ओडिसामा नेपाली छात्राको रहस्यमयी मृत्यु, अवस्था तनावग्रस्त

काठमाडौं : भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमयी मृत्यु भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ। बुटवलकी लम्साल, जो बीटेक तेस्रो वर्षमा अध्ययनरत थिइन्, आइतबार आफ्नै होस्टलमा मृत अवस्थामा फेला परेकी थिइन्।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्याको आशंका गरे पनि लम्सालका साथीहरूले मृत्युको कारण शंकास्पद रहेको दाबी गरेका छन्। उनका अनुसार, लम्साल लामो समयदेखि आफ्ना पूर्वप्रेमीबाट मानसिक र शारीरिक यातना सहन बाध्य थिइन्। उनले यो विषयमा विश्वविद्यालय प्रशासनलाई जानकारी गराए पनि कुनै सुनुवाइ नभएको आरोप उनका साथीहरूले लगाएका छन्।

मृत्युको खबर फैलिएपछि नेपाली विद्यार्थीहरूले क्याम्पसमा प्रदर्शन गर्दै निष्पक्ष छानबिनको माग गरेका थिए। उनीहरूले कलेज प्रशासनको लापरबाहीको विरोध गरे पनि प्रशासनले उल्टै प्रदर्शनकारी विद्यार्थीहरूलाई क्याम्पस छोड्न निर्देशन दिएको छ।

केआईआईटी विश्वविद्यालयका अधिकारीहरूले अवस्था तनावपूर्ण बनेपछि नेपाली विद्यार्थीहरूलाई घर फर्काइएको बताएका छन्। “परिस्थितिलाई ध्यानमा राख्दै नेपाली विद्यार्थीहरूलाई उनीहरूको घर फर्काइएको छ। अहिले स्थिति सामान्य छ,” विश्वविद्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

सामाजिक सञ्जाल प्रयोगकर्ता @Twi_Swastideep ले एक भिडियो साझा गर्दै नेपाली विद्यार्थीहरूलाई क्याम्पस सुरक्षा गार्डहरूले कुटपिट गरेको आरोप लगाएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार नेपाली विद्यार्थीहरूलाई दुईवटा बसमा कट्टक रेल्वे स्टेशन पुर्‍याइएको थियो। एक नेपाली विद्यार्थीले सञ्चारमाध्यमलाई भने, “हामीलाई छात्रावास खाली गर्न भनियो र रेल्वे स्टेशनमा छोडियो। हाम्रो परीक्षा फेब्रुअरी २८ मा थियो।”

विश्वविद्यालयद्वारा जारी सूचना

विद्यार्थीहरूले आफूहरूलाई कति समयका लागि निलम्बन गरिएको भन्ने जानकारी नदिइएको र भविष्य अन्यौलमा परेको बताएका छन्। “अब फेरि कलेज जान पाइन्छ कि पाइँदैन भन्ने थाहा छैन,” एक विद्यार्थीले भने।

यसैबीच, प्रकृतिका पूर्वप्रेमी अद्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको छ। हाल उनीमाथि सोधपुछ जारी रहेको भारतीय प्रहरीले जनाएको छ। घटनाबारे लम्सालको परिवारलाई जानकारी गराइसकिएको र परिवारका सदस्यहरू नआउञ्जेल शवलाई शवगृहमा राखिएको छ। उनको कोठा पनि सिल गरिएको बताइएको छ।

यस घटनाले ओडिसामा रहेका अन्य नेपाली विद्यार्थीहरूको सुरक्षामाथि प्रश्न उठाएको छ। विद्यार्थीहरूले आफूहरू असुरक्षित महसुस गरिरहेको बताउँदै विश्वविद्यालय प्रशासनले घटनालाई सामान्य रूपमा लिएको आरोप लगाएका छन्।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले घटनालाई गम्भीर रूपमा लिएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत कुटनीतिक पहलमार्फत घटनाको छानबिन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.