१५ मंसिर, मेचीनगर : झापामा ६ वर्षपछि पुनः‘टायम कार्ड’ लागू भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको हातबाट बस चालकलाई ‘टायम कार्ड’ हस्तान्तरण गर्दै शनिबारदेखि झापाको मेचीनगर—६ काँकरभिट्टा स्थित बस टर्मिनलबाट देशका विभिन्न स्थानसम्म सञ्चालन हुने सार्वजनिक सवारी साधनमा ‘टायम कार्ड’सुरु गरिएको छ ।
यसअघि २०७६ सालमा पनि झापामा ‘टायम कार्ड’ लागू भएको थियो । तर, त्यसले निरन्तरता पाएको थिएन् । यसपटक लागू गरिएको सवारी ‘टायम कार्ड’ ले निरन्तरता पाउने विश्वास लिइएको छ । ‘टायम कार्डर्’ लागू भएपछि अब काँकरभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि ३० मिनेट तोकिएको छ । त्यस्तै बिर्तामोडदेखि केर्खासम्मको २९ किलोमिटर दूरीका लागि ५१ मिनेट तोकिएको छ ।
सवारीसाधनको तिब्र गतिबाट हुने सडक दुर्घटनालाई न्यूनिकरण गर्ने उद्धेश्यले कोशी प्रदेशका १५ स्थानमा ‘टायम कार्ड’रुजु गरिने र तोकिएको समयमा मात्रै सवारीसाधनहरु हिड्नुपर्ने नियम बनाइएको छ । कार्यक्रमको शुभारम्भ गर्दै सरकारी अधिकारीहरुले सडक दुर्घटनाको जोखिम उच्च रहेकाले यसलाई न्यूनिकरण गर्न सबै क्षेत्रको भूमिका हुनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी वास्तोलाले कार्यक्रमको शुभारम्भ गदैं बढ्दो सवारी दुर्घटना न्यूनिकरणको लागि अब यातायातकर्मी, सर्वसाधारण सबै सरोकारवाला निकायले ‘टायम कार्ड’ को पुर्णरूपमा पालना गर्नुपर्ने बताउनुभयो ।
सवारी ‘टायम कार्ड’ ले सवारी दुर्घटना र मानवीय क्षति न्यूनिकरणमा केही हदसम्म सहयोग पुर्याउने पुर्याउने विश्वास राज्यले लिइएको प्रजिअ बास्तोलाको भनाइ छ । ‘टायम कार्ड’ सुरु भएपछि धरानको तिनकुने, काँकरभिट्टा, विराटनगर बसपार्क, विर्तामोड, ताराबारी, केर्खा, बेलबारी, गछिया, इटहरी कलंकी चोक, पकली, कोशीकटान र भन्टाबारीमा ट्राफिक प्रहरी अधिकारीले ‘टायम कार्ड’ चेकजाँच गर्ने गरी ‘क्याडलक’ तयार गरिएको सुरक्षा अधिकारीहरुको भनाई छ । तीव्र गतिका कारण भइरहेको बढ्दो सडक दुर्घटनालाई न्यूनिकरण गर्न ‘टायम कार्ड’ लागू भएको र त्यसलाई पुर्णरूपमा कार्यान्वयन गराउन जिल्ला मातहतका प्रहरी तथा ट्राफिक प्रहरी लागि पर्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले बताउनुभयो । झापामा केही समयदेखि अत्यधिक सवारी दुर्घटना हुने गरेको बताउँदै उहाँले गत कात्तिक महिनामा १४ जनाले दुर्घटनामा ज्यान गुमाईसकेको बताउनुभयो ।
मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्षित गरी झापा, मोरङ र सुनसरी जिल्लामा सार्वजनिक सवारीसाधनलाई ‘टायम कार्ड’ लागू गरिएको र अन्य सवारी साधनलाई छड्के जाँच गरीने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो ।
यसैगरी, कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङको हातबाट बस चालक अशोक टुडुलाई ‘टायम कार्ड’ हस्तान्तरण गर्दै शनिबारदेखि कोशी प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा ‘टायम कार्ड’सुरु गरिएको छ । सुन्दरहरैचाको पूर्व पश्चिम सडकको गछियामा आयोजित कार्यक्रममा डिआइजी खापुङले विराटनगरबाट काँकरभिट्टा आउँदैं गरेको मे १ ख ३२५४ नम्बरका बस चालक टुडुलाई जिम्मेवार चालक हुनुपर्ने प्रतिवद्धता गराउँदै कार्ड हस्तान्तरण गर्नुभएको थियो ।
सडक दुर्घटना न्यनीकरण गर्ने उद्धेश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालय कोशीको आयोजना, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सहकार्यमा कोशी प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनमा टायम कार्ड सुरु गरिएको हो । कार्यक्रममा चालक टुडुलाई मजदुर नेता भीमज्वाला राई र व्यवसायी नेता सरोज श्रेष्ठले खदा पहि¥याइदिएर अभियानको सुरुवात गरिएको थियो । सवारीसाधनको तिब्र गतिबाट हुने सडक दुर्घटनालाई न्यूनिकरण गर्ने उद्धेश्यले प्रदेशका १५ स्थानमा ‘टायम कार्ड’ रुजु गरिने र तोकिएको समयमा मात्रै सवारीसाधनहरु हिड्नुपर्ने नियम बनाइएको छ ।
प्रत्येक दिन सडक दुर्घटनामा परेर ८ जनाको मृत्युहुने गरेको, वार्षिक २ हजार ८ सय ८० ले ज्यान गुमाउने गरेको तथ्यले नेपाली सडक नागरिकका लागि असुरक्षित रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको भनाई छ । यो कार्यक्रम ट्राफिक प्रहरीले सुरुवात गरेको भएपनि यो कार्यक्रम यातायात व्यवसायी र मजदुरहरुको कार्यक्रम रहेकाले यसलाई सफल बनाउन मजदुरहरुको तर्फबाट उहाँले प्रतिवद्धता जनाउनुभयो । ‘टायम कार्ड’ सुरु भएपछि सवारीसाधनले गर्ने उछिनपाछिनको अन्त्य हुने र सडक दुर्घटनामा कमी आउने विश्वास लिइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीका अध्यक्ष सरोज श्रेष्ठले बताउनुभयो । सवारी दुर्घटना न्यूनिकरणको लागि टायम कार्ड आवश्यक थियो । सरकारले टायम कार्ड लागू गरेपछि अब आफुहरूलाई सहज हुने सवारी चालक अमृत दाहालको भनाई छ ।