७ साउन, मेचीनगरः नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको ४६ औँ स्मृति दिवस सोमबार झापाको मेचीनगर —६ काँकरभिट्टास्थित वीपी पुष्पलाल बाटिकामा विविध कार्यक्रम गरी मनाइएको छ । नेपाल कम्यूनिष्ट पार्टी एमाले मेचीनगर कमिटीले पार्टीको केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजना गरेको कार्यक्रममा पुष्पलालको जीवनी, बृक्षारोपण तथा रक्तदान कार्यक्रम गरी स्मृदि दिवस मनाएको हो । वीपी पुष्पलाल बाटिकामा रहेको पुष्पलालको पूर्णकदको सालिकमा माल्यार्पण गरेर कार्यक्रम सुरु गरिएको थियो । सोही स्थानमा रहेको नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइरालाको सालिकामा समेत माल्यार्पण गरिएको थियो ।
प्रमुख अतिथि केन्द्रीय सदस्य उप्रेतीले पुष्पलाको राजनीतिक जीवन नेपाली राष्ट्रिय काँग्रेसबाट शुरु गरे पनि पछि काग्रेसमा किचलो बढ्दै गएका कारण उहाँलाई यो बाटो मन नपरे पति कम्यूनिष्ट आन्दोलनतर्फ लाग्नुभएको स्पष्ट पार्नुभयो । म्याट्रिकसम्मको अध्ययन गर्नुभएका पुष्पलालले स्वअध्ययनबाटै दर्शनशास्त्र, इतिहास, राजनीति, समाजशास्त्रमा दख्खल राख्नुभएको उहाँको भनाई थियो । ‘पुष्पलाल जातपात मान्नु हुन्न थियो’ मेचीनगर नगरपालिकाका उपप्रमुख समेत रहनु भएका उप्रेतीले भन्नुभयो—‘जातपातको उन्मुलन गर्नुपर्छ भन्ने स्पष्ट विचार उहाँमा थियो । त्यसैले पुष्पलालले आफ्नो नामको पछाडी कहिल्यै श्रेष्ठ लेख्नु भएन् ।’
सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको केन्द्रीय सदस्य उप्रेतीले स्पष्ट पार्नुभयो । पुष्पलालले निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी र पुष्पलालको भनाइ अनुसार मोतीदेवीसमेत पाँचजना भएर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको स्पष्ट पार्नुभयो । विसं १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा गोली हानी हत्या गरिएपछि दाजुको अभियानलाई पूरा गर्न पुष्पलालले राजनीतिक यात्रा सुरु गर्नुभएको थियो ।
पार्टीका झापा जिल्ला कमिटी अध्यक्ष प्रेम गिरीले पुष्पलालको जीवनीमाथि प्रकाश पादैँ नेपाली बाम प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय पुष्पलालको योगदान उच्च रहेको स्पष्ट पार्नुभयो । वि.सं. १९८१ असार १५ गते पूर्व २ नं. रामेछाप जिल्लाको भंगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा जन्मनु भएको पुष्पलालको निधन विंसं २०३५ साल साउन ७ गते ५४ वर्षको उमेरमा भारतको दिल्लीस्थित गोविन्दबल्लभ अस्पतालमा भएको थियो । हरेक वर्षको साउन ७ गते उहाँको स्मृति दिवस मनाउने गरिन्छ । पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको मुख्यः श्रोत उहाँका जेठा दाजु प्रजातान्त्रिक आन्दोलनका बरि शहिद गंगालाल बन्नुभयो । पुष्पलालको राजनीतिक चेतना भने बाबु भक्तलालबाट प्राप्त भयो ।
‘वि.सं. १९९७ सालमा आफ्ना दाजु अमर शहीद गंगालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गंगालालले पुष्पलाललाई “माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस भन्नुभएको थियो र दाजुको यही शब्द नै नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको मुख्यः श्रोत बन्यो ’ कार्यक्रममा विशिष्ट अतिथि समेत रहनु भएका अध्यक्ष गिरीले भन्नुभयो—‘उहाँका पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष पनि बन्नुभएको थियो ।’
वि.सं. १९९८ सालमा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गर्नुभयो । संघमा रहेका सदस्यले आ–आफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम थियो । संघले राणाशासनको विरोध गर्ने, विद्यालयहरू खोली विभिन्न खालका –सिपमूलकसमेत) तालीम दिन्थ्यो। भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउने पुष्पलालले वि.सं. १९९७ सालदेखि बन्दीजीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्यरूपले सम्पर्क राखी टंकप्रसाद आचार्यलगायत अरू नेताहरूको नेलसहितको फोटो सन् १९४२ मा भारत, पटनाबाट प्रकाशित हुने जनता पत्रिकामा प्रकाशित गर्न मद्दत गर्नुभयो ।
२००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारको लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान आदिले गर्नुभयो । जनताद्वारा गरिएको यही पहिलो जनआन्दोलनका कारण पद्म शमशेरले सुधारको कदम चाल्ने घोषणा गरेका थिए ।
माक्ससवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । २००६ सालमा भारतको कलकत्तामा भारत कम्युनिष्ट पार्टीका नेता अजय चक्रवर्तीसँगको भेटले उहाँको जीवनमा नयाँ मोड ल्यायो । त्यसबखत पुष्पलाल पश्चिम बङ्गालका वर्तमान मुख्यमन्त्री ज्योति बसुको नजिकह ुनुहुन्थ्यो। पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचार–प्रसार गर्न ’कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपालीमा अनुवाद गर्नुभयो । सम्भवतः नेपाली भाषाको सबभन्दा पहिलो साम्यवादी साहित्य यही नै थियो। उहाँको विवाह साहना प्रधानसँग भएको थियो ।
२०१७ साल पुष १ गते राजाबाट चालिएको कदम पछि भूमिगत र निर्वासितजीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गर्नुभयो । वि. सं. २०३५ साल साउन ७ गते ५४ वर्षको उमेरमा भारतको दिल्लीस्थित गोविन्दबल्लभ अस्पतालमा निधन भएपछि उहाँको शवलाई नेपाल ल्याउन दिईएन् । शवलाई नेपाल ल्याउन नदिई पछि उहाँको अन्त्येष्टी दिल्लीको यमुना किनारमा भयो । पुष्पलालको अस्तुमात्रै भएपनि नेपाल ल्याउन खोजियो । त्यो दिईएन् । तर निधन भएको नौदिन पछि २०३५ साल साउन १६ गते दिल्लीबाट बनारस हुँदैं काँकरभिट्टा ल्याएर दाजु गंगालालको दाहसंस्कार गरेकै स्थान शोभाभगवतीमा विर्सजन गरियो । अस्तु विर्सजनमा संयौ मानिसहरुको सहभागिता रहेको थियो ।
पार्टीका नगर कमिटी अध्यक्ष राजु कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य विष्णु प्रसाई, मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, कोशी प्रदेश सभाका पूर्वसांसद् श्रीप्रसाद मैनाली, नेकपा एमो कोशी प्रदेश कमिटी सदस्य देबकुमार राईलगायतको उपस्थिति रहेको थियो ।नगर सचिव सागर ओलीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । अनेरास्ववियू मेचीनगरले पुष्पलाल स्मृति दिवसकै अवसर पारेर मेची सामुदायिक भवनमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ । जहाँ २५ जनाले रक्तदान गरेका थिए । बाटिका परिसरमा बृक्षारोपण समेत गरियो ।