लन्डन । बेलायती सेनाको इतिहासमा पहिलोपटक समर्पित ‘गोर्खा आर्टिलरी युनिट’ स्थापना गरिएको छ। युनिट गठनको ऐतिहासिक अवसरमा आयोजित विशेष परेडमा सहभागी हुनुभएका बेलायतका राजा चार्ल्स तृतीयले नेपाली गोर्खा सैनिकहरूको बहादुरी र निष्ठाको खुलेर प्रशंसा गर्नुभएको छ।
विल्टशायरस्थित लार्कहिल ब्यारेक्समा आयोजित विशेष ‘फर्मेशन परेड’ निरीक्षण गर्दै राजा चार्ल्सले गोर्खा सैनिकहरूले बेलायतका लागि पुर्याएको योगदानको उच्च मूल्यांकन गर्नुभयो। उहाँले यो नयाँ युनिटको स्थापनाले बेलायत र नेपालबीच दुई शताब्दीभन्दा लामो समयदेखि कायम रहेको ऐतिहासिक सम्बन्धलाई झनै मजबुत बनाएको बताउनुभयो। परेडपछि नेपाली सैनिकहरूलाई सम्बोधन गर्दै राजा चार्ल्सले भन्नुभयो, “आज परेडमा तपाईंहरूलाई देखेर म अत्यन्त गर्व महसुस गरिरहेको छु। यो बेलायत र नेपालबीचको ऐतिहासिक सम्बन्धको प्रतीक हो।”
कार्यक्रमका क्रममा राजा चार्ल्सले ब्रिटिश सैनिक अधिकृतहरू र उपस्थित गोर्खा सैनिकहरूसँग व्यक्तिगत रूपमा भेटघाट र कुराकानी समेत गर्नुभएको थियो। दुई शताब्दीभन्दा लामो समयदेखि बेलायती सेनामा सेवा दिँदै आएका गोर्खा सैनिकहरूको बहादुरी विश्वभर सम्मानित मानिन्छ।
भारतीय सेनामा भर्ती रोकिँदा बेलायतमा विविधीकरण
यो घटनाक्रमलाई दक्षिण एसियाली सैन्य राजनीतिमा विशेष महत्त्वका साथ हेरिएको छ। बेलायतले गोर्खा सैनिकहरूको भूमिकालाई अझ विस्तार गर्दै पहिलो समर्पित आर्टिलरी युनिट स्थापना गरिरहेका बेला, छिमेकी देश भारतमा भने विगत पाँच वर्षदेखि गोर्खा भर्ती पूर्ण रूपमा रोकिएको अवस्था छ। भारत सरकारले ल्याएको ‘अग्निपथ योजना’ पछि भारतीय सेनामा नेपाली नागरिकको गोर्खा भर्ती प्रक्रिया ठप्प हुँदा नेपाली युवाहरूको रोजगारीको एउटा ठूलो अवसर प्रभावित भइरहेको छ। यस्तो संवेदनशील अवस्थामा बेलायती सेनाले गोर्खाहरूको दायरा बढाउनुलाई नेपाल र गोर्खा समुदायका लागि एक गौरवपूर्ण र महत्त्वपूर्ण उपलब्धिका रूपमा विश्लेषण गरिएको छ।
