१९ असार, मेचीनगर : पशुपंक्षीमा लाग्नसक्ने महामारीजन्य रोग रोकथामका लागि झापाको मेचीनगर नगरपालिकाले अभियान सञ्चालन गरेको छ । यस्तो खोप अभियानमा हजारौं घरपालुवा पशुपंक्षीलाई निःशुल्क खोप लगाइदिने गरिएको छ । यस्ता रोग विरुद्धका लागि ३५ हजार डोज भ्याक्सिन नगरपालिकामा उपलब्ध भएको थियो ।
नगपालिकाले पशु सेवा शाखाका र अन्य प्राविधिकसहितको टोली नगरका १५ वटै वडामा पुगेर खोप सञ्चालन गरेको जनाएको छ । टोलीमा ११ जना रहेका छन् । पशु सेवा शाखाका प्रमुख छत्रबहादुर राईले माघको पहिलोसाताबाट शुरु खोप अभियानमा जेठ अन्त्यसम्म खसीबाख्रामा लाग्ने पिपिआर, गाई भैसीमा लाग्ने खोरेत (फुट एन्ड माउथ डिजिज–एफएमडी) तथा सुंगुर बंगुरमा लाग्ने स्वाईन फिवर रोग नियन्त्रणका लागि प्रत्येक वडाका किसानको घर गोठमा पुगेरै सेवा दिएको बताउनुभयो । यो अवधिमा नगरका ३५ हजार पशुहरुलाई यी रोग विरुद्धको खोप सेवा प्रदान गरिएको बताईएको छ ।
यो अवधिमा खसी बाख्रामा लाग्ने रोग पीपीआर विरुद्धको खोप १५ हजार, खोरेत (फुट एन्ड माउथ डिजिज–एफएमडी) रोग नियन्त्रणका लागि १५ हजार गाई भैसी र स्वाईन फिवर रोग नियन्त्रणका लागि ५ हजार सुंगुर बंगुरमा खोप लगाईएको छ । अभियानमा खोप लगाउन मात्र नभई किसानलाई खोप र रोगको बारेमा प्राविधिकहरुले जानकारी समेत दिईएको पशु प्राविधिक राईको भनाई छ । नगरपालिका भित्रको किसानका पशुलाई सुरक्षित राख्न नगरपालिकाले गर्नुपर्ने जस्तो सुकै सहयोग गर्न नगरपालिका तयार रहेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिनुभयो । खुर फाटेका पशुबस्तुलाई मात्रै लाग्ने खोरेत रोगले स–साना पशुबस्तुको मृत्युदर उच्च हुने र ठूला पशुबस्तुको दूध उत्पादन ठप्प भए पनि मानिसलाई यो रोग नसर्ने पशु चिकित्सक जयराम मण्डलको भनाई छ ।
खोरेत रोगमा पशुसँग प्रत्यक्ष सम्पर्क र पशुजन्य पदार्थहरु दूध र मासु सेवन गर्दा वा अन्य कुनै माध्यमवाट मानिसमा सर्ने र मानिसवाट पशुमा सर्न सक्ने ‘जुनोटिक’ रोग नभएको बताउँदैं चिकित्सक मण्डलले यसैले मानव स्वास्थ्यको दृष्टिकोणले यो रोगमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको तर, पशुबस्तुको उत्पादन र क्षति रोक्नका लागि किसानले ६–६ महिनामा खोरेत (फुट एन्ड माउथ डिजिज–एफएमडी) खोप लगाउन सुझाँव दिनुभएको छ । नेपाललाई खोरेत रोग मुक्त बनाउने अभियान शुरु भएसँगै मेचीनगरले आफ्ना वडाका हरेक किसानका घर गोठमा पुगेर चौपायाहरुमा खोप लगाईदिने गरेको उपप्रमुख मीना पोख्रेल उप्रेतीको भनाई छ । नगरपालिका भित्रको चौपायलाई विभिन्न रोगबाट सुरक्षित राख्न स्थानीय सरकारले कुनै कसर नराख्ने उहाँको भनाई छ । खोरेत रोग (फुट एन्ड माउथ डिजिज–एफएमडी), पीपीआर स्वाईन फिवरलगायत पशुमा लाग्ने महामारी रोग नियन्त्रणका लागि नगरका प्रत्येक वडामा अहिले पशु प्राविधिक र भ्याक्सीनेटरहरुको संयुक्त रुपमा टोली बनाएर परिचालन गरिएको उपप्रमुख उप्रेतीको भनाई छ । दुग्ध उत्पादक सहकारी र पशु बिमा सहकारी संस्थाहरुको सहकार्यमा यस्ता रोगहरुबाट बचाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँको जोड छ । सहकारी र कुनै संघसंस्थामा आवद्ध हुन नसकेका विपन्न किसानहरुको गोठसम्म यस्ता सेवा सम्बन्धित सरोकारवाला निकायले पुर्याउनुपर्ने उहाँ बताउँनुहुन्छ । दुग्ध उत्पादक सहकारी र पशु बिमा सहकारी संस्थाहरुले आफूहरुमा आवद्ध किसानका पशुबस्तुलाई खोरेत रोगबाट जोगाउन सक्रियता देखाउनुपर्ने उहाँको भनाई छ ।
सन् २०३० सम्ममा खोरेत मुक्त मुलुक घोषणा गर्ने उद्धेश्यसहित राष्ट्रिय पशु रोग खोप कार्यक्र म सञ्चालन भईरहेको बताईएको छ । ‘खोरेत रोगग्रस्त पशुवस्तुहरुको उपचार र रोग देखा परेका आसपासमा रोग फैलन सक्ने सम्भाव्य क्षेत्रमा खोरेतविरुद्धको एफएमडी खोप लगाउन सुरु गरेका छौं,’ शाखा प्रमुख राईले भन्नुभयो—‘अहिलेसम्म १५ हजार पशुबस्तुलाई खोप दिइएको छ । यो क्रम पुरै क्षेत्रमा सम्पन्न नहुँदासम्म प्राविधिकहरु खटिइ रहन्छन् ।’ एफएमडी भ्याक्सिन नेपालमा उत्पादन नहुने भएकाले यसका लागि नेपाली किसान र पशु सेवाका प्राविधिकहरुले भारतीय भ्याक्सिनकै भर पर्नु परेको छ ।
गाई, भैँसी, बंगुर बाख्रा र भेँडामा यो रोग देखिने गरेको भएपनि गाई भैँसीमा बढी संख्यामा खोरेतको समस्या देखिने गरेको पशु चिकित्सकहरुको भनाई छ । ती पशु चौपायमा खोरेत विरुद्धको खोप लगाइने नगरपालिकाले जनाएको छ । खोरेत रोग लाग्दा पशु चौपायामा १०४ देखि १०६ डिग्रीसम्मको ज्वरो आउने, घाँसपात नखाने, झोक्राउने, गिँजा र जिब्रोमा स–साना फोका आउने, खुट्टाो खुरको कापमासमेत फोका आउने, मुख वरिपरि घाउ आउने भएकाले र्याल चुहिने, ब्याउने माउ गर्भ तुहिने समस्या देखिने, दूध दिइरहेको चौपायामा थुनेलोको समस्या देखिने जस्ता लक्षण देखापर्ने पशु चिकित्सक सत्यनारायण मण्डलले जानकारी दिनुभयो ।
रोग लागेमा मुखको घाउमा पोटास पानीले सफा गरिदिने वा फिटकिरी पानीले सफा गर्ने, खुरका घाउलाई पोटास पानीले धोएर औषधि प्रयोग गर्न उनले सुझाव दिए। निलो तुथोले घाउ सफा गर्ने, घाउमा अन्य जीवाणु प्रवेश गरी थप सङ्क्रमण नहोस् भन्नका लागि एन्टिबायोटिक सुई लगाउने, खोरेत देखिइरहने ठाउँमा रोकथामको लागि खोरेत विरुद्धको खोप लगाउने गर्नुपर्ने चिकित्सक मण्डललको सुझाँव छ ।
पीपीआर बाख्रामा लाग्ने घातक संक्रामक रोग भएकाले रोग फैलिँदा करिब ८० प्रतिशतसम्म संक्रमित भेँडाबाख्राको मृत्यु हुने चिकित्सकहरुको भनाई छ । यो रोग शुरुमा अफ्रिका महादेशबाट आएपनि हाल विश्वका धेरै मुलुकमा फैलिसकेको र नेपालका अधिकांश जिल्लामा देखा परिसकेको छ । नेपालमा २०५–५२ सालतिरबाट यो रोग देखा परेको बताईएको छ । भेँडा, खसीबाख्रामा कडा ज्वरो आउने, सिँगान बगाउने, आँखामा र्याल काड्ने, चिप्रा (कचेरा) देखिने, पातलो दिसा गर्ने मुख तथा गिजामा पानीका फोका जस्ता घाउ आउने र पछी उक्त घाउ फुटी पाप्रा बन्ने हुन्छ र सोही कारणले दानापानी खान नसक्ने पशु प्राविधि राईको भनाई छ ।
पीपीआरबाट बच्न तथा बचाउनको लागि सबैभन्दा प्रभावकारी उपाय भनेको प्रत्येक पशुहरुमा फागुन चैत्र महिनामा पीपीआर विरुद्धको खोप लगाउनु पर्ने र ३ महिनाभन्दा माथि उमेर पुगेका सम्पूर्ण उमेर समुहका पशुलाई खोप लगाउन सकिने उहाँ बताउनुहुन्छ । एक पटक खोप लगाई सकेपछि पुन ३ वर्षसम्म उक्त पशुलाई खोप दिनु पर्दैन । सकेसम्म चरनमा नलैजाने, संक्रमण देखिएको खोरमा फर्मालिन, पोटास पानीको प्रयोग गर्ने र लक्षणको आधारमा पशुसेवाको क्षेत्रमा काम गर्ने प्राविधिकको सल्लाह र निगरानीमा उपचार गराउनु पर्ने उहाँको भनाई छ ।