दिनेशको रोमानिया जाने सपना अधुरै

३१ भदौ मेचीनगर :  झापा अर्जुनधारा नगरपालिका —८ हात्तीकिल्लाका ३२ वर्षीया दिनेश राजवंशी बैदेशिक रोजगारीका लागि रोमानिया जाने तयारीमा जुटेका थिए । मध्य–पूर्वी र दक्षिण–पूर्वी यूरोपको चौबाटोमा स्थित एउटा देश हो रोमनिया । रोमानिया यूरोपको १२औं सबभन्दा ठुलो देश रहेको छ र यूरोपेली संघको ७ औं सबभन्दा अधिक जनसंख्या भएको राज्य रहेको छ, यस क्षेत्रमा लगभग २० मिलियन निवासी रहेका छन । यसको राजधानी र सबभन्दा ठुलो शहर बुखारेस्ट हो ।

उनी पहिला पनि दुईवर्षजति खाडीमुलुक बसेर स्वदेशमै केही गरौ भनेर फर्किएका थिए । स्वदेशमा कतै जागिर नपाइरहेकै बेला उनले रोमानिया जाने योजना बनाए । र, आवश्यक प्रक्रियामा लागे उनी । केही दिनपछि सम्पर्कका लागि आउन म्यानपावरहरुले भनेका थिए उनलाई ।

मृतक दिनेश

तर, एउटा सिलिण्डरले उडायो दिनेशको रोमानिया जाने सपना । ‘जेनेरेशन जेड’जेनजीका नव पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टचारको अन्त्य र सुशासनको मागसहित २३ भदौंबाट शुरु गरेको प्रदर्शनका क्रममा २४ गते झापाको बिर्तामोडमा प्रदर्शनका क्रममा सिलिण्डर विष्फोट भएर उनी घाइते भएका थिए । झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा उनको बिहान ११ : ३५ बजे मृत्यु भएको परिवारजनले जनाएका छन् । दिनेशको निधनसँगै जान्तीको सिउँदो पुछिएको छ, आमालगायत सिङ्गो दिनेशको परिवार भावविह्वल भएका छन् । अहिले उनको निधनले सिङ्गो गाउँ शोकमा छ ।

एसएलसीसम्म अध्ययन गरेका दिनेशले घरको आर्थिक अवस्थाकै कारण उच्च शिक्षा हासील गर्न नसकेकै कराण उनी छोराछोरीलाई खाई नखाई राम्रै शैक्षिक संस्थामा पढाउन चाहान्थे । यो घटनाले आफ्ना सन्तानलाई राम्रो स्कुल पढाउने दिनेशको सपना अब सपनामा मात्रै सीमित भएको छ । बृद्ध आमा श्रीमती दाजु भाउजुसहित परिवारनै शोकमा रुँदारुँदै बेला बेलामा बेहोस हुँदै जाग्दै गरेको स्थानीयले बताए ।

२०५० सालमा बाबु स्वर्गीय मग्लु र आमा सपना राजवंशीका दुई छोरामध्ये दिनेश कान्छा थिए । सामान्य परिवारमा जन्मेका दिनेशले बाँचुञ्जेल सुःखको अनुभव पनि गर्न पाएनन् । तीनवर्ष अघि बाबु मग्लुको मृत्य र जेठा दाजु गोवद्र्धन पनि वैदेशिक राजगारीका लागि दुवई गएपछि ५५ वर्षीय आमा, श्रीमती र दुई नानीहरुसहित सिङ्गो परिवारको पालनपोषण उनकै काँधमा थियो । दाजु गोवद्र्धन, भाउजु नुपुरसहितको संयुक्त परिवार छ दिनेशको । कतारमा बसेर फर्किएका दिनेशको अर्जुनधाराको हात्तीकिल्लिा—८ मा एउटा सानो कच्ची घर छ । आर्थिक अवस्था ज्यादैं कमजोर र दयनीय रहेको राजवंशी समाज विकास समिति केन्द्रिय अध्यक्ष अभय राजवंशीले बताए ।
त्यही सानो र कच्ची घर ५५ वर्षीया आमा सपना, ३० वर्षीया जवान श्रीमती जान्ती, ५ वर्षका छोरा रिदम १ वर्षीया छोरी दिपीकासहित परिवारजनको अधुरो सपनालाई असरल्लै छाडेर दिनेश सधैंका लागि विदा भएका छन् । र, उनको परिवारमा चाहिँ कहिल्यै नजाने गरी विपतका दिनहरु आएका छन् । ‘ मैले कसरी चित्त बुझाउँ, यो उमेरमा कस्तो बज्रपात आइलाग्यो म कल्पना पनि गर्न सक्दिन,’ श्रीमती जान्तीले रुदैँ रुदैँ भनिन्‘ यी साना लालाबालाको हुर्काउने बढाउने, पढाउने, बृद्धा सासुआमाको रेखदेखदेखि सवै जिम्मेवारी अब म सँग छ । घरको मुख्यः मान्छे नै ढलेपछि हामी कसरी बाँच्नु ।’ प्रदर्शनका क्रममा श्रीमान घाइतेको सुन्न साथ उनी मध्यान्ह १२ बजे अस्पताल पुगीन । आफू रुदैँ र कराउँदैं अस्पताल पुग्दा श्रीमान दिनेश मृत्यूसँग लडीरहेको दृश्यले उनले मननै थाम्न नसकेको बताईन् ।

काजक्रियामा जुटेको राजवंशी परिवार

श्रीमान दिनेश सामान्य मासुको पसल चलाउने आफू दैनिक ज्यालदारीमा कृषि मजदुरका रुपमा काम गर्न जाने श्रीमती ३० वर्षीया जान्ती राजवंशी बताउँछिन् । उनीहरुको आम्दानीको मुख्यः स्रोत भनेकै जान्तीको दैनिक ज्यालदारीबाट र दिनेशको मासु पसलबाट आउने रकम नै थियो । दुईजनाको कमाइले जसोतसो परिवारको गर्जाे टार्दै आएका थिए उनीहरुले । ‘त्यो परिवारमा आशा भरोसाका केन्द्र भनेकै उनै दिनेश छोरा थिए । उनी असाध्यै अनुशासित, स्वभाव पनि राम्रो भएको युवा थिए । उनी त्यस्तो घटनामा परेको खबरले अर्जुनधारावासी मात्र नभएर राजवंशी समाज शोकाकुल भएका छन् ।’ राजवंशी समाज विकास समिति केन्द्रिय अध्यक्ष अभय राजवंशीले बताए । अत्यन्तै मिजासिला र भद्र स्वभावका दिनेशको मृत्युको खबरले अहिले हात्तीकिल्ला टोल मात्रै होइन, पुरै अर्जुनधारा स्तब्ध भएको छिमेकी राजु शेर्माले बताए । उनलाई राम्रोसँग चिनेका स्थानीय शेर्मा दिनेश हक्की र निडर स्वाभावका भएको बताउँछन् ।

अब दिनेशको मृत्युपछि जान्तीलाई घर चलाउन समस्या हुने बताउँछिन् । घटनापछि अस्पतालबाट घरमा शव ल्याउन पोस्टमार्टममा पनि समस्या भएको, त्यसले आफ्नो परिवार थप पीडामा रुनु परेको दाजु गोवद्र्धनले बताए । जसोतसो ऋण खोजेरै पनि अहिलेसम्मको काम गरिएको उनले सुनाए । झण्डै ६—७ वर्षदेखि बैदेशिक राजागरीका लागि दुबई जादैं आउँदैं गरेका दाजु गोवद्र्धन भाईको यो घटना सुन्ने वित्तिकै नेपाल आएका थिए । ‘घटना २४ गतेको रहेछ,’ अवरुद्ध गलामा उनले भने —‘त्यसपछि देखि म परिवारजनको सम्पर्कमा रहिरहे, तत्कालै नेपाल आउने तयारी गदैं थिए, स्वास्थ्य सुधारोन्मुख रहेको खवर पाएपछि २५ गते म हिडिन् । जब अस्पताले मृत्युको घोषणा गरेर मृत्युको प्रमाण पत्र दिएको खवर पाए लगत्तै म नेपाल हिडे ।’ उनको शव ल्याउने पोस्टमार्टम गर्नेलगायतका सवै काममा मात्र होईन भाईको काजक्रियाका लागि समेत दाजु गोवद्र्धन नै सेता लुगा लगाएर बसेका छन् । ‘छोरा सानो छ उस्ले सवै कर्म गर्न सक्दैन् त्यसकारण म आफै काजक्रियामा बसेको छु । हाम्रो पनि १२ दिनसम्म काममा बस्नुपर्छ । ’ उनले थपे ।

भाई यस्तो घटनामा परेर गए पनि उस्का परिवारलाई रेखदेखको जिम्मा सरकारले लिनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने, उनका सन्तानलाई निःशुल्क उच्च शिक्षाका लागि उनले आग्रह गरेका छन् । वर्तमान सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम सरकारका गृह तथा कानून मन्त्री ओमप्रकाश अर्यालले मृतकका परिवारलाई १५ लाख रुपैयाँ राहत उपलब्ध गराउने सुनेको उनले बताए ।

प्रहरी स्रोतका अनुसार प्रहरी र प्रदर्शनकारीबीचको झडपपश्चात् प्रदर्शनकारीहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई कब्जा लिई आगजनी गर्ने क्रममा कार्यालयभित्र रहेको ग्यास सिलिन्डर बिष्फोट भई राजवंशी घाइते भएका थिए । उनको पेट लगायत शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ । झापाको बिर्तामोडमा भएको झडपमा हिलिहाङ–२ पाँचथर घर भई बिर्तामोड–१० मा बस्दै आएका अन्दाजी ३५ वर्षका कमल भण्डारी र अर्जुनधारा नगरपालिका–८ निवासी २८ वर्षका गोपाल सेढाईको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रविन श्रेष्ठले भने, अस्पतालबाट पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र सवैको मृत्युको कारण भन्न सकिने बताए । ‘हाललाई विभिन्न संरचना तोडफोड, आग्जानीका कारण प्रहरीसँगको झडपमा निधन भएको हामीसँग अभिलेख छ । सवै कुरा पोस्टमार्टमको रिपोर्टले देखाउँछ उनले थपे । ’

 

 

 

 

Exit mobile version