काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रीका रूपमा आज शपथ लिएका कुलमान घिसिङले ‘जेन-जी’ आन्दोलनले निम्त्याएको क्षतिलाई मर्मत गर्ने र देशको पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पदबहालीपश्चात् आयोजित एक कार्यक्रममा बोल्दै उनले गौरवभन्दा गह्रौँ मनले आफूले जिम्मेवारी लिएको बताए।
आन्दोलनमा ज्यान गुमाएका युवा र कर्तव्य पालनाको क्रममा घाइते तथा मृत्यु भएका सुरक्षाकर्मीहरूलाई सम्मान व्यक्त गर्दै घिसिङले भने, “तपाईंहरूको पीडा मेरो हृदयमा गहिरो रूपमा बसिरहेको छ।” उनले ‘जेन-जी’ पुस्ताको भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि गरेको ऐतिहासिक प्रतिरोधको खुलेर प्रशंसा गरे।
विध्वंस होइन, निर्माण हाम्रो अभियान
घिसिङले सार्वजनिक सम्पत्तिमा भएको विनाशको कडा शब्दमा निन्दा गरे। उनले भने, “न्यायको लडाइँ विद्यालय, अस्पताल वा सार्वजनिक सम्पत्ति जलाएर जितिँदैन। यी सम्पत्ति सबै नेपालीका हुन्।” उनले सबैलाई हिंसाको बाटो छोडेर समाधान र निर्माणको अभियानमा लाग्न आह्वान गरे। उनले आफूले विगतमा लागू गरेको ‘उज्यालो नेपाल अभियान’ बत्तीको मात्र नभई सुशासन, चुस्त सेवा प्रवाह, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि थालिएको क्रान्तिको अभियान भएको बताए।
तत्काल कार्यान्वयन हुने पाँच मुख्य कार्य
मन्त्री घिसिङले आफ्नो जिम्मेवारीमा रहेका मन्त्रालयहरूबाट तत्काल कार्यान्वयनमा ल्याइने पाँच मुख्य कार्ययोजना प्रस्तुत गरे:
१. पुनर्निर्माण अभियान: आन्दोलनका कारण सार्वजनिक संरचनामा पुगेको क्षतिको यकिन गरी तत्काल पुनर्निर्माणको काम सुरु गरिनेछ। ‘हाम्रा सार्वजनिक संरचना हामी आफैँ बनाउनेछौँ’ भन्ने अभियान सञ्चालन गरी देश-विदेशमा रहेका सबै नेपालीलाई पुनर्निर्माणमा सहभागी गराइनेछ। यसबाट अपनत्व बढ्ने र काममा पारदर्शिता कायम हुनेछ।
२. भ्रष्टाचारमा शून्य सहनशीलता: मन्त्रालय र यसअन्तर्गतका निकायहरूभित्र हुने भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीमा शून्य सहनशीलता अवलम्बन गरिनेछ। ‘जेन-जी’ पुस्ताको मुख्य मागलाई सम्बोधन गर्दै यस्ता क्रियाकलापमा संलग्न जो कोहीलाई पनि तत्काल कारबाही गरिनेछ।
३. उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी: कर्मचारीको सरुवा र जिम्मेवारी प्रदान गर्दा विगतमा सुनिएका अनियमितताहरूलाई नियन्त्रण गरिनेछ। ‘उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी (Right Person in Right Place)’ को सिद्धान्तलाई कडाइका साथ लागू गरी सुशासन कायम गरिनेछ। असल नियत राखी काम गर्ने सबैलाई प्रोत्साहित गरिनेछ।
४. परियोजनाहरूको द्रुत कार्यान्वयन: चालू अवस्थामा रहेका ठूला पूर्वाधारका आयोजनाहरूलाई तोकिएको समय र गुणस्तरमा निर्माण सम्पन्न गर्न तीव्रता दिइनेछ। यसबाट मुलुकले बेहोरिरहेको आर्थिक क्षति कम हुने र नागरिकले लाभ पाउनेछन्। केही रणनीतिक र रूपान्तरणकारी योजनाहरूलाई पनि अगाडि बढाइनेछ।
५. सार्वजनिक सेवा तत्काल सुचारु: सार्वजनिक संरचनामा क्षति पुग्दा प्रभावित भएको सार्वजनिक सेवालाई उच्च प्राथमिकतामा राखी द्रुत गतिमा काम अघि बढाइनेछ। यसबाट जनताले तत्काल राहत पाउनेछन्। आम चुनावका लागि आवश्यक पर्ने पूर्वाधारसमेत तयार गरिनेछ।
मन्त्री घिसिङले ‘उज्यालो नेपाल अभियान’ आफ्नो जीवन-मार्ग भएको बताउँदै युवापुस्ताले देखेको सपना साकार पार्नु नै अहिलेको प्रमुख राष्ट्रिय एजेन्डा भएको उल्लेख गरे। उनले विगतमा जसरी लोडसेडिङ हटाउन सबैको साथ पाएका थिए, त्यसरी नै यो विषम परिस्थितिमा पनि साथ-सहयोगको अपेक्षा गरेका छन्।

























