१६ साउन, मेचीनगरः झापाको मेचीनगरक्षेत्रमा पछिल्लो समय खानेपानीका ओभरहेड ट्याङकी निर्माण धमाधम भईरहेको छ । २६ असारमा मेचीनगर— ५ स्थित सिर्जना चोकमा काँकरभिट्टा सहलगानी आयोजना अन्तर्गत चार सय ५० घन मिटरको ओभरहेड ट्याङकीको शिलान्यास भएर तीब्ररुपमा निर्माण कार्य अघि बढिरहेका वखत बुधबार मेचीनगर— ६ काँकरभिट्टाको रमाईलो शान्ति गाउँमा पुनःदुईसय २५ घन मिटरको ओभरहेड ट्याङकीको शिलान्यास भएको छ ।
दुवै ट्याङकी निर्माणका लागि मूल्य अभिवृद्धि करसहित कुल १० करोड ४८ लाख १९ हजार ४ सय ७७ रुपैयाँको लागतमा २०२४ जुन ६ तारीख ग्लोबल दिपेश जेभी काटेश्वर ३२ काठमाडौंसँग सम्झौता भएको थियो । कुल लागतमध्ये एक करोड ३१ लाख रुपैयाँ काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र नौं करोड १७ लाख १७ हजार ४२ रुपैयाँ संघीय सरकारले वेहोर्ने छ ।
उक्त रकमबाट एउटा चार सय ५० घन मिटर र दुई सय २५ घन मिटरको गरी दुईवटा ओभरहेड ट्याङकी, चारवटा वोरिङ्ग, दुईवटा जेनेरेटर, दुईवटा ट्रान्सफर्मर, दुईवटा टिटमेन्ट प्रणाली, ३५ किलो मिटर पाएप लाईन विस्तार र कार्यालय भवन निर्माण हुने छ । २०२६ डिसेम्बर ५ मा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । दुईसय २५ घन मिटरको ट्याङकी त्यसक्षेत्रमा निर्माण भएपछि छ सय घरपरिवार लाभावन्तित हुने बताईएको छ । प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र विशिष्ट अतिथि उपप्रमुख मीना पोख्रेल उप्रेती, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले संयुक्तरुपमा ट्याङकीको शिलान्यास गर्नुभयो ।
शिलान्यास समारोहमा बोल्दैं प्रमुख अतिथि नगर प्रमुख बुढाथोकीले । नेपालको संविधान २०७२ को धारा ३५ को उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच हुने छ भनि नैसर्गिक अधिकारको रुपमा उल्लेख गरेका कारण यो अधिकारबाट कोही पनि बञ्चित हुन नहुने स्पष्ट पार्नुभयो । पानी एक प्राकृतिक स्रोत भएको भन्दैं उहाँले हाम्रो देशमा पानी प्रसस्त रहेको छ, प्राणी जगतका लागि हावापछिको दोस्रो महत्वपूर्ण तत्व पानीलाई मानिने गरिएको र हाम्रो देश विश्वमा जलस्रोतमा धनी देश भएको बताउनुभयो । नेपालका तीनै तहका सरकराले भोकमरीजस्तै ‘पानीमरी’को समस्या र खानेपानीको आवश्यकतालाई ‘राइट टु वाटर’का रूपमा सशक्त ढंगले स्थापित गर्न सक्नुपर्ने उहाँको भनाई छ । निर्माण कार्यमा कुनै प्रकारको अवरोध नभई समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिदैं नगरप्रमुख बुढाथोकीले स्थानीय सरकारले निर्वाह गर्नुपर्ने हरेक जिम्मेवारी बहन गर्ने बताउनुभयो । नगरवासीलाई यस कार्यमा आ आफ्नो ठाउँबाट साथ सहयोग गर्नसमेत आग्रह गर्नुभयो ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीको अध्यक्षतामा भएको शिलान्यास कायक्रमको सञ्चालन सचिव विशाल तामाङले र उपाध्यक्ष गोविन्द गिरीले शब्दमार्फत स्वागत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न जनप्रतिनिधिहरु, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि, शिक्षक, उपभोक्ता, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।