२२ जेठ, मेचीनगर : संघीय सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि मेचीनगर नगरपालिकाका विभिन्न स्थानमा पूर्वाधार विकासका उद्देश्यले ४५ करोड रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरिएको छ। नगरप्रमुख, उपप्रमुख, संघीय सांसद, प्रदेश सांसद, संविधानसभाका माननीयहरु, पूर्व नगरप्रमुखहरु, नगरका राजनीतिक दलका प्रमुखहरुको निरन्तर संयुक्त पहल, साथै अर्थमन्त्री, सभामुख र प्रधानमन्त्रीको विशेष सहयोगबाट प्राप्त यस बजेटले सडक, पुल र सामाजिक पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान पुर्याउने विश्वास गरिएको छ।
विनियोजित बजेट अन्तर्गत मेचीनगर–१२ को भद्रकाली चोकदेखि कालीझोडासम्म, मेचीनगर–२ को भानु माविबाट दिपज्योती चोकसम्म, मेचीनगर–१४ को धाईजन चोकदेखि कृष्ण आधारभूत विद्यालयसम्म, र मेचीनगर–६ को भट्टराई चोकदेखि दुर्गा मन्दिरसम्मका सडकहरूको स्तरोन्नति तथा कालोपत्रे गरिनेछ। त्यसैगरी, मेचीनगर–९, १० र ११ मा पर्ने धुलाबारी बजारदेखि मंगलीसम्मको सडक स्तरोन्नति गरिनेछ।
शहरेडाँगी देवी मार्ग र श्रीजंगा मार्गलाई जोड्ने सडक निर्माणका लागि पनि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, मेचीनगर–१३ मा बाङ्गे पुल तथा मेचीनगर–१५ मा निन्दा नदिमा हेल्दुबाढी क्षेत्रबाट विचार्नी बजार जोड्ने झोलुंगे पुल नयाँ निर्माण गरिनेछ। भद्रपुर–९ देखि मेचीनगर–१५ जोड्ने अर्को नयाँ पुल निर्माणका लागि ४ करोड रुपैयाँ छुट्याइएको छ।
सडक तथा पुलसँगै सामाजिक पूर्वाधारको विकास अन्तर्गत मेचीनगर–११ मा दाहसंस्कार स्थल निर्माणका लागि १ करोड ३० लाख रुपैयाँ र मेचीनगर–४ मा आलडाँगी गणेश मन्दिरदेखि के. प्रधान चोकसम्मको सडक स्तरोन्नतीको दायित्व भुक्तानीका लागि २ करोड १२ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ। साथै, ज्यामिरगढी–गुवालगाउँ क्षेत्रमा मेची नदीमा झोलुंगे पुल निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
नगरपालिकाले जारी गरेको सूचनामा यो प्रारम्भिक सूची मात्र भएको र संघीय सरकारबाट थप योजनाहरूको विवरण क्रमशः आउने जनाइएको छ। प्राप्त बजेट योजनाहरूले ग्रामीण क्षेत्रदेखि शहरी भेगसम्म समावेशी विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ। नगर प्रमुख तथा सांसदहरूले निरन्तर पहलद्वारा बजेट सुनिश्चित गरिएको जनाउँदै सम्पूर्ण नगरवासीप्रति आभार प्रकट गरेका छन्। साथै, योजनाहरूको कार्यान्वयनमा नागरिकको सक्रिय सहभागिता र पारदर्शिता अपरिहार्य रहेको नगरपालिकाले स्पष्ट पारेको छ।
