३० असोज, चन्द्रगढी : ६९ औँ प्रहरी दिवस बुधबार जिल्ला प्रहरी कार्यालय झापामा झापा प्रहरीले विभिन्न कार्यक्रम गरी मनाएको छ । बीरगति प्राप्त अमर प्रहरीप्रति श्रद्धाञ्जली, वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई सम्मान, उत्कृष्ट कर्मचारीलाई पुरस्कृत, रक्तदान, विभिन्न खेलकुदमा विजयी खेलाडीहरुलाई पुरस्कार प्रदानसहित विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहुने व्यक्तित्वहरुलाई कदर पत्र प्रदानसहितलगायतका विविध कार्यक्रम गरी यो दिवस मनाइएको हो ।
मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्तिनाथ पौडेललाई नेपाल प्रहरीले बुधबार सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको परिसरमा ६९ औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र कार्यक्रमका अध्यक्ष जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले संयुक्तरुपमा सम्मानित पौडेललाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
यसवर्षको उत्कृष्ट प्रहरी कर्मचारीकरुपमा प्रहरी निरीक्षक सन्तोष राई र प्रहरी सहायक हवाल्दार उत्तम कटवालाई पुरस्कृत गरियो । कार्यक्रमका अध्यक्ष जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले पुरस्कार प्रदान गर्नुभएको थियो ।
नेपाल प्रहरी आजको यस घडीसम्म आईपुग्दा विभिन्न कालखण्डमा बिभिन्न पद धारण गरी उक्त पदहरुद्वारा तत्कालिन कालखण्डमा वर्तमान प्रहरीलेगर्ने काम कारबाही गर्दथ्यो । लिच्छिबि कालमा सर्बदण्डनायक, अन्तरासन मध्यकालमा गुल्मिक प्रतिहार, महा प्रतिहार, कोटवाल उमरावजस्ता पदहरु धारण गदैं बि.संं.२०१२ साल असोज ३० गते अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण र समाजमा शान्ति सुरक्षा व्यवस्था गर्ने जस्ता गहन जिम्मेवारी बहन गर्ने उद्धेश्यले प्रहरी ऐन, २०१२ जारी भए पश्चात विधिवतरुपमा नेपाल प्रहरीको स्थापना भएको दिनलाई स्मरण गदैं प्रहरी दिवस मनाईने गरिन्छ । ‘अपराध रोक्ने संकल्प, प्रमाणमुखी अनुसन्धान, स्वच्छ समाज निर्माण, नेपाल प्रहरीको अनुष्टान’ तथा ‘अपेक्षा फलको छैन, सधै कर्तव्य चिन्तन, आहुती प्राणको दिने तिमीमा अभिनन्दन’ भन्ने मुल नारासहित कार्यक्रम आयोजना भएको थियो ।
सोहि अवसरमा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरूलाई दोसल्ला पहिर्याएर सम्मान पत्र, कदर पत्र प्रदान प्रदान गरियो । कार्यक्रममा २०५४ साल कात्तिक २१ गते दाङमा तत्कालिन माओवादीसँगको दोहोरो भिडन्तमा परी वीरगति प्राप्त गर्नुहुने प्रहरी जवान दलबहादुर धिमालसहित थुप्रै बीरगति प्राप्त गर्ने अमर प्रहरीका आश्रित परिवारहरुलाई दोसल्ला पहिर्याएर सम्मान गरिएको थियो । झापा जिल्ला प्रहरी श्रीमती संघका अध्यक्ष इन्दा थापाले सवैलाई दोसल्ला पहिर्याएर सम्मान गर्नुभएको थियो ।
पाथीभरा जवान शिक्षालय पाडाजुँगी झापाका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेश उप्रेतीले ८५ वर्ष माथिका ज्येष्ठ पूर्व प्रहरी कर्मचारी हिक्मतबहादुर लामालाई दोसल्ला पहिर्याएर सम्मान पत्र प्रदान गर्नुभयो । यसैगरी, नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट प्राप्त कदर पत्र कन्काई नगरपालिका—३ का स्वर्गीय पुर्णबहादुर लिमबुका छोरा पुर्व प्रहरी सहायक निरीक्षक अमरबहादुर लिम्बुलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले प्रदान गर्नुभयो । लिम्बुले प्रहरी चौकी थेचुम्बु ताप्लेजुङको भवन निर्माणका लागि निः शुल्क जग्गा प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा ६९ औँ प्रहरी दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय झापाले आयोजना गरेको ब्याडमिन्टन तथा भलिबल प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्रमाण पत्र, मेडल तथा पुरस्कार प्रदान गर्नुभयो । ब्याडमिन्टतर्फ प्रथम प्रहरी जवान नुदन राई प्रहरी जवान बिजय थुलुङ तथा भलिबलतर्फका विजयी खेलाडी प्रहरी हवाल्दार आयुस राई, प्रहरी जवानहरु नुदन राई, राजकुमार सुनुवार, तेन्जेवा भोटे, रामकृष्ण बाठामगर, सुरेश विकलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले प्रमाण पत्र, मेडल तथा पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र चन्द्रगढी झापाका सचिव खड्गबहादुर बुढाथोकी, साना हात नेपालका अध्यक्ष विक्रम वाग्ले, मानव अधिकारका लागि एकल महिलाका जिल्ला समितिका अध्यक्ष रेखा अधिकारी र इष्ट होराइजन अग्रेजी माविका प्रिन्सिपल सन्दिप राईलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । उहाँहरु सवैलाई प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वास्तोलाले प्रशंसा पत्र प्रदान गर्नुभयो । सोहि दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटि झापा शाखाको प्राविधि सहयोगमा रक्तदान कार्यक्रम समेत भएको थियो । रक्तदानमा १५ जनाले रगत दिइएका थिए । संकलित रगत नेपाल रेडक्रस सोसाईटि झापा शाखालाई हस्तान्तरण गरियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वास्तोलाले एउटा प्रहरी संगठनले आधिकारीक र बैधानिकता प्राप्त गरेको दिनलाई स्मरण गदैं हरेक वर्षको असोज ३० गते प्रहरी दिवस विविध कार्यक्रम आयोजना गरी मनाउने जानकारी दिनुभयो । पहिलो पटक प्रहरी ऐन, २०१२ आएको र हालसम्म सोहि ऐन कार्यान्वयनमा आइरहेको स्पष्ट पार्नुभयो । प्रहरी ऐन, २०१२ लालमोहर लगाइएको दिनको स्मरणमा गौरवशाली प्रहरी संगठनले हरेक वर्ष यो दिवस मनाइँदै आएको स्मरण गराउनुभयो ।
मुलुकमा धेरै राजनीतिक र प्रशासनिक सुधार परिवर्तन भएको बताउँदैं प्रजिअ बास्तोलाले प्रहरीले आफुलाइ समयसापेक्ष अनुसार पनि परिवर्तन गदैं लगिरहेको, यो देशका करीव तीन करोड नागरिकको मात्र होइन देशमा घुम्न आउने विदेशी पर्यटकहरुको समेत नेपाल प्रहरीबाट सुरक्षा व्यवस्था मिलाइएको स्पष्ट पार्नुभयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पुर्व प्रहरी संगठन जिल्ला कार्यसमिति झापाकातर्फबाट मदनगोपाल सुब्बालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले सहभागी सवैलाई शब्दमार्फत स्वागतसहित संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुवंरबाट प्रहरी दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देश बाचन गर्नुभयो । कार्यक्रमका अध्यक्ष जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले धन्यवाद ज्ञापनसहित प्रहरीको काम कर्तव्य र अधिकारकाका विषयमा स्पष्ट पार्नुभयो । कार्यक्रमको सञ्चालन जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले गर्नुभएको थियो ।

























