मेचीनगरका किसानका घर घरमा निःशुल्क खोप र परामर्श : गोबर परीक्षणदेखि औषधिसम्म निःशुल्क

११ पौष, मेचीनगर : पशु चौपायमा लाग्ने विभिन्न रोगका बारेमा जानकारी नहुँदा झापा मेचीनगर नगरपालिकाका किसानहरुले ठूलो क्षति वेहोर्नु परेको छ । विभिन्न रोगका संक्रमणका कारण हजारौं पशु चौपाय मर्ने गरेका छन् । जाडो मौसम शुरुवातसँगै पशु चौपायमा रोगको संक्रमण देखा पर्न थालेपछि नगरपालिकाले नगरका १५ वटै वडामा भेटनेरी अस्पताल तथा पशु स्वास्थ्य विज्ञ केन्द्र भद्रपुरसँगको सहकार्यमा पशुमा लाग्ने महामारीजन्य रोगको नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । मेचीनगर नगरपालिकाको पशु सेवा शाखाका अनुसार पशुमा लाग्ने महामारीजन्य रोगको नियन्त्रणका लागि हाललाई एफएमडी विरुद्ध खोपको खोप कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो पाँचमहिनामा १५ हजार डोज सवै वडामा सञ्चालन भईरहेको छ ।

साथै शाखाले शाखाको ल्याव मार्फत आन्तरिक परजीवि पहिचानका लागि ३ सय २९ वटा गाईभैसी तथा बाख्राहरुमा गोबर परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको पशु सेवा शाखाका प्रमुख छत्रबहादुर राईले जानकारी दिनुभयो । राईका अनुसार सोहि अवधिमा ३ सय ८५ वटा बोका निःशुलक बन्ध्याकरण गरी सेवा दिइएको छ । नल सुधार कार्यक्रम अन्तर्गत गाई तथा भैसीमा उन्नत नश्लको बिउबाट कृत्रिम गर्भाधान गरी दुध उत्पादनमा सुधार ल्याउनका लागि साउनदेखि मंसिरसम्म १ हजार ३६ वटा गाई तथा १ सय ४० वटा भैसीगरी कुल १ हजार ७ सय ७६ वटा पशुवस्तुमा कृत्रिम गर्भाधान सेवा पुर्याएको राईले जानकारी दिनुभयो । आन्तरिक तथा बाह्य परजीवि नियन्त्रण र पशु स्वास्थ्य व्यवस्थापनका लागि औषधि खरिद तथा वितरण कार्यक्रम निरन्तर सञ्चालन भईरहेको र यसबाट १ हजार २ सय ९८ जना पशुपालक कृषकहरु लाभान्वित भएका थिए ।

रेबिज खोप विरुद्ध खोप व्यवस्था गरेर सामुदायिक तथा घरपालुवा कुकुरहरुलाई २ सय ३४ डोज खोप र रेबिज सप्ताहमा नगरका सवै वडामा विविध कार्यक्रम गरी ३ सय ६८ वटा कुकुर विरालोलाई निःशुल्क लगाइएको शाखाले जनाएको छ । ५० प्रतिशत अनुदानमा जै घास बीउ वितरण, सवै वडाहरुमा पशु प्राविधिकहरु मार्फत सेवा परामर्श सेवा प्रवाह भईरहेको, मासिकरुपमा विज्ञ केन्द्र भद्रपुर, प्रदेश तथा संघमा कृत्रिम गर्भाधान तथा इपिडोमियोलोजिकल रिपोर्ट तथा फ्ल्यास रिपोर्ट सम्प्रेषण गरिरहेको शाखाले जनाएको छ ।

सन् २०३० सम्ममा खोरेत मुक्त मुलुक घोषणा गर्ने उद्धेश्यसहित राष्ट्रिय पशु रोग खोप कार्यक्र म सञ्चालन भईरहेको बताईएको छ । ‘खोरेत रोगग्रस्त पशुवस्तुहरुको उपचार र रोग देखा परेका आसपासमा रोग फैलन सक्ने सम्भाव्य क्षेत्रमा खोरेतविरुद्धको एफएमडी खोप लगाउन सुरु गरेका छौं,’ शाखा प्रमुख राईले भन्नुभयो—‘अहिलेसम्म १५ हजार पशुबस्तुलाई खोप दिइएको छ । यो क्रम पुरै क्षेत्रमा सम्पन्न नहुँदासम्म प्राविधिकहरु खटिइ रहन्छन् ।’ एफएमडी भ्याक्सिन नेपालमा उत्पादन नहुने भएकाले यसका लागि नेपाली किसान र पशु सेवाका प्राविधिकहरुले भारतीय भ्याक्सिनकै भर पर्नु परेको छ । खोरेत रोगमा पशुसँग प्रत्यक्ष सम्पर्क र पशुजन्य पदार्थहरु दूध र मासु सेवन गर्दा वा अन्य कुनै माध्यमवाट मानिसमा सर्ने र मानिसवाट पशुमा सर्न सक्ने ‘जुनोटिक’ रोग नभएको बताउँदैं चिकित्सक मण्डलले यसैले मानव स्वास्थ्यको दृष्टिकोणले यो रोगमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको तर, पशुबस्तुको उत्पादन र क्षति रोक्नका लागि किसानले ६–६ महिनामा खोरेत (फुट एन्ड माउथ डिजिज–एफएमडी) खोप लगाउन सुझाँव दिनुभएको छ ।

नेपाललाई खोरेत रोग मुक्त बनाउने अभियान शुरु भएसँगै मेचीनगरले आफ्ना वडाका हरेक किसानका घर गोठमा पुगेर चौपायाहरुमा खोप लगाईदिने गरेको उपप्रमुख मीना पोख्रेल उप्रेतीको भनाई छ । नगरपालिका भित्रको चौपायलाई विभिन्न रोगबाट सुरक्षित राख्न स्थानीय सरकारले कुनै कसर नराख्ने उहाँको भनाई छ । खोरेत रोग (फुट एन्ड माउथ डिजिज–एफएमडी), पीपीआर स्वाईन फिवरलगायत पशुमा लाग्ने महामारी रोग नियन्त्रणका लागि नगरका प्रत्येक वडामा अहिले पशु प्राविधिक र भ्याक्सीनेटरहरुको संयुक्त रुपमा टोली बनाएर परिचालन गरिएको उपप्रमुख उप्रेतीको भनाई छ ।

दुग्ध उत्पादक सहकारी र पशु बिमा सहकारी संस्थाहरुको सहकार्यमा यस्ता रोगहरुबाट बचाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँको जोड छ । सहकारी र कुनै संघसंस्थामा आवद्ध हुन नसकेका विपन्न किसानहरुको गोठसम्म यस्ता सेवा सम्बन्धित सरोकारवाला निकायले पुर्याउनुपर्ने उहाँ बताउँनुहुन्छ । दुग्ध उत्पादक सहकारी र पशु बिमा सहकारी संस्थाहरुले आफूहरुमा आवद्ध किसानका पशुबस्तुलाई खोरेत रोगबाट जोगाउन सक्रियता देखाउनुपर्ने उहाँको भनाई छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.