्यसैले यो ‘कति वर पर ?’ भन्ने प्रश्नको उत्तरा गर्न मलाई मन लाग्दैन । नेपालीमै पनि एउटा उखान छ– “देशको देउता गाउँको भूत” भन्ने । त्यसैले मेरो त पुण्य भतिज देउता नै थिए ।
त्रिभुवन विश्वविद्यालय सेवाबाट अब यसैसाल सेवानिवृत्त हुँदै थिए । त्रिविले भर्खरै बोलाएर ‘दीर्घ सेवा पदक’ दिएछ । दस–पन्ध्र दिनअघि मात्र होला, त्यो पदक देखाउँदै बडो सन्तोषको मुद्रामा हँसिलो अनुहारसँग गफ गरेको छायाछवि मेरा आँखामा बसिरहेको छ । “यही कमाइएछ है काका !” उनले प्रसन्न मुद्रामा भनेका थिए । म पटक्कै उनको त्यो छायाछविलाई पछिल्लो छायाछविले विस्थापित नगर्ने घमण्डमा छु । सहप्राध्यापक सम्म पदोन्नत हुन नपाएको सानो असन्तोष उनका आँखामा मैले पढ्न खोजें, तलब र ग्रेडको कुरा गर्दै सन्तोषले त्यो असन्तोष छोपेको जस्तो लाग्थ्यो । अहिले त्यस्सै मेरो मन मात्रै एकलै मन्थन गरिरहन्छ– “साह्रै अभाव र कहरको गाडी गुडाउँदै दुई छोराछोरीसँगको यात्रालाई एउटा चोकमा ल्याइपुर्याए । रगत पसिना गरेर एउटा बस्न हुने गुँड बनाए । अब छोरो, छोरी राम्रै कमाउने भए । आफ्ना खुट्टामा उभिए । उनको पनि अब पेन्सन आउँछ । अब अगाडिको यात्रा सापेक्षित रूपमा समृद्धिको थियो, सहज र सुगमको थियो । अब दस–बीस वर्ष यो सुगम यात्रा गरेका, गर्न पाएका भए के बिग्रन्थ्यो र उनी खोसिए यो बेलै ?” यस्तै बिनाबित्थाका प्रश्नहरूले मलाई बिच्क्याउँछन् ।
“अब निवृत्त हुन्छन्, अब उनी पनि मजस्तै फुर्सतमा हुन्छन्, पक्कै यहाँ छोडेर टाढा ढुक्क बस्न जाँदैनन्, अनि त उनीसँगको साहित्य लेखन, चिन्तनमा अझ बढी सघनता थपिन्छ, सैद्धान्तिक रूपमा प्रस्ट र अत्यन्त छाँटिला लेख लेख्ने उनको खुबीबाट प्रगतिवादी साहित्यले निकै खोराक पाउँछ, उनको सङ्गतबाट म पनि अझ अनुभव बटुल्छु” म यस्तै स्वार्थी कल्पनामा रहन्थें । मभन्दा अघि उनले यसरी सुइत्त झुक्याउलान् भन्ने त सय मनमा एक मन पनि थिएन । त्यो बि एन सी अस्पतालमा भदौ २४ गतेका दिन भेट्ता होस् या २५ गतेका दिन घरमै भेट्ता पनि त्यो सामान्य हो भन्ने नै विश्वास थियो । २५÷२६ गतेका दिन त पुष्प भण्डारीसरसँग भुट्भुटेमै उनी क्याम्पस गए पनि ।
२८ गते शुक्रवार बिहान उनले फोन गरे– “काका ! मेरो पेट पोल्न निको भएन । म त सुमनसँग काठमाडौंतिर लागें पो ! अहिले दमक पुगें !” म अलिक झस्किएँ पनि । २९ गते हाम्रो चेतना प्रकाशन संस्थाको कार्यक्रमको चटारो पनि थियो थाप्लामा । तर मैले भनें– “हिंडि त सकेछौ ! अब जानू ! राम्रो डाक्टरसँग सम्पर्क गर्नू ! तिम्रो विमार जाति गरेर आउनू ! त्यो विमार तुरुन्तै पूर्णरूपमा भागोस् !” “हुन्छ काका ! बाबुको आसिक लाग्छ पनि ! हुन्छ !” उनले भने । यही बोली मसँग भतिजको अन्तिम बोली भयो । मैले पनि उनको विमारको त्यो गम्भीरता बुझिन । निको हुँदै होला । आउँछन् भन्ने ढुक्कैमा थिएँ ।
उनले पनि गरेनन् फोन । मै गर्थें धेरै चोटि । “अब भतिजले त फोन गर्ने आस पनि गर्दिन म, मलाई थाहा छ, बाबुआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि !” भनेर म व्यङ्ग्य गर्थें । उनले फोन गर्ने त होइन, असोज १ गते बिहानै भाइ नरेश खरेलले पो उनको सुन्नै मन नलाग्ने कुरा फोनबाट सुनाए । ‘बाबुको आसिक बेकार गएछ’ म झस्किएँ, पत्याइनँ । त्यसपछि नाती सुमनलाई फोन लगाएँ । सुमनको रोदनपूर्ण स्वरले मलाई उत्तरा मिल्यो । म स्तब्ध भएँ । भतिज पुण्यसँगका लम्बेतान छन् सम्झनाहरू । तिनै सम्झनालाई छाडिराखेर दुनियाँलाई चकित पार्दै आकस्मिक रूपमा फ्यास्स बित्न पुगे । न त हामी इष्टमित्र, न त उनकै जीवनसाथी, छोराछोरी ! कसैलाई पत्याउनै नसकिने गरी अचम्मले बिते । अब नपत्याएर पनि कुनै विकल्प रहेन । यस घडी म भतिज पुण्यमा भावुक भएर श्रद्धाञ्जली अर्पण गर्छु । उनको विछोडबाट शोकाग्निमा पिल्सिएका बुहारी कमला, नाती सुमन, नातिनी एकता, ज्वाइँलगायत सबै परिवारजनमा मान्छेको रामछाया जस्तो जीवनको कटुयथार्थ बोध गरी शोकसहन गर्नका लागि हार्दिक समवेदना व्यक्त गर्दछु ।
पुर्ख्यौली थलो पाँचथरको च्याङ्थापु भएका पुण्य खरेल बुबा अग्निप्रसाद आमा मनमायाहरु निर्वाहको क्रममा च्याङ्थापुबाट बसाईं सर्दैसर्दै इलामको बर्फल्याङ, झापाको अर्जुनधारा–कालीथान हुँदै पछिबाट गौरादह डिपुचोक खरेलडाँडामा ठेकान लाग्नुभएको हो । अर्जुनधारा कालीस्थानमा रहँदाकै बखत २०१८ साल फागुन ११ गते जन्मिएका उनको बाल्यकाल तथा विद्यालयीय शिक्षा भने गौरादहमै हो । जनता मा.वि., गौरादहबाट एसएलसी उत्तीर्ण गरेका हुन् । त्रिविबाट एमएको अध्ययन पूरा गरी केही समय दीपज्योति वोर्डिङ, शनिश्चरेमा अध्यापन गरेका उनी २०५४ तिरदेखि मेची वहुमुखी क्याम्पस, भद्रपुरको नेपाली विषय प्राध्यापन सुरु गरेका हुन् । २०४७ सालमा जुरोपानीका दलबहादुर बुढाथोकी तथा धनमाया बुढाथोकीकी सुपुत्री कमलासँग विवाह गरेका उनी २०५२ देखि विर्तामोड–५, देवीवस्तीका स्थायी बासिन्दा बनेका हुन् । उनका ‘विचार र विश्लेषण’ तथा ‘सृजनाभित्र नियाल्दा’ दुई वटा समालोचनात्मक कृति प्रकाशित छन् । एउटा कविता सङ्ग्रह प्रकाशन गरिहाल्ने धुनमा थिए । उनले ‘सुखानी’ तथा ‘साहित्यिक सचेतना’ सम्पादनमा धेरै पसिना खर्चिएका छन् ।
(साहित्यकार पुण्यप्रसाद खरेलकाे मुहारपुस्तिकाबाट )